पिसाब आउनेबित्तिकै शौचालय नजाने वा जान अल्छी गर्ने हामीमध्ये धेरैजसोको बानी हुन्छ । हामी प्रायः सकेसम्म दिसा–पिसाब रोकेर बस्न खोज्छौं । धेरै नै च्यापेपछिमात्रै बल्ल शौचालय जान्छौं । समयमै शौचालय नजाँदा के कस्ता समस्या उत्पन्न हुन्छन् ?
लामो समयसम्म पिसाब च्यापेर बस्दा स्वास्थ्यमा कस्ता समस्या निम्तिन सक्छन् ? यसै सन्दर्भमा काठमाडाैँकाे वीर अस्पतालका प्रमुख कन्सल्टेन्ट युरोसर्जन तथा युरोलोजी विभागका विभागिय प्रमुख डा रविनबहादुर बस्नेतसँग जोय नेपालका लागि सुस्मिता फुयाँलले गरेको कुराकानीको सम्पादित अंश:
लामो समय पिसाब च्यापेर बस्दा कस्तो समस्या हुनसक्छ ?
मुख्यकुरा त के कारणले लामो समयसम्म पिसाब च्यापेर बस्ने भन्ने हुन्छ । स्कुल जाने बच्चाहरुको कुरा गर्नुपर्दा कक्षाकोठामा पढाइ भइरहेको समयमा शिक्षक, शिक्षिकाको डरले पिसाब च्याप्न सक्छन् । अर्को भनेको कार्यालयमा महिलाहरु छन् र कार्यालयको शौचालय महिलामैत्री छैन भने पिसाब च्यापेर बस्ने हुन्छ ।
यस्तै, बाहिर फिल्डमा काम गर्ने कर्मचारीहरु, जस्तै ट्राफिक प्रहरीहरुले पनि पिसाब च्यापेर बस्ने गरेको पाइन्छ । पाको उमेर भएका पुरुषहरुको उमेर बढ्दै जाँदा प्रोष्टेट ठूलो भएर पिसाब ननिख्रिएर रहने हुन्छ ।
पिसाब भनेको हाम्रो शरीरको विकार पदार्थ हो र यसलाई समयमै विसर्जन गरिएन भने इन्फेक्सन हुनसक्छ । मूत्रथैलीको बनावट बेलुनजस्तै हुन्छ । पिसाब लाग्दा फुल्ने र फेरिसकेपछि सुक्ने इलास्टिक जस्तो हुन्छ । तर, पिसाब समयमा फेरिएन भने इलास्टिक घट्दै जाने हुन्छ । सामान्यतया मृगौलाबाट आउने नलीबाट पिसाबथैलीमा आएको पिसाब फेरि युरेटरमा फिर्ता जाँदैन । तर कोही बच्चामा रिफ्लेक्स डिजिज(रोग) पिसाबथैलीको पिसाब पनि मूत्रनलीतिर गएर मृगौलासम्म पनि जान सक्ने हुन्छ ।
त्यस्तो रिफ्लेक्स डिजिज भएको बच्चाले लामो समय पिसाब रोकेर राख्दा मृगौलामा संक्रमण नै हुने जोखिम पनि हुन सक्छ । वयस्कहरुमा पिसाब रोक्ने समस्याले पथरी हुनसक्छ । पिसाबथैलीको भित्ताहरु बाक्लो हुने सम्भावना अधिक हुन्छ । फिल्डमा काम गर्ने व्यक्तिहरुले शौचालयको अभावमा पानी नै नखाने हुँदा पिसाब नै नलाग्ने हुनसक्छ । पिसाब रोक्ने बानीले पिसाबको संक्रमण बारम्बार भइरहन सक्छ । लामो समय र बारम्बार पिसाब रोक्ने बानीले पिसाबथैली कमजोर हुने, मूत्रनलीमा पथरीको समस्या पनि हुन सक्छ । साथै पिसाब रोक्ने बानीले दीर्घकालीन रूपमा मृगौलाको समस्या नै निम्तिन सक्छ ।
बालक, वयस्क र वृद्ववृद्वाहरुमध्ये र महिलाहरुमध्ये अझ धेरै कसलाई यो समस्याले सताउने गर्छ ?
यसले बालबालिकामा मृगौलाको समेत समस्या निम्ताउन सक्छ भने वयस्कहरुमा स्टोन हुने सम्भावना प्रवल रहन्छ । उमेर ढल्किएका पुरुषहरुको हकमा भने प्रोस्टेट बढ्दा समस्या हुनसक्छ । पुरुषहरुको तुलनामा महिलाहरुको मूत्रनली सानो हुने हुँदा यसको सक्रमण हुने खतरा बढी हुन्छ ।
सामान्यतया दिनमा कतिपटक र कतिसमयको अवधिमा पिसाब फेर्नुपर्छ ?
सामान्यतया दिनमा ७ देखि ८ पटक र दुई–दुई घण्टाको अवधिमा पिसाब फेर्ने गर्नुपर्छ । अघि छिटोछिटो पिसाब फेर्न दौडिरहनुपर्ने पनि राम्रो होइन र दुई घण्टा भन्दा लामो समयसम्म पिसाब नफेर्नाले पनि विभिन्न समस्या निम्तिन सक्छ । कुनै अवस्थामा पिसाब फेर्न सम्भव नै भएन भने पनि बढीमा तीन घण्टाभन्दा बढी पिसाब रोकेर बस्नु हुँदैन । पिसाबथैली भरिएपछि मृगौलाले नै पिसाब कम उत्पादन गर्न थाल्छ । त्यसैले लामो समय रोकेर बस्दा मृगौलामा समस्या निम्तिन सक्छ ।
कतिपयलाई प्रशस्त मात्रामा पानी खाँदा पनि पिसाब पोल्ने, कहिलेकाहीँ पिसाबमा रगतमा देखिने समस्या हुन्छ, यस्तो किन हुन्छ ?
यस्तो समस्या हुने भनेको पिसाब आउने बाटोमा समस्या भएको कारणले हुने गर्छ । पिसाबमा मूत्रनलीमा इन्फेक्सन भयो भने पिसाब पोल्ने समस्या हुन्छ ।
एक स्वस्थ मानिसको पिसाबको रङ्ग कस्तो हुनुपर्छ ?
पानी पर्याप्त मात्रामा खाँदा पिसाब नर्मल अवस्थाको हुन्छ । नर्मल भन्नाले हल्का पराल रङ्गकोजस्तो पिसाब हुने गर्छ । पिसाबमा क्लियारिटी भन्नाले एउटा ग्लासमा हामीले पिसाब राख्यौं र त्यसको पछाडिपट्टि हामीले पत्रिका राख्दा त्यो पढ्न मिल्ने हुनुपर्छ ।
पिसाबको संक्रमण हुनबाट बच्न कस्तो उपाय अपनाउनुपर्छ ?
पिसाबसम्बन्धी समस्याबाट जोगिन प्रशस्त मात्रामा पानी पिउने गर्नुपर्छ । त्यस्तै लामो समय पिसाब रोकेर बस्ने गर्नु हुँदैन । साथै शौचालयको सरसफाइमा ध्यान दिने गर्नुपर्छ भने विद्यालयमा पनि बच्चालाई समय समयमा शौचालय पठाउने गर्नुपर्छ । बच्चालाई प्रशस्त मात्रामा पानी पिउन लगाउने गर्नुपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया