पछिल्ला पुस्ताहरुमा मानसिक समस्या निकै व्याप्त छ । एकलोपन, कुलत, सम्बन्धमा खटपट विलासी जीवनशैली, हिंसा लगायतका कारणले मानसिक समस्याका घटना बढिरहेको विभिन्न अनुसन्धानले देखाएका छन् ।
यसैमध्यको एक हो, मेनिया । यसलाई एन्जाइटी, डिप्रेसन भन्दापनि जटिल रोगका रुपमा लिइन्छ । तर यसका बारेमा त्यति धेरै चर्चा भएको पाइँदैन । यो कस्तो रोग हो, लक्षण के के हुन् लगायतका विषयमा टिचिङ अस्पतालमा कार्यरत चिकित्सक डा. नीना राईसँग जोय नेपालका लागि सुस्मिता फुयाँलले गरेको कुराकानी:
कस्तो मानसिक समस्या हो मेनिया ?
मेनिया भनेको मुड डिसअर्डर हो । यो अवस्थामा मान्छेले ठूल्ठूला कुरा गर्ने, औकातभन्दा माथि जाने, आफैलाई भगवान सम्झने, आफूलाई विद्वान सम्झने, म सबै कुरा गर्न सक्छु भन्ठान्ने, एकदमै हाइपर एक्टिभ हुने, एउटा काम गर्दा गर्दै अर्को काम गर्न जाने, एकदमै यौन चाहनाहरु पनि बढ्ने, निद्रामा समस्या हुने, मीठा मीठा खानेकुराहरु माग्ने आत्मबल बढ्ने, बढी आक्रमक स्वभावको हुने हुन्छ ।
यो रोग एन्जाइटी र डिप्रेसनजस्तै हो कि अझै खतरनाक हो?
सामान्य बोलिचालीको भाषामा भन्नुपर्दा यसलाई ‘पागलपन’ भनिन्छ । यो अवश्य पनि अन्य मानसिक रोगभन्दा डरलाग्दो रोग हो । यो समस्या भएपछि मान्छेले कुनै काम नै गर्न सक्दैन । जस्तै, एउटा कार्यालयमा काम गर्ने महिलालाई कर्मचारीलाई मेनिया भयो भने उसले कार्यालयमा हाजिर भएर काम गर्नै सक्दैन । उसको कार्यक्षमतामै ह्रास आउँछ । मेनियाको बिरामीलाई अस्पतालमै लगेर उपचार गराउनुपर्छ । अन्य मानसिक समस्या जस्तो थेरापी, पारिवारिक रेखदेखले मात्रै नियन्त्रणमा आउँदैन ।
यो रोगका बिरामीहरुमा के–कस्ता लक्षणहरु देखा पर्दछन् ?
सामान्यतया यो समस्या देखिएका बिरामीहरू एकै ठाउँमा बस्न नसक्ने, आत्मबल निकै बढ्ने, आफूले आफैलाई महान् सोच्ने, त्यस्तै यौन चाहना बढ्दै जाने खालका हुन्छन् । साथै अधिक आत्मसम्मान र महत्वाकांक्षी सोचाइ भावना घरिघरि आउने र एक्कासी आवेगमा आउने पनि समस्या देखिन्छ । साथै यो समस्या भएकालाई निद्रा नलाग्ने समस्या पनि हुन्छ ।
त्यस्तै असामान्य रूपले कुरा गर्ने, धेरै गफाडी हुने, मनमा धेरै कुरा खेलिरहने, अधैर्य हुने, ठूला कुरा गर्ने समस्या सबैमा देखिन्छ ।
यो समस्या हुने मुख्य कारण के हो ?
यसका विभिन्न कारणहरु हुन्छन् । पहिलो त वंशानुगत कारणले पनि हुन्छ । परिवार या पुस्तामा कसैलाई यस्तो समस्या छ भने अरुमा पनि त्यही समस्या देखिन सक्छ । त्यस्तै दिमागमा डोपामिनको मात्रा एकदमै बढ्यो भने पनि यो समस्या हुन्छ । लागूऔषधमा फसेका व्यक्तिमा यो समस्या देखिन्छ । त्यस्तै कतिपयमा मानसिक कारणले पनि मेनिया हुन्छ । यदि कुनै व्यक्तिलाई एकदमै तनाव भयो भने पनि मेनिया हुने जोखिम हुन्छ । मुख्यत: लागूऔषधको दूर्व्यसनका कारण यो समस्या देखिन्छ ।
कुन उमेर समूहका र कस्ता व्यक्तिहरुमा यो समस्या बढी मात्रामा देखिने गर्छ ?
यस्तो समस्या मुख्यगरी २० वर्ष वरिपरिका मानिसहरुमा देखिने गर्छ । वृद्धा मानिसहरुलाई पनि यो रोग लाग्न सक्छ तर एडल्ट मानिसहरुको तुलनामा एकदमै कम मात्रामा देखिने गर्छ ।
यो रोग हुन नदिन कसरी जोगिन सकिन्छ त ?
यसको उपचार भनेकै मुख्यगरी औषधि उपचार नै हो । चिकित्सकको सम्पर्कमा रहिरहनु अत्यावश्यक हुन्छ । त्यस्तै कतिपय अवस्थामा स्व-हेरचाह र पारिवारिक चिकित्सा पद्दति पनि अपनाउनुपर्छ ।
के यो रोग पूर्ण रुपमा निको हुन्छ ?
समयमा उचित औषधी उपचार मिल्यो भने यो रोग निको हुन्छ । तर, एकपटक साम्य भएर व्यक्ति सामान्य अवस्थामा पुगेपश्चात् पनि यो रोग पुनः पटक–पटक बल्झिन सक्ने सम्भावना पनि रहन्छ ।
समयमै उपचार नभएमा के–कस्ता जटिलता अपनाउन सकिन्छ ?
यो रोग आफैमा झन घातक हुँदै जान्छ । समयमै उपचार नभएमा दुर्घटना निम्तिन सक्छ । जस्तै २/३ तला माथिबाट हाम फाल्न सक्छु भन्ने आत्मबल आउने, पौडी खेल्न नजान्ने मानिसहरु पनि पोखरीमा हाम फाल्ने जस्ता गतिविधिहरु गर्दा दुर्घटना निम्तिन सक्छ ।
साथै यो समस्या एकपटक मात्रै भएर बिट मार्दैन । पुनः दोहोरिन सक्छ यसकारण मेनिया भएकै कारण डिप्रेसन र बाइपोलर डिसअर्डर जस्ता अन्य मानसिक समस्या पनि हुनसक्छ । खाना समयमा नखाने अथवा थोरै खाएपनि पुग्छ भन्ने भान भएर कमजोर हुने, इम्युनिटी पावर घट्ने जस्ता समस्या पनि हुनसक्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया