मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

एक करोड बजेटबाट जरायोटार–सिक्रेटार सडक स्तरोन्नति

भोजपुर – भोजपुरको अरुण गाउँपालिकामा पर्ने जरायोटार–सिक्रेटार सडक स्तरोन्नति गर्न थालिएको छ । यसअघि कच्ची सडकका कारण स्थानीयवासीले सास्ती पाउने गरेका थिए । 

आठ किलोमिटर सडकमध्ये पाँच किलोमिटर स्तरोन्नति गर्न थालिएको हो । गाउँपालिकाबाट विनियोजन गरिएको रु एक करोड बजेटबाट उक्त सडक स्तरोन्नति गर्ने काम भइरहेको अरुण–५ का वडाध्यक्ष कुमार थापाले जानकारी दिए । वडाको गौरवको योजनाको रुपमा रहेको उक्त सडक विस्तार गर्ने काम तीव्र गतिमा भइरहेको छ । 

“सडकलाई बाह्रैमास सञ्चालन गर्ने लक्ष्यका साथ काम भइरहेको छ”, वडाध्यक्ष थापाले भने । वर्षात्मा आवतजावत गर्न समस्या भएपछि यसअघि वडाले रु १५ लाख बजेट विनियोजन गरेर भोजपुर–लेगुवा सडकको शून्य विन्दुबाट करिब तीन किलोमिटर सडक स्तरोन्नति गरिएको उनले बताए । 

“सडक स्तरोन्नति गरिएपछि बाह्रैमास यातायातका साधन सञ्चालन गर्न सकिने छ”, उनले भने । चट्टान हटाउने, सडक चौडा बनाउने, सतह मिलाउने, मोड मिलाउने, ग्याबिन जाली भर्ने, नाली कटाउने, पर्खाल लगाउने, ढलान गर्नेलगायतको काम भइरहेको छ ।

सडक स्तरोन्नति गरिएपछि कृषि उपजको बजारीकरणसँगै आवतजावत गर्न सहज हुने स्थानीय केदारप्रसाद अधिकारीले बताए । स्तरोन्नति गरिएपछि भोजपुरको सदरमुकाम तथा छिमेकी जिल्ला धनकुटा हुँदै तराईका जिल्ला प्रवेश गर्न सहज हुने छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?