मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कोदो रोपेका कृषक वर्षा नभएपछि चिन्तित

जोयनेपाल
260
Shares
फाइल तस्विर

पर्वत – केही दिनयताको अत्यधिक गर्मी र खडेरीका कारण पर्वतका कृषकले रोपेको कोदो बारीमै सुक्न थालेको छ ।  जिल्लाका अधिकांश भागमा जेठ दोस्रो सातादेखि कोदो रोपाइँ सुरु भएको थियो । लामो समयसम्म नपरेको वर्षा र अत्यधिक गर्मीका कारण रोपेको कोदो सुकेर नष्ट भएको कृषकले गुनासो गरेका छन् । पर्वतमा धानबाली पछि कोदो दोस्रो मुख्य बाली हो ।

बारीमा लगाएको मकै गोडमेल गरेर कोदो रोपेका कृषक वर्षा नभएपछि चिन्तित हुन थालेका छन् । जनशक्तिको अभावमा बल्लतल्ल रोपेको कोदो खडेरीले नष्ट गरिदिएको कुश्मा नगरपालिका–१२ की कृषक राधाकुमारी सापकोटाले बताए । “दुई दिन लगाएर कोदो रोपियो, यही बेला पानी परेन, पूरै सुकेर नष्ट भइसक्यो ।”

एकपटक रोपेको ठाउँमा फेरि वर्षा भएपछि पुनः रोप्नुपर्ने अवस्था आएको कृषकले गुनासो गरेका छन् । पर्वतका ६१ वटै वडामा कोदोखेती हुँदै आएको छ । पछिल्लो केही वर्षयता कोदोको माग गाउँ, सहर र विदेशमा समेत निर्यात हुने क्रम बढेपछि पर्वतमा कोदो खेतीतर्फ आकर्षण बढ्दै गएको छ । कोदो रोपेर धान रोप्ने तयारी गरेका कृषक बारीमै कोदो सुकेर नष्ट भएपछि समस्यामा परेको फलेवास नगरपालिका–५ का कृषक धर्मराज पौडेलले बताए । 
    
धानखेती हुने ठाउँमा सिँचाइको सुविधा हुने भए पनि पर्वतका अधिकांश क्षेत्रको बारीमा भने वर्षाकै भरमा खेती गरिँदै आएको छ । खडेरीसँगै अत्यधिक गर्मीले जनजीवनसमेत प्रभावित बनेको छ । पर्वतमा यस वर्ष सबैभन्दा धेरै ३५ डिग्री सेल्सियससम्म तापक्रम पुगेको छ । 

कृषि ज्ञान केन्द्र पर्वतका बागवानी विकास अधिकृत शङ्कर पौडेलले जिल्लाका अधिकांश ठाउँमा कोदो रोपाइँ भइरहेको बताए । खडेरीका कारण रोपेको कोदो सुक्दै गएको गुनासो आएको भन्दै पौडेलले क्षतिको यकिन विवरण भने आइनसकेको बताए । पालिकामार्फत खडेरीले कोदोखेतीमा पु¥याएको क्षतिको तथ्याङ्क सङ्कलनको काम भइरहेको पौडेलको भनाइ छ । कार्यालयले गत वर्षदेखि कोदोबाली प्रवद्र्धन कार्यक्रमअन्तर्गत कृषकलाई विभिन्न सहयोगसमेत गर्दै आएको छ ।

कृषि ज्ञान केन्द्र पर्वतले रैथाने बाली उत्पादन प्रवद्र्धन कार्यक्रमअन्तर्गत कोदो उत्पादन गर्ने कृषकलाई अनुदान दिन थालेको छ । चालु आर्थिक वर्षमा थप साढे २८ हेक्टर क्षेत्रफलमा कोदो खेती विस्तारका लागि केन्द्रले सहयोग गरेको हो । कोदो खेती गर्ने कृषकलाई यान्त्रिकीकरणमा सहयोग गरिएको कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख पर्शुराम अधिकारीले जानकारी दिए । उनका अनुसार चालु आवमा रु पाँच लाख कोदो बालीको प्रवर्द्धनका लागि कृषकलाई वितरण गरिएको छ ।  

कृषकलाई यान्त्रिक हलो र थ्रेसर मेसिन उपलब्ध गराइएको छ । यसले बाँझो बारी खनजोत गर्न र उत्पादन भइसकेपछि कोदो झार्न सहज हुने भएको छ । कृषकलाई कार्यबोझ घट्नुका साथै उत्पादन लागतसमेत कम होस् भन्ने उद्देश्यले यान्त्रिकीकरणमा सहयोग गरिएको कार्यालयले जनाएको छ । 

पर्वतमा झापे, डल्ले, मङ्सिरे र स्थानीय जातको कोदो उत्पादन हुँदै आएको छ । जिल्लाको आठ हजार तीन सय ४० हेक्टर क्षेत्रफलमा कोदोको उत्पादन हुने अधिकारीले बताए । यस वर्ष पर्वतमा आठ हजार तीन सय १० मेट्रिक टन कोदो उत्पादन भएको थियो । जसमध्ये पाँच हजार एक सय ७५ मेट्रिक टन कोदो निर्यात भएको कार्यालयले जनाएको छ । 

कोदो बाली लगाउने बेला वर्षा नहुँदा आगामी वर्ष उत्पादनमा केही गिरावट आउन सक्ने कार्यालयले जनाएको छ । कोदोको बीउ निर्धारित समयमै रोप्न सकिएन भने उत्पादन कम दिने कार्यालयको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?