महोत्तरी – महोत्तरीको बर्दिवासमा प्रशासनको आँखा नै अगाडि खुलेआम वालविवाह भएको छ । बर्दिवासस्थित वडा नं १२ को बिजलापुरामा कानुनलाई समेत चुनौती दिँदै प्रहरीको आँखा अगाडी वालविवाह भएको हो ।
कानुनले बर्जित गरेको बालविवाहमा प्रहरी आफैँ प्रत्यक्षदर्शी वन्दा पनि रोक्न नसकेको स्थानीयहरुले आरोप लगाएका छन ।जन्मदर्ता अनुसार केटीको उमेर १६ बर्ष ६ महिनामात्र देखिएको छ भने केटाको उमेर २० भन्दा बढी भएको अभिभावकहरुले बताए ।
केटीका बुबा हकिम बैठाले आफ्नी छोरीलाई ललाईफकाई प्रलोभनमा पारेर केटाले भगाएको भन्दै दुई हप्ता अगाडि ईलाका प्रहरी कार्यालय बर्दिवासमा उजुरीसमेत दिएका थिए ।
अभिभावकहरुको उपस्थितिमा केटा र केटीलाई आफ्ना घर फर्काउने सहमति भएर छाडेको प्रहरी कार्यालयको भनाइ छ तर २७ जेठमा एकाएक गाउँमा अभिभावकहरुमा सहमति बनेर मुस्लिम संस्कारअनुसार विवाह भएको स्थानीय हरदेव महतोले बताए ।
विवाह हुने गाँउभरी हल्ला चलेपछि स्थानीयहरुले प्रहरीलाई खबर गर्दा पनि उनीहरु घटनास्थलमा नआएको स्थानीयहरुको गुनासो छ । तर प्रहरीले भने यो बिषयमा जानकारी नभएको दावी गरेको छ ।
केटा र केटीका अभिभावक निर महम्मद बैठा र हकिम बैठालाई सहमति गराएर विवाह नगराउने सर्तमा छाडेको तर कानुनविपरित विवाह भएको रहेछ भने कानुनी रुपमा नै उपचार खोज्ने इलाका प्रहरी कार्यालय प्रमुख रेवतीरमण पोखरेलले बताए ।
स्थानीय जनप्रतिनिधि तथा वडा अध्यक्ष रामकिशोर साहले पनि बालविवाह भएको स्वीकार गरेका छन । ‘स्थानीयहरुले मलाई पनि फोन गरेर जानकारी गराएका छन्,’ अध्यक्ष साहले भने, ‘रातारात मौलीको सहमतिमा विवाह भएको र भोज पनि खाएको सुनेको छु, म आफैँ त्यहाँ जादै छु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया