मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पुल नबन्दा लोकमार्गको यात्रा असहज

पर्वत – पूर्व–पश्चिम जोड्ने पुष्पलाल मध्यपहाडी लोकमार्गको पर्वत खण्डको काम सम्पन्न भएको तीन वर्ष पुगिसक्दा पनि यहाँ पर्ने चारवटा खोलामा पुल नबन्दा यातायात सञ्चालनमा समस्या हुँदै आएको छ । पर्वत खण्डअन्तर्गत विभिन्न खोलामा चारवटा मोटरेवल पुल निर्माण गर्नुपर्ने भए पनि अहिलेसम्म एउटा पनि पूरा हुन सकेको छैन ।

पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका अनुसार लोकमार्गको पर्वत खण्डमा रहेका तमादी खोला, सुन्दरेखोला, पातीखोला र मोदी खोलामा चारवटा मोटरेवल पुल निर्माणको तयारी छ । पोखरा–कुश्मा सडक खण्डअन्तर्गत करिब २४ किलोमिटर खण्डमा पर्ने खोलामा पुल निर्माण नहुँदा नियमित यातायात सञ्चालनमा समस्या हुँदै आएको छ ।

कुश्मा नगरपालिका–७ र ८ को बीचमा पर्ने तमादी खोलामा पुल निर्माण भइरहेको कार्यालयका इन्जिनियर धिरज ढकालले जानकारी दिए । उनका अनुसार पुलको करिब ७५ प्रतिशत काम सम्पन्न भएको छ । रु छ करोड लागतमा निर्माण हुन लागेको उक्त पुलको श्री सिद्ध बाबा निर्माण सेवा वालिङले जिम्मा लिएको छ ।

तमादी खोलामा वर्षातको समयमा अत्यधिक बाढी आउँदा सडक भत्किएर मानवीय र भौतिक क्षति हुँदै आएको छ । यो खोलामा गत भदौमा आएको बाढीले बोलेरो जीप बगाउँदा तीनजनाको मृत्यु भएको थियो ।

इन्जिनियर ढकालका अनुसार यो पुलसँगै अन्य तीनवटा मोटरेवल पुल पनि निर्माण भइसक्नुपर्नेमा अहिलेसम्म सुरु भएका छैनन् । कुश्मा–८ मा पर्ने सुन्दरे खोलाको पुल निर्माणका लागि डिजाइन स्वीकृत भइसकेको छ । करिब ८० मिटर लामो पुलको जिम्मा लुम्बिनी प्राकृतिक जेभीले लिएको छ । पुल निर्माणका लागि ठेकेदार कम्पनीले कामदार खटाइसकेको बताए पनि अहिलेसम्म काम सुरु भएको छैन ।

उक्त कम्पनीले मोदी गाउँपालिकाको पातीखोला र डिमुवास्थित मोदीखोलामा पनि पुल निर्माण गर्न लागेको हो । मोदीखोलामा ६२ मिटर र पातीखोलामा हाल भइरहेको पुलको दुवैतर्फ ५२÷५२ मिटर लामो दुईवटा पुल निर्माण हुनेछन् । उक्त पुलको डिजाइन स्वीकृतिमा ढिलाइ भएकाले निर्माणले गति लिन नसकेको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ ।

निर्माण कम्पनीले बागलुङको काठेखोलामा पनि मोटरेवल पुल बनाउन लागेकाले सबै पुलको लागत रु ४४ करोड १५ लाख रहेको कार्यालयका इन्जिनियर ढकालले जानकारी दिए ।

मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–कुश्मा सडकको दुई वर्ष पहिला नै दुई लेनको सडक स्तरोन्नति भइसकेको छ । सडक दुई लेनको बने पनि पुरानो संरचनामा बनेका सिङ्गल लेनका पुलले सवारीको चाप धान्न गाह्रो भएकाले नयाँ पुल थप गर्ने योजना रहेको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?