काठमाडौँ– केही दिनयता देशभरी बढिरहेको गर्मीका कारण जनजीवन नै प्रभावित बनेको छ । विशेष गरी देशको तराई क्षेत्रमा गर्मीसँगै ‘लु’ अर्थात् तातो हावाको लहर चलेपछि तराई क्षेत्रमा बसोबास गर्ने मानिसहरुको जनजीवन प्रभावित भएको हो ।
नेपालगन्जमा शुक्रवारको अधिकतम तापक्रम ४४.२ डिग्री मापन गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका वरिष्ठ मौसमविद् मिनकुमार अर्यालका अनुसार शुक्रवारकै दिन धनगढीमा ४४.१ डिग्री तापक्रम रेकर्ड भएको छ । यस्तै, दाङको घोराहीमा ४०.२ डिग्री र जनकपुरको तापक्रम ३६.३ डिग्री सेल्सियस मापन गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार अझै केही दिन पानी पार्ने प्रणाली विकास नहुने भएकाले तापक्रम अझै बढ्ने छ ।
आउने बिहीवारसम्म लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायतका तराईका भू–भागहरुमा तातो हावा तथा तातो लहरको सम्भावना रहेको पनि विभागका वरिष्ठ मौसमविद् अर्यालले जानकारी दिए ।
उनका अनुसार देशका अधिकांश स्थानहरूमा आगामी बिहीवारसम्मै अधिकतम तापक्रम हल्का बढ्ने र न्यूनतम तापक्रममा उल्लेखनीय परिवर्तन नहुने सम्भावना रहेको छ ।
हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको पनि जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसैबिच केही दिनयता काठमाडौँ उपत्यकामा पनि गर्मी बढेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रवार काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम ३४.४ डिग्री सेल्सियस मापन गरिएको छ ।
काठमाडौँ उपत्यकामा अहिलेसम्मको सबैभन्दा बढी तापक्रम सन् १९८९ को मे ७ मा ३६.५ डिग्री सेल्सियस तापक्रम पुगेको थियो ।
देशभरी नै गर्मी बढ्दै गएपछि तराई क्षेत्रका विद्यालयहरुको पठनपाठन समेत प्रभावित भएको छ । अत्यधिक गर्मी बढेका कारण देशका विभिन्न केही स्थानीय तहहरुले विद्यालयहरु बन्द गरेका छन् ।
कैलालीको धनगढी उपमहानगरपालिका, सर्लाहीको लालबन्दी, बरहथवा, मलङ्गवा, चक्रघट्टा तथा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका सहित तराई क्षेत्रका धेरै स्थानीय तहहरुले सूचना जारी गर्दै केही समयका लागि विद्यालयहरु बन्द गरेका छन् ।
निरन्तर बढिरहेको गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा समस्या देखिन थालेकोले उपमहानगरभित्रका विद्यालय बन्द गरिएको धनगढी उपमहानगरपालिकाका शिक्षा युवा तथा खेलकूद महाशाखा तथा माध्यमिक शिक्षा शाखा प्रमुख घुम्मन सिंह बडायकले भने ।
‘गर्मीका कारण विद्यार्थीहरुको स्वास्थ्यमा पर्नसक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै जेठ २४ गतेसम्म उपमहानगरपालिका भित्रका सबै विद्यालयहरुको पठनपाठन बन्द गर्ने निर्णय गरेका हौँ’ जोय नेपालसँगको कुराकानीका क्रममा उनले भने ।
गर्मीका कारण देशभरीकै जनजीवन अस्तव्यस्त भएपनि हालसम्म गर्मीकै कारण धनजनको क्षति भएको विवरण भने प्राप्त नभएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
‘गर्मीकै कारण बेहोस हुने तथा अस्पताल भर्ना भएको वा अन्य कुनै क्षति भएको विवरण अहिलेसम्म हामीलाई प्राप्त भएको छैन ।’
प्राधिकरणका प्रवक्ता तथा सूचना अधिकारी डिजन भट्टराईले भने । उनले थपे, ‘गर्मी वा लूको लहरका कारण मानव स्वास्थ्यमा असर नै नपर्ने भन्ने हुँदैन । प्रहरीमा रिर्पोट नभएका कारणले हामीसम्म नआएको पनि हुनसक्छ ।’
त्यसकारण प्राधिकरणले तातो हावाको लहर ‘लू’बाट बच्ने उपाय सम्बन्धी जोखिम न्यूनीकरण तथा प्रतिकार्य कार्ययोजना निर्माण गरी सम्बन्धित सबैलाई कार्यान्वयनको लागि निर्देशन दिएको पनि भट्टराईले बताए ।
यस्तै, यस वर्ष पनि जल तथा मौसम विभागले यस वर्षको मनसुनको अवधिमा औसतभन्दा बढी नै पानी पर्ने आँकलन गरिरहँदा यसले निम्त्याउन सक्ने विपद् र त्यसको क्षति व्यवस्थापनका लागि मनसुन पूर्वकार्य तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना पनि सोमवारदेखि लागू गर्ने तयारी रहेको उनको भनाइ छ ।
सतर्कता अपनाउन विज्ञको आग्रह
गर्मी र यो समयमा चल्ने तातो हावाले सबै मानिसको स्वास्थ्यमा प्रतिकुल असर पार्ने भएकोले सर्तकता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध समेत गरेको छ ।
‘अत्याधिक गर्मीका कारण स्वस्थ मानिसको शरीरमा हुने तापक्रमभन्दा बाह्य वातावरणको तापक्रम बढी भई डिहाइड्रेसनको अवस्था उत्पन्न हुने, सास फेर्न गाह्रो हुने, मुटुको धड्कनको गति बढ्ने, रक्तसञ्चार प्रक्रियामा अवरोध हुन गई मानिस बेहोस हुने तथा ज्यानै जान सक्ने जोखिम समेत उत्पन्न हुनसक्ने भएकाले यस्तो बेलामा सर्तक रहन र अन्य समयभन्दा बढी पानी पिउन जनस्वास्थ्यविद् डा. रमेश ढकालको सुझाव छ ।
‘तातो चलेको बेलामा वा गर्मी बढेको बेलामा सकेसम्म घरबाट बाहिर निस्कनु हुँदैन । शीतलमा बस्न, साँझ र बिहानको समयमा मात्रै खेतबारीको काम गर्नका साथै अरु समयभन्दा धेरै पानी पिउने, फलफूल वा फलफूलका जुसको सेवन गर्ने गर्नुपर्छ’ ढकालले भने ।
हरेक वर्ष गर्मीले थ्रेसहोल्ड पार गर्नु जलवायु परिवर्तनको असर
पछिल्लो समय पृथ्वीमा देखिरहेका यस्ता केही कुराहरुलाई जलवायु परिवर्तनको असरसँग तुलना गर्न सकिने यस क्षेत्रका जानकारहरुको भनाइ छ ।
कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थामा दीर्घकालीन परिवर्तनलाई जलवायु परिवर्तन भनिने भए पनि अत्यधिक वा कम वर्षा, डढेलो, प्रचण्ड गर्मी र अचानक आउने बाढीजस्ता गतिविधिले पुराना रेकर्ड भङ्ग गर्दै विश्वभरी विनाश मच्चाइरहेको अवस्थालाई हेर्दा जलवायु परिवर्तनको असरका रुपमा लिन सकिने प्रकृति रिसोर्सेस सेन्टरका कार्यकारी निर्देशक राजु पण्डित क्षेत्रीको भनाइ छ ।
‘बाढी पहिरोजस्ता विपद् मात्र नभई हिमालमा हिउँ पर्न कम हुनु, अतिवृष्टि, अनावृष्टि, अत्यधिक जाडो वा अत्यधिक गर्मी हुने जस्ता कुराहरुले हरेक वर्ष थ्रेसहोल्ड पार गरिरहँदा यसलाई जलवायु परिवर्तनको कारणले यस्तो भएको हो भन्न गाह्रो छैन ।,’ क्षेत्रीले भने ।
लामो समयको सुख्खापन, हिउँदे वर्षमा कमी र प्रि–मनसुनमा पनि पर्याप्त मात्रामा पानी पर्न नसकेको कारणले पनि अहिले काठमाडौँ उपत्यका सहित देशभरको तापक्रम बढेर दिनदिनै थ्रेसहोल्ड पार गरिरहेको बताउँदै क्षेत्रीले सबैलाई आ–आफ्नो तर्फबाट जलवायु अनुकुलनका लागि काम गर्न आग्रह गरे ।
उनका अनुसार जलवायु परिवर्तनको असरलाई कम गर्नका लागि हामीसँग थुप्रै योजना, नीति तथा कार्यक्रम रहेका छन् । थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिवद्धताहरुमा हस्ताक्षर समेत गरेको बताउँदै तिनको सही कार्यान्वयन एकमात्र विकल्प रहेको उनले सुनाए ।
अर्को कुरा भनेको विरोधाभास नीति कार्यक्रमहरुलाई परिमार्जन गरी वातावरणीय तथा पर्यावरणीय सन्तुलनलाई कायम राख्दै सामाजिक तथा आर्थिक विकास गर्नु आजको आवश्यक्ता भएको उनको मत छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया