मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सिनेमा

नेपाली फिल्म उद्योगमा ‘स्टार किड्स’: को जमे, को हराए ?

काठमाडौँ–  बलिउडमा ‘नेपोटिज्म’को बहस बेलाबेलामा उठिरहन्छ । बलिउडमा लामो समयदेखि रजाइँ गरिसकेका कलाकारले नवकलाकारलाई मुख्य भूमिकामा मुस्किलैले मात्रै स्थान दिन्छन् भन्ने विषयले मिडियामा राम्रै स्थान पाउँछ ।

त्यसो त नाम चलेका र स्थापित भइसकेका सेलिब्रेटीले मात्रै बलिउडमा राज गर्ने परिपाटी पहिलदेखि नै चल्दै आएको छ ।

नेपालमा पनि नेपोटिज्मको प्रभाव केही हदसम्म देखिए पनि यसबारे त्यति धेरै बहसहरू भएका छैनन् ।

सरसर्ती हेर्दा नेपालमा नाम चलेका कलाकारसँगै नयाँ कलाकारले पनि फिल्मी क्षेत्रमा स्थान पाइरहेका छन् । दर्शकले स्वीकार गर्ने र नगर्ने अर्को कुरा रह्यो तर नयाँ अनुहार पनि फिल्म क्षेत्रमा उदाइरहेका छन् ।

यद्यपि तुलानात्मक रुपमा हेर्दा नाम चलेका कलाकारका सन्तानले बाबु–आमाको विरासत धान्दै आएको भनेर बेलाबेलामा बहस भने हुने गरेको छ । अर्थात् बाबुआमा कलाकार भएकै कारण उनीहरूका सन्तानले फिल्मी क्षेत्रमा सहजै स्थान पाउँछन् र प्रचारमा पनि उनीहरूलाई नै सहज भइरहेको छ ।

यसको पछिल्लो उदाहरण हो, विराज भट्टका छोरा समीर भट्टको ।

उनी अहिलेसम्म कुनै फिल्ममा देखिएका त छैनन् । तर, उनले फिल्म रिलिज नहुँदै ख्याति कमाइसकेका छन् । केही समयअघि सार्वजनिक गरिएका पोस्टर र उनका तस्वीरले सामाजिक सञ्जाल तातेको थियो ।

समीर होम प्रोडक्सनको फिल्म ‘बाह्र गाउँ’ या सन्तोष सेनको फिल्म ‘बलिदान’ मध्ये एकबाट रजतपटमा डेब्यु गर्दैछन् । यी दुवै फिल्ममा समीरले अभिनय गर्ने पक्का भइसकेको छ ।

नेपालको परिवेशमा स्टार किड्सले स्थान पाएपनि फिल्म उद्योगमा स्थापित हुने र नहुने दर्शकको हातमा छ ।

बाबुआमा सेलिब्रेटी भएकै कारण फिल्म उद्योगमा भित्रिएका केही कलाकारले राम्रो स्थान मात्रै होइन, लामो समयसम्म यही क्षेत्रमा निरन्तरता दिनसमेत सफल भएका छन् ।

उनीहरुले सिनेमा क्षेत्रमा दशकौँसम्म रजाइँ समेत गर्दै आएका छन् । तर, केही यस्ता कलाकार पनि जो ‘होम प्रोडक्सन’ मा मात्रै सीमित छन् ।

उनीहरूले परिवारले बनाएका फिल्ममा मात्रै काम गर्ने अवसर पाएका छन् ।

नाम चलेका तथा सदाबहार कलाकार भएकै कारणले पनि उनीहरुका छोराछोरी अभिनित फिल्ममा दर्शकको चासो पनि बढ्दो छ ।

त्यस्तो त दर्शकले कतिपय सेलिब्रेटीका छोराछोरीलाई पर्दामा देख्दैमा समर्थन गर्छन् भन्ने छैन ।

कोरोना महामारीका बेला अभिनेता शिव श्रेष्ठका छोरा र अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता मानन्धरले डेब्यु गरेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ प्रर्दशनमा आयो ।

सो फिल्मले दर्शकको मन जित्न त सकेन । बरु फिल्म हलमा प्रर्दशनका लागि अभिनेता शिव श्रेष्ठले सञ्चार मन्त्रालय तथा विभिन्न स्थानमा लामो दौडधुप नै गर्नुपर्‍यो । उक्त फिल्ममा डेब्यु गरेका दुवै स्टार किड्स फेरि अर्को फिल्ममा देखिएका छैनन् । उनीहरू गुमनाम छन् ।

अभिनेता भुवन केसीले आफ्नै छोरा अनमोल केसीलाई लिएर यस वर्षभित्र ‘करोडपति २’ फिल्म निर्माण गर्ने घोषणा गरेको चर्चा छ । यद्यपि यसबारेमा आधिकारिक जानकारी अझै दिइएको छैन ।

उसो त अनमोलले सन् २०१३ मै हेमराज विसीको निर्देशनमा रहेको फिल्म ‘होस्टेल’ मा मुख्य भूमिकामा देखिएका थिए । उनको पहिलो फिल्मले राम्रो कमाइसमेत गरेको थियो । अनमोल त्यतिबेला बक्स अफिसमा ब्लकबस्टर बनेको फिल्म ‘सुपरस्टार’मा बाल कलाकारको रुपमा देखिएका थिए ।

‘स्टार किड्स’ मध्येमा सबैभन्दा बढी क्रेज आजका दिनसम्म अनमोलकै छ ।

उनी अभिनित फिल्म ‘फर्की फर्की’ यतिबेला प्रदर्शनरत छ । उनीसँगै सिने उद्योगमा देखिएका प्रदिप खड्काको क्रेज देखिरहे पनि धीरज थापा मगर, सलिनमान बानियाँ र पुष्पल खड्कालगायतका अभिनेतालाई यहाँ टिक्नरहन मुस्किल नै परेको अवस्था छ ।

आम युवा दर्शकमा उस्तै फ्यान फलोअर्स र चक्लेटी अनुहार बोकेका धीरज, सलिनमान बानियाँलाई अनमोलको तहमा पुग्न निकै सकस देखिन्छ ।

त्यस्तै, अभिनेता दिलीप रायमाझीकी छोरी दिव्या रायमाझी पनि फिल्म ‘एक्टर’ प्रदीप खड्कासँग पर्दामा देखिँदैछिन् । फिल्ममा दिव्याले अभिनय गर्ने खबर बाहिरिएसँगै उनको व्यापक चर्चा भयो भने फिल्मको हाइप पनि एकाएक बढ्यो ।

यो फिल्मले दिव्यालाई कस्तो स्वाद चखाउनेछ, त्यो भने हेर्न बाँकी छ ।

निर्माता तथा निर्देशक अशोक शर्माले वि.सं. २०७६ मा आफ्नै छोरा अंकित शर्माको डेब्युमा ‘रातो टीका निधारमा’ फिल्म निर्माण गरे ।

सामग्री राज्य लक्ष्मीको जोडीको रुपमा देखिएको सो फिल्ममा अंकितका आमा र दिदी सह–निर्माता थिए । सानैदेखि कलाकारितामा रुचि देखाउने अंकितले मलेसियामा फिल्म मेकिङसम्बन्धी स्नातक सकाएर आएका थिए ।

तर, यो फिल्मबाट उनले खासै कमाल देखाउन सकेनन् । अंकितको अभिनयको तारिफ भएपनि फिल्मले व्यापार भने गर्न सकेन । त्यसयता उनी कुनै पनि फिल्ममा देखा परेका छैनन् ।

उनी मात्रै होइन । झरना थापाकी छोरी सुहाना थापा पनि ‘होम प्रोडक्सन’ का फिल्ममा मात्र देखा परेकी छिन् । फिल्म रिलिजका बेला उनको राम्रै चर्चा हुने गरेपनि होम प्रोडक्सन बाहेकका फिल्ममा उनी देखिएकी छैनिन् ।

सुहानाले झरना थापाको निर्देशनमा रहेका ‘ए मेरो हजुर ३’ मा अभिनेता अनमोल केसीसँग डेब्यु गरेकी थिइन् । त्यसयता उनी ‘होम प्रोडक्सन’ बाट निर्माण भएका फिल्महरुमा मात्रै देखा परेकी छिन् । उनले ‘ए मेरो हजुर ४’ र ‘एक भागवत र एक गीता’ लगायत फिल्ममा मुख्य भूमिकामा देखिएकी छिन् ।

पछिल्लो समय केकी अधिकारी निकै चर्चामा छिन् । आफूले अभिनय गरेका प्राय: फिल्ममा पृथक भूमिकामा देखा परेकी अधिकारी सन् २०१० बाट फिल्म ‘स्वर’ मार्फत रजतपटमा डेब्यु गरेकी थिइन् ।

उनका बुवा बद्री अधिकारी पनि कलाकारिता क्षेत्रमै आबद्ध छन् । केकीको पछिल्लो फिल्म ‘बोक्सीको घर’ ब्लकबस्टर साबित भएको थियो भने यो फिल्मको उनका बुवा बद्री अधिकारीले पनि तारिफ गरेका थिए ।

अर्का निर्देशक शोभित बस्नेतका छोरा सलोन बस्नेतले फिल्म ‘नेपाली बाबु’ मा बाल कलाकारका रुपमा अभिनय गर्दै रजतपटमा डेब्यु गरेका थिए । पछि उनी ‘बाबु कान्छा’ फिल्ममा मुख्य भूमिकामा देखिए ।

सो फिल्म उनकै बुबा शोभित बस्नेतको निर्देशनमा निर्माण भएको थियो । त्यसयता उनी लामो समयदेखि विभिन्न फिल्ममा मुख्य भूमिकामा देखा परेका छन् । तर, उनलाई सोलो हिरोका रुपमा दर्शकले अझैसम्म पनि स्वीकार्न सकेका छैनन् ।

सलोन, अनमोल, केकी, सुहाना लगायतका कलाकारले पारिवारिक पृष्ठभूमिले सिने क्षेत्रमा प्रवेश मात्रै गरेनन् । लामो समयसम्म आफ्नो मेहनत तथा लगावका कारण टिक्दै आएका छन् भनेर पनि सिने क्षेत्रले प्रशंसा गरेको सुन्न पाइन्छ ।

चलचित्र क्षेत्रमा मात्रै नभई हरेक क्षेत्रमा वर्षौँदेखि काम गर्दै आएका सेलिब्रेटीले आफ्ना सन्तानलाई त्यही क्षेत्रमा आउन सजिलो हुने निर्देशक मनोज पण्डित बताउँछन् ।

‘उनीहरुसँग पृष्ठभूमि बनिसकेको हुन्छ । पृष्ठभूमिले शिक्षित बनाउँछ । सम्भावना र त्यसको लागि गर्नुपर्ने मेहनत पनि देखाउँछ,’ उनी भन्छन् ।

त्यही भएर पनि सन्तानलाई सिने क्षेत्रमा आउनका लागि अवसर सहज हुने उनको तर्क छ । तर चलचित्रमा आउनु र टिक्न सक्नु फरक कुरा हुने उनको मत छ । उनले भने ‘स्थापित हुनको लागि आफ्नो कर्मले प्रमाणित गर्नुपर्छ । चलचित्रको आधारभूत कुरा, यसको प्रक्रिया, वातावरण त सिक्न पायो । तर स्कूलिङ पाउँदैमा उत्कृष्ट हुन्छ भन्ने छैन ।’

पारिवारिक पृष्ठभूमिबाट सिनेमा क्षेत्रमा आएका अधिकांश कलाकार लामो समयसम्म टिक्नै नसक्ने उनको अनुभव छ । तर आफ्नै मेहनतमा विश्वास गर्ने केही कलाकार मात्रै यो क्षेत्रमा स्थापित हुने उनको भनाइ छ ।

नेपोटिज्मलाई सापेक्ष रुपमा हेर्नुपर्छ: निर्देशक पण्डित

निर्देशक मनोज पण्डित नेपोटिज्मलाई फरक दृष्टिकोणमा हेर्नुपर्ने बताउँछन् ।  उनका अनुसार सानैदेखि स्कूलिङ भएर आउने चीजलाई सकारात्मक रुपमै हेर्नुपर्छ । ‘नेपोटिज्म भन्ने शब्दलाई निरपेक्षभन्दा पनि सापेक्ष ढंगले हेर्नुपर्छ । कुनै अभिभावकले आफ्नो सन्तानलाई राम्रोसँग स्कूलिङ गरेर ल्याउँछ भन्ने यसलाई राम्रो मान्नुपर्छ,’ उनले भने ।

नेपाली सिने क्षेत्रका लागि दक्ष कलाकार, प्राविधिक चाहिएकाले सो जुनसुकै माध्यमबाट आएपनि आउनु चाहिँ पर्ने उनको धारणा छ । उनी भन्छन्, ‘तर यसलाई नेपोटिजमको रुपमा हेर्नुभएन नि ।’

कलाकारको मात्रै नभई प्राविधिक, निर्देशन वा अन्यका सन्तान पनि अभिनेता वा अभिनेत्रीको रुपमा आउने गरेको उनको भनाइ छ । अवसर जसलाई पनि दिनुपर्ने र काम गर्दैमा सक्षम नहुने उनी बताउँछन् ।

‘सक्षम भनेर प्रमाणित गर्न सकेन भने दर्शकले नै उनीहरुलाई अस्वीकार गर्न पाउँछन् वा गर्छन्,’ उनी थप्छन् ।

करीब एक दशकभन्दा पहिला गुटबन्दीबाट दर्शकलाई केही परिधि राखेर गरिएको प्रयासमा प्रश्न चिह्न खडा गरी नेपोटिज्मको अवधारणा आएको उनको बुझाइ छ ।  चलचित्रमा कसैलाई ल्याउँदै वा थुपार्दैमा दर्शकले नरुचाउने उनको जिकिर छ । दर्शकले व्यक्तिभन्दा पनि प्रस्तुत गर्ने तरिकालाई रुचाउने उनको मत छ ।

‘दर्शकलाई चाहिएको स्तरीय कथा वाचक हो । सन्तुष्टि हो । सन्तुष्टि जो सुकैले प्रवाह गरोस् त्यो चाहिने कुरो होइन,’ उनी भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?