मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पलाञ्चोक भगवती : संस्कृति संरक्षणार्थ जात्रा र सांस्कृतिक मनाइँदै

काभ्रेपलाञ्चोक – पाँचखालस्थित पलाञ्चोक भवगतीको मन्दिरमा हरेक वर्ष चण्डीपूर्णीमाको अवसरमा ठूलो मेला लाग्छ । जिल्लाको पाँचखाल नगरपालिका–९ स्थित उक्त पलाञ्चोक भगवतीको मन्दिर नेपालमा रहेका भगवतीको मन्दिरमध्ये सबैभन्दा पुरानो मन्दिरको रुपमासमेत परिचित छ ।

वि.सं ४२५ मा राजा मानदेव प्रथमको शासनकालमा स्थापित भगवती मन्दिरमा परम्परादेखि संस्कृतिको संरक्षणार्थ मनाइँदै आएको जात्रामा दर्शनार्थी भक्तजनलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले यसवर्ष जात्राको परम्परालाई निरन्तरता दिँदै सांस्कृतिक कार्यक्रमसमेतको आयोजना गरिएको छ । आगामी शुक्रबारदेखि सुरु हुने कार्यक्रम तीन दिनसम्म सञ्चालन हुनेछ । सोही अवसरमा कालिका, एकता, एकीकृत पहरी, पलाञ्चोक गैरीगाउँ क्लब र धन्देखोला नेवा समाजले संयुक्त रुपमा सांस्कृतिक कार्यक्रमको आयोजना गरेका हुन् ।

जात्राको पहिलो दिन (चण्डी पूर्णिमा)को अघिल्लो दिन अर्थात् बिहीबार साँझमा बत्ती बाल्ने, दोस्रो दिन (मुख्य दिन) पूर्णिमा जात्रा र तेस्रो दिन रथयात्रा गरिने परम्परा रहेको मन्दिरका पूजारी शैलेश्वर बज्राचार्यले जानकारी दिए । उनका अनुसार चण्डी पूर्णिमा र बडादसैँमा एकादशीको दिन रथ बनाइ मन्दिर घुमाउने परम्परा छ । 

पलाञ्चोक भगवतीको मन्दिर करिब एक हजार छ सय ५६ वर्ष पहिले अर्थात् इस्वी संवत् ४२५ सालमा निर्माण भएको शिलालेखबाट प्रमाणित भएको थियो । पलाञ्चोक भगवतीलाई ‘भगवतीको जेठी दिदी’का रुपमासमेत चिनिन्छ । जिल्लाको (हाल नमोबुद्ध नगरस्थित) बुच्चाकोट भन्ने स्थानमा रहेको पलाञ्चोक भगवतीको मूर्ति एक रात स्थानीय बृद्धको सपनामा प्रकट भई आफू रहेको स्थानबाट उत्तरतर्फ सार्न आग्रह गरेको किंबदन्ती छ ।

किंबदन्तीअनुसार भगवतीको मूर्तिलाई उत्तरतर्फ लैजाने क्रममा हालको मन्दिर रहेको स्थानमा पुग्दा रात परेपछि त्यहीँ बास बसेको र भोलिपल्ट बिहान त्यहाँबाट मूर्तिलाई अन्यत्र बोकेर लैजान कोसिस गर्दा मूर्ति बोक्न नसकेपछि सोही स्थानमा भगवतीको मूर्ति राखी पूजाआजा सुरु गरिएको थियो । 

तत्कालीन अवस्थामा ६० घरधुरीले भगवतीको मूर्ति बोक्न सहयोग गरेकाले उक्त स्थानको नाम सोही बेलादेखि ‘६० घर भगवती’ भएको बताइन्छ । इस्वी संवत् ४२५ को समयमा कालीगढले दाहिने हातले निर्माण गरेको पलाञ्चोक भगवती, नाला भगवती, देब्रे हातले बनाएको नक्साल भगवती र गोडाले शोभा भगवतीको मूर्ति कुँदिएको किंबदन्ती छ ।

यस्तै भगवतीका मूर्तिमध्ये सबैभन्दा पुरानो र दाहिने हातबाट निर्माण गरिएको भगवतीको मन्दिर भएकाले पनि अन्य भगवतीमध्ये पलाञ्चोक भगवती बढी चर्चित र गन्तव्यस्थानको रुपमा रहेको पाइन्छ । 

तत्कालीन समयमा भगवतीको मन्दिर निर्माण भएपछि मन्दिरको मौलिक पूजारीको बन्ने भन्ने विषयमा काठमाडौँको मखनटोलका बज्राचार्यबाट दैनिक नित्यपूजा र गुठीपूजा गर्नेगरी अनुमति पाएपछि हालसम्म पनि सोही टोलका बज्राचार्य परिवारले नै पूजा गर्दै आएका हुन् । मन्दिरका पुजारी शैलेश्वरका अनुसार करिब नौ पुस्ता बज्राचार्यले पूजारीका रुपमा दैनिक नित्यपूजा र गुठीपूजा गर्दै आएका छन् । 

पलाञ्चोक भगवतीस्थानमा विसं १९९० को भूकम्पले मन्दिर वरपरका घर सबै भत्किए पनि मन्दिरमा ठूलो खासै क्षति नभए पनि भगवतीको शिर  पश्चिमतिर ढल्किएको थियो । उक्त मन्दिरमा भगवतीको दर्शन गर्नाले मनले चिताएको पूरा हुने जनविश्वासमा छ । 

बज्राचार्यका अनुसार देशमा कुनै विपत्ति तथा सङ्कट आउन लाग्यो भने भगवतीको मूर्तिमा विभिन्न सङ्केत देखिनुको साथै मूर्तिमा पसिना आउने गर्दछ । भगवतीको दर्शनका लागि दैनिकजसो दर्शनार्थीको भीड लागिरहने भए पनि विशेषरुपमा बडादसैँमा नवरात्रिको समय मन्दिरमा हाँस, बोका, राँगाआदिको बलि दिने प्रचलन छ । दसैँबाहेक वैशाखपूर्णिमा, माघे सङ्क्रान्ती, जेठको पूर्णिमालगायतका चाडपर्वमा मन्दिरमा ठूला मेला लाग्दछ । 

ऐतिहासिक दस्तावेजअनुसार पृथ्वीनारायण शाहको एकीकरणको समयपछि मन्दिर, पूजारी, गुठीयार र बाजागाजा बजाउने समुदायको व्यवस्थापन गरिएको थियो । एकीकरणपछिको समयदेखि पूजारीले दैनिक नित्यपूजा गर्ने, पहरीले रथ बोक्नुका साथै दैनिक नित्यपूजाका लागि फूल ल्याउने, कसाइले काटमार गर्ने, कुस्लेले पूजाको समयमा बाजा बजाउनेजस्ता कामको बाँडफाँट गरिएको बताइन्छ ।

पलाञ्चोक भगवतीका नाममा तत्कालीन बालुवा गाविस, दोलालघाट, पाँचखाल, होक्सेलगायतका गाविसमा करिब एक हजार आठ सय रोपनी जग्गा स्थानीय मोहीहरुले कमाउँदै आएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?