मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

१०२ वर्षको उमेरमा आँखा देख्न पाएपछि…

खोटाङ – दिप्रुङचुइचुम्मा गाउँपालिका–७ टेम्माका एक सय दुई वर्षीय सहरमान विश्वकर्माको आँखाको शल्यक्रिया सफल भएपछि देख्न सक्ने भएका छन् । ९८ वर्षको उमेरमा दुबै आँखाको ज्योति गुमाएका विश्वकर्माले फेरि आँखा देख्न सकेका हुन् ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकासँगको सहकार्यमा नेपाल नेत्रज्योति सङ्घ खोटाङ र आँखा उपचार केन्द्र दिक्तेलले आयोजना गरेको शल्यक्रिया शिविरमा उहाँको दुबै आँखाको निस्शुल्क शल्यक्रिया भएको हो । तीन दिनसम्म चलेको आँखाको शल्यक्रिया शिविरमा एक सय तीन जनाको मोतियाबिन्दुको र ३९ जना अन्य समस्याका गरी एक सय ४२ जनाको आँखाको निःशुल्क शल्यक्रिया गरेको नेपाल नेत्रज्योति सङ्घ खोटाङका सभापति इन्द्र कसजूले जानकारी दिए ।

नेपाल नेत्रज्योति सङ्घ, सगरमाथा चौधरी आँखा अस्पताल लहानका नेत्ररोग विशेषज्ञ डाक्टर दीवाकर चौधरीको नेतृत्वमा शल्यक्रिया शिविरका लागि खोटाङ पुगेको टोलीले सहरमानको दुवै आँखाको मोतियाबिन्दुको सफल शल्यक्रिया गरेको हो । दुई दिनअघि नातिको सहारामा आँखा शिविर आएका सहरमान अहिले कसैको सहाराबिनै हिँडडुल गर्नसक्ने भएका छन् ।

शल्यक्रियापछि आँखाको दृष्टि खुलेसँगै उनले लौरो टेकेर खुशी हुँदै शिविर वरपर हिँडडुल गरे । गुमेको आँखाको दृष्टि पुनः फर्किएपछि उनीमा खुशीको सीमा छैन । ‘अहिले त हेर्न पाएँ, सबैलाई देख्न पाएँ मलाई हर्ष छ, मेरो मनकति रमाएको छ,’ उनले भने ।

शल्यक्रियापछि पुनः संसार हेर्न पाएकाले अरुले पनि यसरी संसार देख्न सकून् भन्दै आर्शीवाद दिए। आँखा देखेपछि खुशीका आँसु झार्दै उज्यालो देखाउने सबैलाई उनले धन्यवाद दिए ।

नेपाल नेत्रज्योति सङ्घका कार्यकारी निर्देशक डाक्टर शैलेशकुमार मिश्रले सङ्घअन्तर्गतका आँखा अस्पतालले देशैभरि विभिन्न शिविरमार्फत वार्षिक हजारौँ आँखाका बिरामीको निःशुल्क उपचार गरिरहेको जानकारी बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?