काठमाडौँ – कान्स फिल्म फेस्टिभलको ७७औँ श्रृङ्खलामा भाग लिन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) फ्रान्स प्रस्थान गरेका छन् ।
कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा उनी मंगलबार बिहान फ्रान्स प्रस्थान गरेका हुन् । शाहको टोलीमा उनीसँगै व्यवस्थापन सल्लाहकार कुमार व्यञ्जनकार र पूर्वाधार सल्लाहकार सुनिल लम्साल पनि फ्रान्स गएका छन् ।
प्रमुख शाह फेस्टिभलका विभिन्न कार्यक्रममा सहभागी हुनेछन् भने त्यस क्रममा मेयर लिसनार्ड र फेस्टिभल निर्देशकसँग भेटवार्ताको कार्यक्रम छ ।
त्यस्तै फेस्टिभलको रेडकार्पेट र प्रिमियर कार्यक्रममा सहभागी हुने उनले अडियो भिजुअल कन्टेन्ट क्रियशन चेनको अवलोकन गर्ने छन् । उनको सम्मानमा कान्सको मल्टिमिडिया लाइब्रेरीमा रिसेप्सनको आयोजना हुनेछ ।
कान्स र काठमाडौं दुवै युनेस्कोको ‘क्रिएटिभ सिटी’को चलचित्र विधाका सदस्य नगर हुन् । राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को)ले २०८० सालको कात्तिकमै काठमाडौँलाई ‘फिल्मको रचनात्मक सहर’को रूपमा सूचीकृत गरेको हो ।
प्रमुख शाह ३ दिनको कार्यक्रममा सहभागी भएर जेठ ७ गते स्वदेश फर्किने महानगरले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया