गर्भावस्थामा गर्भमा रहेको शिशुको अवस्थाबारे थाहा पाउन अल्ट्रासाउण्ड गर्ने गरिन्छ । सामान्यतया गर्भावस्थामा पाँचपटकसम्म अल्ट्रासाउण्ड गर्न चिकित्सकहरूले सुझाव दिन्छन् ।
एक्सरे, एमआरआई, सिटीस्क्यान जस्तै अल्ट्रासाउण्ड पनि परीक्षणको एक प्रविधि हो । अल्ट्रासाउण्डले मानव शरीरभित्रको रोगको पहिचान गर्न सहयोग गर्छ । शरीरको कुनै भित्री भागमा खराबी आएको शंका लागेमा अल्ट्रासाउण्ड गरिन्छ । खासगरी पेटमा कुनै समस्या देखिएमा पनि अल्ट्रासाउण्ड गरेर रोगको पहिचान गरिन्छ ।
गर्भवतीको हकमा आफ्नो शिशुको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अल्ट्रासाउण्ड गर्ने गरिन्छ ।
धेरैजनाको बुझाइमा भिडियो एक्सरे र अल्ट्रासाउण्ड एकै हो भन्ने छ । तर, यी दुई फरक विधि हुन् । भिडियो एक्सरेमा भिडियो खिचेर समस्याको पहिचान गरिन्छ भने अल्ट्रासाउण्डमा एक्सरे हुँदैन ।
अल्ट्रासाउण्डमा हाइ फ्रिक्वेन्सीको ‘साउण्ड वेभ’ प्रयोग गरिन्छ । अल्ट्रासाउन्ड उपचारको कस्तो विधि हो ? एक गर्भवती महिलामा किन यसको परीक्षण गरिन्छ ? गर्भावस्थामा यसको महत्व कस्तो छ लगायतका प्रश्नहरुमा केन्द्रित भएर रेडियोलोजिष्ट डा. दिनेश चटौतसँग जोय नेपालका लागि सुस्मिता फुयाँलले लिएको अन्तर्वार्ताको सम्पादित अंश:
अल्ट्रासाउन्ड कस्तो उपचार विधि हो ?
अल्ट्रासाउण्ड परीक्षणका लागि गरिन्छ । एक्सरे, एमआरआई, सिटीस्क्यान जस्तै अल्ट्रासाउण्ड पनि परीक्षणको प्रविधि हो । अल्ट्रासाउण्डले रोग पत्ता लगाउन ठूलो सहयोग गर्छ । यसलाई रोग पत्ता लगाउने महत्वपूर्ण प्रविधिको रूपमा हेरिन्छ । यसको सबैभन्दा बढी प्रयोग पेटको लागि गरिन्छ । पेटमा भएको समस्या पत्ता लगाउने यो नै सबैभन्दा भरपर्दो प्रविधि हो ।
कुन–कुन रोगको लागि अल्ट्रासाउन्ड गरिन्छ ?
पेटमा भएको पत्थरी पत्ता लगाउन यसको सबैभन्दा बढी प्रयोग गरिन्छ । कलेजो र किड्नीमा कुनै समस्या छ भने पनि अल्ट्रासाउण्ड नै गरिन्छ । पेटको कुनै अङ्गमा समस्या छ भने त्यो पत्ता लगाउन अल्ट्रासाउण्ड गरिन्छ । थाइराइड, छातीको परीक्षणमा समेत यसको प्रयोग गरिन्छ । रक्तनलीको समस्या आएमा पनि अल्ट्रासाउण्ड मार्फत पत्ता लगाउन सकिन्छ । विशेषत: यो गर्भवती महिलाहरुको गर्भको अपडेटको लागि गरिन्छ ।
धेरैजसो मानिस अल्ट्रासाउन्ड र भिडियो एक्स–रे मा झुक्किनुहुन्छ, के यी एकै विधि हुन् या भिन्नता छ ?
नेपालमा यसलाई भिडियो एक्स रे पनि भनिन्छ । तर अल्ट्रासाउण्ड र भिडियो एक्स रे फरक हो । भिडियो एक्स रेमा भिडियो खिचेर रोगको पहिचान गरिने भएकाले यस्तो भनिएको हुन सक्छ । तर यसमा एक्स रे हुँदैन । अल्ट्रासाउण्डमा ‘हाइफ्रक्वेन्सी’को ‘साउण्ड वेभ’ प्रयोग गरिन्छ । यसको सबैभन्दा महत्वपूर्ण कुरा भनेको यसमा रेडियसन (विकिरण) हुँदैन ।
गर्भावस्थामा कतिपटक अल्ट्रासाउन्ड गर्नुपर्छ ? गर्भाअवस्थामा यसको महत्त्व कति छ ?
गर्भावस्थामा पाँच पटक अल्ट्रासाउन्ड गरिन्छ । गर्भवतीमा अल्ट्रासाउण्डको महत्त्व धेरै हुन्छ । अल्ट्रासाउण्डकै माध्यमबाट गर्भभित्र रहेको शिशुको बनावट, वृद्धि, विकास थाहा पाउन सकिन्छ । आमाको पाठेघरमा समस्या भए र नभएको पनि थाहा पाउन सकिन्छ । गर्भाअवस्थाको शुरुमा पाठेघरभित्र बच्चा छ कि छैन भनेर गरिन्छ । त्यसपछि १२ हप्तामा बच्चामा डाउन सिन्ड्रोम छ कि छैन । नाकको हड्डीहरु बनेको छ कि छैन भनेर पत्ता लगाउन अल्ट्रासाउन्ड गरिन्छ । २२ हप्तामा यानीमेल स्क्यान गरिन्छ, जसमा बच्चाको वृद्वि, विकासमा केही समस्या छ कि छैन भनेर हेरिन्छ । यो सबै बच्चा असामान्य नजन्मियोस् भनेर गरिन्छ । अन्तिमपटक भने गर्भमा बच्चाको पोजिसन कता छ र अवस्था कस्तो छ भनेर थाहा पाउनका लागि अल्ट्रासाउण्ड गरिन्छ ।
अल्ट्रासाउन्ड कसरी गरिन्छ ?
अलट्रासाउण्ड थरी–थरीका हुन्छन् । बढी मात्रामा पेटको नै अल्ट्रासाउण्ड गर्ने गरिन्छ । यसका लागि कम्तीमा ६ घण्टा खाली पेट राख्नुपर्छ । पिसाब पनि रोक्नुपर्ने हुन्छ । यो पुरूषका लागि भन्दा पनि महिलाका लागि बढी जरुरी छ । पिसाब रोक्यो भने पाठेघरको अवस्थाबारे थाहा पाउन सकिन्छ । शरीरको जुन अंगको अल्ट्रासाउण्ड गर्ने हो, त्यो सँगै छालामा थोरै जेल हालेर राखिन्छ । यस्तो भने प्रोव (प्रविधि) ले त्यहाँ भएको सबै जानकारीलाई भिडियोमा देखाउँछ ।
यो कत्तिको खर्चिलो छ ?
अल्ट्रासाउण्ड नेपालका धेरै ठाउँमा उपलब्ध छ । यो धेरै खर्चिलो पनि छैन । सरकारी अस्पतालमा चार/पाँच सय रूपैयाँमा पनि अल्ट्रासाउण्ड हुन्छ भने निजी अस्पताल तथा क्लिनिकहरुले एक हजार रुपैयाँसम्म पनि लिने गर्छन् । यो पनि प्रविधि हेरेर हुन्छ । अहिले आएको नयाँ प्रविधिअनुसार गर्ने हो भने कतिपय अल्ट्रासाउण्डको चार/पाँच हजार रुपैयाँसम्म पनि खर्च लाग्छ । साधारणतयाः पेटको अल्ट्रासाउण्ड गर्दा एक हजार रुपैयाँसम्म पर्न सक्छ । कुन अङ्गको गर्ने र कुन प्रविधिले गर्ने भन्नेमा भर पर्छ ।
अल्ट्रासाउण्डले कुन–कुन अङ्गको रोग पत्ता लाग्दछ ?
अल्ट्रासाउण्डले पेटमा रहेका अङ्गहरू किड्नी, कलेजो, गलब्ल्याडर, प्यानक्रियाज, प्रोस्टेस्ट लगायतका अंगहरूको रोग पत्ता लगाउन सकिन्छ । बच्चाको टाउको, आँखाको नानी, घाँटीका ग्रन्थी, थाइराइड, छातीको परीक्षणमा समेत यसको प्रयोग गरिन्छ । रक्तनशाको समस्या आएमा पनि अल्ट्रासाउण्ड रोग पहिचान गर्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया