पर्वत – विद्यार्थी सङ्ख्या घट्दै गएपछि जलजला गाउँपालिकाले २५ विद्यालय समायोजन गरेको छ । पालिकाका विभिन्न वडामा रहेका २५ विद्यालयको तह समायोजन गरी नजिकको अर्को विद्यालयमा गाभिएको हो ।
गाउँपालिकाभित्र सञ्चालित आधारभूत र माध्यमिक गरी ४४ विद्यालय मध्ये २५ विद्यालयमा विद्यार्थी सङ्ख्या अत्यन्त न्यून भएपछि तह समायोजन गरिएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिए । त्यसमध्ये तीन विद्यालय भने पूरै कक्षा नै समायोजन गरिएको उनले बताए ।
विद्यार्थी सङ्ख्या घट्दै गएर कक्षा कोठा नै रित्ता हुन थालेपछि गाउँपालिकाले तह समायोजन गर्ने निर्णय गरेको थियो । यही वैशाख १२ गते गाउँ शिक्षा समिति र वडा शिक्षा समितिका संयोजकको संयुक्त बैठकले विद्यार्थी सङ्ख्या कम भएका प्रावि तथा आधारभूत विद्यालयको कक्षा समायोजन गरिएको गाउँ शिक्षा समितिका संयोजकसमेत रहेका गाउँपालिकाका अध्यक्ष आचार्यले बताए ।
अध्यक्ष आचार्यका अनुसार विद्यार्थी सङ्ख्या कम रहेको जलजला–२ मा रहेको सिद्धबाबा प्राविको भन्दा माथिका कक्षा, वडा नं ३ को बेनी बजार प्राविको कक्षा ३ भन्दा माथिका कक्षा, वडा नं ४ को लुङ्दी आधारभूत विद्यालयको कक्षा ५ भन्दा माथिका र वडा नं ८ को तारा प्राविको कक्षा १ भन्दा माथिका कक्षा शिव माविमा समायोजन गरिएको छ ।
यस्तै वडा नं १ को देउराली प्रावि र जनज्योति प्राविको कक्षा १ भन्दा माथिकालाई ज्योतिमण्डल माविमा, वडा नं २ को दिनकल्याण प्राविको १ भन्दा माथिका कक्षालाई समाजकल्याण प्राविमा, विध्यवासिनी प्राविको तीनभन्दा माथिको कक्षालाई विद्याज्योति माविमा, वडा नं ४ को भवानी प्राविको १ भन्दा माथिको कक्षालाई फड्के ढुङ्गा आधारभूत विद्यालयमा समायोजन गरिएको गाउँपालिकाले जनाएको छ ।
यसैगरी वडा नं ४ को सरस्वती प्राविको ३ भन्दा माथिको कक्षालाई लुङ्दी आधारभूत विद्यालयमा, वडा नं ५ को मालिका आधारभूत विद्यालयको ५ भन्दा माथिका कक्षालाई ज्योति माविमा, शिवालय प्राविको कक्षा १ भन्दा माथिका कक्षालाई देविस्थान प्राविमा र धवला प्राविका सबै कक्षालाई ग्रामप्रकाश माविमा समायोजन गरिएको छ ।
वडा नं ५ को पञ्चमूल प्राविका ३ कक्षाभन्दा माथिकालाई देविस्थान प्राविमा, गद्देश्वर प्राविको ३ भन्दा माथिका कक्षालाई मालिका आधारभूत विद्यालयमा, वडा नं ६ को जनचेतना प्राविका सबै कक्षालाई शान्ति आधारभूत विद्यालयमा, युवा प्राविको १ कक्षाभन्दा माथिका कक्षालाई ज्योति माविमा, भगवती सम्झना प्राविको ३ कक्षाभन्दा माथिलाई शान्ति आधारभूतमा र सर्वोदय प्राविका सबै कक्षालाई भूमे प्राविमा समायोजन गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत फडिन्द्र आचार्यले जानकारी दिए।
वडा नं ७ को भूमे प्राविको ३ भन्दा माथिका कक्षा, ज्योति प्राविका १ भन्दा माथिका कक्षा, सरस्वती प्राविका १ भन्दा माथिका कक्षा र देउराली प्राविका ३ भन्दा माथिका कक्षालाई कृष्ण भवन धर्म माविमा समायोजन गरिएको छ ।
सोही वडाको अमर प्राविको १ भन्दा माथिका कक्षालाई फर्से धाइरिङ माविमा समायोजन गर्ने निर्णय भएको छ । वडा नं ८ को जन जागृति प्राविको १ कक्षाभन्दा माथिका कक्षाहरू जनकल्याण माविमा समायोजन गरिएको छ ।
समायोजन गरिएका विद्यालयका कक्षामा कतै शून्य विद्यार्थी त कतै न्यून विद्यार्थी भएकाले कक्षा समायोजन गर्नुपरेको गाउँपालिका अध्यक्ष आचार्यले बताए । भोलिका दिनमा विद्यार्थी सङ्ख्या बढेमा समायोजन निर्णय फिर्ता गरिने र विद्यार्थी सङ्ख्या अझै घटेमा पूरै विद्यालय नै समायोजन गरिने उनको भनाइ छ । विद्यार्थी सङ्ख्या कम भएका विद्यालयको हाललाई अस्थायीरूपमा कक्षा घटुवा गरी नजिकको अर्को विद्यालयमा समायोजन गरिएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया