मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चलचित्रमा नयाँ अनुहारको आकर्षण

काठमाडौँ – नेपाली चलचित्र निर्माणको सङ्ख्यात्मक वृद्धि, बढ्दो लगानी तथा राम्रो पारिश्रमिकका कारण यस क्षेत्रमा नयाँ अनुहार देखिन थालेका छन् । अभिनयलाई करियर बनाउन चाहनेको संख्या पनि बढ्दो पाइएको छ ।

यसवर्ष मात्र नयाँ केही अनुहारहरू पहिलोपटक पर्दामा देखिदैछन् । अर्थात् चलचित्रबाट थुप्रै नयाँ अनुहार भित्रिदै छन् । डेढ दशकअघि मात्र नेपाली चलचित्रमा अभिनेता राजेश हमाल, निखिल उप्रेती, रेखा थापा, विराज भट्टलगायत कलाकारको दबदबा थियो ।

उनीहरूको पोस्टर देख्दा मात्रै पनि दर्शक चलचित्र भवनसम्म पुग्थे । यद्यपि कथ्य र निर्माण शैलीमा परिवर्तन आएसँगै नयाँ पुस्ताको आगमन बढिरहेको छ ।

पछिल्लो समय नयाँ पुस्ताको रुपमा प्रदीप खड्का, अनमोल केसी, सलिनमान बानियाँ, धीरज मगर, सुहाना थापा, अदिति बुढाथोकी, मिरुना मगर, उपासना सिंह ठकुरी, साम्राज्ञी राज्यलक्ष्मी शाहलाई भनिन्छ । उल्लेखित नामहरू निर्माता तथा निर्देशकको रोजाइमा पर्ने गरेका छन् ।

उनीहरूको उपस्थितिले व्यापारमा पनि प्रभाव पर्ने गरेको देखिएको छ । सोही कारण वितरक र प्रदर्शक पनि उल्लेखित नाममा विश्वस्त छन् । यद्यपि त्यो ठाउँसम्म पुग्ने उद्देश्य बोकेर सङ्घर्ष गरिरहेका कारण पनि नयाँ अनुहार पर्दामा देखिने क्रम रोकिएको छैन ।

व्यावसायिक सुरक्षाका कारण प्रायः निर्देशकको रोजाइमा स्थापित अनुहार पर्ने देखिए पनि केही नयाँ अनुहारले चलचित्रमा पाइला टेकिसकेका छन् भने केही तयारीमा छन् । यस वर्षको पहिलो महिना वैशाखमा प्रदर्शन भएको चलचित्र ‘नाइँ नभन्नु ल–६’ बाट आशीर्वाद क्षेत्रीले डेब्यु गरे ।

व्यावसायिक रुपमा उनको सुरुआत सफल नभए पनि सम्भावना बोकेको कलाकारको रुपमा हेरियो । आँचल शर्मा, पल शाह, वर्षा राउत, अनुभव रेग्मीजस्ता स्थापित कलाकारलाई पहिलोपटक सफलताको स्वाद चखाएका निर्देशक विकासराज आचार्य यसपटक भने असफल हुन पुगे । तथापि नयाँ कलाकारको प्रवेशमा कमि आएको छैन ।

गत असारमा प्रदर्शन भएको ‘बगान’ मार्फत अभिनयमा प्रमिला कार्की उदाइन् । टेलिभिजनकर्मीको रुपमा परिचित अभिनेत्री कार्कीले उक्त चलचित्रमार्फत प्रायको मन जितिन् । व्यावसायिक रुपमा सफल मानिएको चलचित्रलाई अभिनेता सरोज खनालले निर्देशन गरेका हुन् ।

गत असोज २६ मा प्रदर्शन भएको चलचित्र ‘परदेशी २’ मार्फत स्थापित गायक प्रकाश सपूतले परिचय फेर्ने प्रयास गरे । उनले गायकसँगै अभिनेता बन्ने उनको कोसिस कत्तिको सफल भयो रु आउँदो समयले नै बताउला । किनकि उनका गीतसङ्गीत झैँ अभिनयको चर्चा हुन् सकेन ।

मङ्सिरको अन्तिम साता प्रदर्शन भएको चलचित्र ‘दुई कदम’बाट दुई नयाँ अनुहार इओन लिम्बू र सिमोन गिरीले अभिनयको सुरुआत गरे ।

अभिनेता लिम्बू चलचित्रसम्बन्धी अध्ययन गराइने अस्कर इन्टरनेशनल कलेजमा ‘ब्याचलर इन सिनेमा स्टडिज’मा अन्तिम वर्षमा अध्ययनरत छन् । उनी झैँ अभिनेत्री गिरी पनि आफूलाई ठुलोपर्दामा देख्दा उत्साहित छिन् । उनले केही साङ्गीतिक श्रव्यदृश्य (म्युजिक भिडियो) मा समेत काम गरिसकेकी छिन् ।

आगामी पुस २७ गते प्रदर्शन घोषणा गरिएको ‘पर्खी बसेँं तिमीलाई’ मार्फत अभिनयमा रक्षा बुढाथोकी र किरण श्रेष्ठले सुरुआत गर्दै छन् । दीपक श्रेष्ठको निर्देशन रहेको चलचित्रमा युवापुस्ताको प्रेम र त्यसमा आउने उतारचढावलाई चित्रण गरिएको अभिनेत्री बुढाथोकीले बताइन् ।

‘मैले चलचित्रमा रिमेक गरिएको कालो चस्मा बोलको गीतमा नृत्य गरेँ । बाल्यकालमा स्कुलमा धेरै पटक उक्त गीतमा प्रस्तुति दिएको थिएँ’, अभिनेत्री बुढाथोकीले भनिन्, ‘अभिनयमा रूचि हुनेलाई अहिले सहज भएको छ । हामीले आफ्नो सपनाको बारेमा खुलेर घरमा भन्न सकेका छौँ ।’ उनले पहिलोपटक राम्रो टिम पाएकाले पात्रलाई न्याय गर्न सकेको बताइन् ।

अभिनेता श्रेष्ठले पनि प्रेम कथानक चलचित्रमार्फत पहिलोपटक पर्दामा देखिन पाउँदा उत्साहित रहेको बताए ।

‘पहिलोपटक पर्दामा आफूलाई हेर्न उत्साहित छु । यो समयका लागि मैले सङ्घर्ष गरेको छु । यो अवसरमार्फत मैले अन्य मौका सिर्जना गर्नुछ’, अभिनेता श्रेष्ठले भने, ‘आफू भन्दा अग्रज कलाकारहरूसँग अभिनय गर्दा सुरूमा केही असहजता भएको थियो । उहाँहरूले नै सहजता दिएपछि मैले केही दृश्यलाई ढुक्कसँग गरे ।’ उनले केही दृश्य अभिनेता शिव श्रेष्ठसँग दिएका छन् । त्यसक्रममा उनलाई असभ्य रुपमा प्रस्तुत हुनु असहज भएको रहेछ ।

पुसमै प्रदर्शन हुने चलचित्र ‘चित्रा’मार्फत सन्तोष अधिकारीले पनि अभिनय यात्रा सुरू गरेका छन् । नेपाली चलचित्रको अन्य विधामा सक्रिय रहेका अधिकारीले आफू सुहाउँदो भूमिका पाएकै कारण नयाँ यात्राको सुरुआत गरेको बताए । ‘मैले इभेन्ट गर्नुका साथै केही चलचित्रको निर्माण समेत गरेँ । साङ्गीतिक श्रव्यदृश्यमा काम गरिसकेपछि मलाई चलचित्रमा प्रस्ताव आयो । सक्छु भन्ने लागेर अभिनय गरे’, अभिनेता अधिकारीले भने ।

काठमाडौँमै छायाङ्कन भइरहेको चलचित्र ‘११ः५५’ मार्फत सागर खनालले अभिनयको सुरुआत गरेका छन् । पहिलोपटक निर्देशन गरिरहेका केशव पाण्डेसँग राम्रो काम भइरहेको उनले जानकारी दिए । ‘अभिनय कक्षा र नाटक हुँदै चलचित्रसम्मको यात्रा सहज थिएँन ।

तर, परिश्रमले फल दिन्छ भन्ने विश्वासले आज मलाई ठुलोपर्दासम्म ल्याएको छ । मैले आफ्नो पात्रलाई जीवन्त बनाउने प्रयास गरेको छु । सम्पूर्ण वर्गका दर्शकलाई मन पर्ने छ भन्ने लागेको छ’, अभिनेता खनालले भने ।

चलचित्र वितरक करण श्रेष्ठले वितरण गरेका अधिकांश चलचित्रमा नयाँ अनुहार छन् । नयाँ चलचित्रको बारेमा सुरुआतमा विश्वस्त गर्न प्रदर्शकलाई गाह्रो नहुने होइन । यद्यपि देखिने प्रचार सामग्रीले सहज बनाउने वितरक श्रेष्ठले बताए । ‘नयाँ अनुहारले अवसर पाएर नै पुरानो हुने हो, त्यसैले उनीहरूलाई सघाउनै पर्छ ।

म नयाँ अनुहार भएका चलचित्रकर्मीलाई प्रचारप्रसार ध्यान दिन आग्रह गर्ने गर्छु । यसले चलचित्रसँगै उदाउँदै गरेका कलाकारलाई फाइदा पुग्छ’, वितरक श्रेष्ठले भन्नुभयो, ‘चलचित्र भवनमा दर्शक बढेसँगै व्यापार बढ्ने भएकाले सुरुआती समयमा हाम्रो भूमिका महत्वपूर्ण भएता पनि अन्ततः विषयवस्तुले नै आकर्षण गर्नुपर्छ ।’

यसवर्ष उनले ‘बगान’ र ‘दुई कदम’ वितरण गरिसक्नु भएको छ भने ‘पर्खी बसें तिमीलाई’ वितरण गर्दै छन् । उल्लेखित चलचित्रमार्फत पाँच नयाँ अनुहारले चलचित्रनगरीमा प्रवेश पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?