मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नयाँ वर्षसँगै याङ्जाकोटमा पर्यटक बढ्दै

कास्की – कास्कीको पर्यटकीय गाउँ याङ्जाकोटमा नयाँ वर्षसँगै पर्यटकको सङ्ख्या बढेको छ । मादी गाउँपालिका-३ स्थित याङ्जाकोटमा एक हप्तादेखि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेको हो ।

होटल र घरबास ‘होमस्टे’मा गरी दैनिक एक सय ५० पाहुना राख्न सक्ने याङ्जाकोटमा यतिबेला दैनिक ६०-७० जना आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । यसअघि दैनिक ४०-५० जना पर्यटक आउने गर्थे ।

याङ्जाकोटमा होमस्टे सञ्चालन गर्दै आएका नारायण गुरुङले पछिल्लो १५ दिनयता गाउँमा आन्तरिक पर्यटकको सङ्ख्या ह्वात्तै बढेको बताए । याङ्जाकोटमा यतिबेला साहित्यिक कार्यक्रमसमेत बाक्लिएका छन् । संस्कृतिविद् डा. जगमान गुरुङ आफ्नै गाउँमा रहेको बेला विभिन्न समूहले साहित्यिक कार्यक्रम गरेको गाउँपालिकाका अध्यक्ष देवीजङ्ग गुरुङले बताए ।

पोखराको काँहुखोलाबाट याङ्जाकोटको सडक सुधार भएसँगै पोखराको काँहुखोलाबाट एक घण्टामै याङ्जाकोट पुग्न सकिने भएकाले बिदाका दिन कर्मचारी र सर्वसाधारण यहाँको होमस्टेमा पुग्ने गरेका छन् ।

पोखराको काँहुखोलाबाट जीप तथा बसमा १९ किलोमिटरको दूरी यात्रा गरेपछि याङ्जाकोट पुग्न सकिन्छ । यहाँ पर्यटकलाई स्थानीय उत्पादनका परिकार ख्वाउने गरिएको छ । पर्यटकको रोजाइमा रैथाने परिकार पर्ने गर्छ ।

कोदो तथा फापरको ढिँडो, गुन्द्रुक तथा भट्ट, पिंडालु, तरुल, आलु, मकै, भैँसीको दूध, लोकल कुखुराको मासु जस्ता परिकारको व्यवस्था होमस्टे सञ्चालकले गरेका छन् ।

नयाँ वर्षमा याङ्जाकोट पुगेका पोखरा-१३ का विश्व सिग्देलले याङ्जाकोटवासीको स्वागत, सत्कार र परिकार अग्र्यानिक भएको बताए । पोखराको कोलाहाल वातावरणबाट टाढा रहन हप्ताको एक दिन बजारको नजिकैका यस्ता होमस्टेमा रात बिताउने र विभिन्न सेमिनार त्यहाँ लगेर गर्ने हो भने गाउँको छुट्टै आनन्द लिन सकिने सिग्देलको भनाइ छ ।

दुई सय ५० घर रहेको पर्यटकीय गुरुङगाउँ याङ्जाकोटमा २० भन्दा बढी घरमा होमस्टे सञ्चालनमा छन् । नजिकैको कर्पुडाँडामा हिउँ खेल्नका लागि याङ्जाकोटबाट त्यहाँसम्मको पैदलमार्ग एक वर्षअघि स्तरोन्नति गरिएको थियो ।

यहाँबाट अन्नपूर्ण हिमशृङ्खलाका साथै पर्यटकीय गाउँ सिक्लेस, थाक, लम्तरीडाँडा, ठूलाकोट, काँहु धरहरा, सराङकोट, कास्कीकोट, पुम्दीको शिव मन्दिर, आर्वा, तप्राङ, चित्रे, मादीबेँसीका साथै लमजुङका केही भाग दृश्यावलोकन गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?