दाङ – यहाँका महिला विभिन्न पेसा व्यवसायमा सरिक भएर मनग्य आम्दानी गर्दै आएका छन् । विशेष गरी हस्तकलाका विभिन्न सामग्री सामग्री बनाएर उनीहरू आकर्षक आम्दानी गर्न सफल भएका हुन् ।
हस्तकलाका सामग्री उत्पादनका माध्यमबाट आयआर्जनका गतिविधिमा जोडिएपछि घर चलाउन सहजतासँगै बचतसमेत गर्ने गरेको लमही नगरपालिका–५ निवासी सरिता चौधरी बताउँछिन् ।
हस्तकलासम्बन्धी मेरी हस्तकला उद्योग स्थापना गरेर व्यवसाय गर्दै आएकी चौधरीले कला, संस्कृतिको संरक्षणसँगै आफूजस्ता महिलाका लागि आम्दानीको स्रोत बनेको बताइन ।
चौधरीले भनिन, “हस्तकलासम्बन्धी काम गर्दा हराउँदै गएको सीपको संरक्षणसँगै व्यवसायबाट आम्दानी हुने गरेको छ ।”
उनका अनुसार थारु समुदायसँग सम्बन्धित हस्तकलाका सामग्री खपत राम्रो हुने भएकाले बनाउन सके महिनामा रु १५–२० हजार सजिलै कमाउन सकिन्छ ।
हस्तकला व्यवसाय नगर्दा घरको काम सकेर फुर्सदिलो भएर बस्नुपर्ने भए पनि काम शुरु गरेपछि पछिल्लो समय फुर्सद नहुने गरेको उनको अनुभव छ । सरिताजस्तै सुमित्रा चौधरी पनि हस्तकलाका सामग्री उत्पादन गरी आम्दानी गर्दै आएकी छिन् ।
तीन वर्षअघि सीप सिकेर हस्ताकलाका सामग्री उत्पादनमा लाग्नुभएकी सुमित्राले महिनामा रु २० हजारसम्म कमाउने गरेको सुनाइन् । सामग्री उत्पादनमा मात्रै लागेका महिलाले महिनामा रु ३० हजारसम्म कमाउने गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया