मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘हिमालयको रहस्य’ र ‘सिर्जनावृत्ति’ कला प्रदर्शनी शुरु

काठमाडौँ– नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा आइतवारबाट ‘हिमालयको रहस्य’ र ‘सिर्जनावृत्ति’ प्रदर्शनी शुरु भएको छ ।

प्रदर्शनीको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले उद्घाटन गरेका हुन् । कार्यक्रममा कुलपति हार्तम्छालीले प्रतिष्ठानले यस प्रदर्शनीमार्फत दुई फरक विषयलाई समेट्न खोजेको बताए ।

उनले ‘हिमालयको रहस्य’ प्रदर्शनीमार्फत नेपालको हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको गम्भीर असर तथा ‘सिर्जनावृत्ति’ कला प्रदर्शनी ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८०’ का राष्ट्रिय ललितकला पुरस्कार विजेताहरूलाई हौसला प्रदान गर्न गरिएको जानकारी गराए ।

उनले भने, ‘वातावरण परिवर्तनले हिमालमा परेको प्रभावलाई कलाकारले कलामार्फत कलात्मक रुपले प्रस्तुत गर्नुभएको छ । हिमाल बचाउने अभियानमा कलाकारको पनि विशिष्ट भूमिका रहनुपर्छ भन्ने उद्देश्यका साथ प्रदर्शनीको आयोजना गरिएको हो ।’

उपकुलपति लालकाजी लामाले हिमाल जीवन र जगतसँग जोडिएको विषय भएको बताए । उनले हिमाल भए पानी हुने र पानी भए जीवन हुने भन्दै जलवायु परिवर्तनले नेपाल लगायतका पर्वतीय देशहरूमा परेको असरलाई गम्भीर रूपमा लिनुपर्ने धारणा राखे ।

सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले प्रदर्शनीमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २८ औँ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ‘कोप २८’ मार्फत उठाएको एजेन्डालगायतका विविध विषय समेटिएको बताए ।

उनले प्राणीजगतको जीवनसँग हिमाल जोडिएकाले पछिल्लो समय जलवायु परिवर्तनले यसमा पारेको असरबारे सम्बद्ध सबै सचेत हुनेपर्ने सुनाए ।

‘हिमालयको रहस्य’ प्रदर्शनीमा अनिता भट्टराई, एन्जिला जोशी, अर्पिता पराजुली, अरुणा हिङमाङ, बीआर श्रेष्ठ, भिमकुमार श्रेष्ठ, भिम सुब्बा ‘सिर्जनावृत्ति’ कला प्रदर्शनीमा उद्धव रिमाल (समसामयिक चित्रकला), विनय रिमाल (प्रतिस्थापन कला), रिसिता खत्री (समसामयिक मूर्तिकला), नम्रता सिंह (लोककला) र राजप्रकाश मान तुलाधर (परम्परागत चित्रकला) ले सहभागिता जनाएका छन् ।

‘हिमालयको रहस्य’ प्रदर्शनीको संयोजन कलाकार केशव राज खनालले गरेका थिए भने प्रदर्शनीको क्युरेटिङ प्राज्ञसभा सदस्य प्रदीप शाक्यले गरेका हुन् । प्रदर्शनी वैशाख ७ गतेसम्म चल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?