काठमाडौँ– गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानले सम्बन्ध विच्छेद गरेका छन् । यी दुईले चैत्र ७ गते कानूनी रुपमा सम्बन्ध विच्छेद गरेका हुन् ।
नजिकका आफन्तका अनुसार सम्बन्धमा दरार आएपछि दुवैले सहमतिमै सम्बन्ध विच्छेद गरेका हुन् ।
जिल्ला अदालत काभ्रेपलाञ्चोकका न्यायाधीश विश्वनाभ भट्टराईको इजलासले सम्बन्ध विच्छेदको आदेश दिएको हो ।
उनीहरुको मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ बमोजिम मिलापत्र प्रमाणित गरिएको अदालतको आदेशमा उल्लेख छ । अदालतले सम्बन्ध विच्छेद हुने गरी मिलापत्र गर्न सहमत भई दुवै पक्षले सहीछाप गरेको समेत आदेशमा उल्लेख छ ।
गायन रियालिटी शो नेपाल आइडलको पहिलो सिजनमा सहभागी भएर चर्चामा आएका निशान पछिल्लो समयका लोकप्रिय गायकमध्ये पर्छन् । उनी नेपाल आइडल प्रतियोगितामा फस्ट रनरअप समेत बनेका थिए । ऋचा भने मोडलिङ क्षेत्रमा सक्रिय छिन् ।
यी दुईले वि.सं. २०७७ साउनमा कानूनी बिहे गरेका थिए । दुई वर्षपछिको प्रेम सम्बन्धलाई कानूनी रुपमा बिहेमा परिणत गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया