काठमाडौँ – नायकत्रय आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको अभिनय रहेको फिल्म ‘पुजार सार्की’को प्रदर्शन मिति घोषणा भएको छ । निर्माण टिमले शुक्रबार दुई पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेको हो।
सार्वजनिक पोस्टरमा आगामी वर्ष २०८१ जेठ १० गते बिहीबार बुद्ध जयन्तीको दिन विश्वव्यापी रिलिज हुने उल्लेख छ ।
सार्वजनिक पोस्टर मध्ये एउटामा पल शाह पर्खालमा बसेर केही भनिरहेका छन् भने अर्कोमा पोस्टरमा निधारमा रातो टिका लगाएका अभिनेता प्रदीप खड्काले दमाहा बजाइरहेका छन् । जहाँ अभिनेताद्वय आर्यन सिग्देल र पल शाह आ–आफ्नो चरित्रमा देखिन्छन् ।
जातीय विभेद विरुद्धको संघर्ष रहेको बताइएको यो फिल्मको पोस्टरले आर्यनलाई भलाद्मी, पललाई नेतृत्वदायी र प्रदीपलाई केही निर्धो भूमिकामा चित्रण गरिएको छ। पोस्टरले यी तीन पात्र साथी रहेको बुझ्न सकिन्छ ।
समीक्षात्मक तथा व्यावसायिक दुवै हिसाबले उत्कृष्ट बनाउने योजनामा रहेका निर्देशक राउतले यो फिल्मलाई जातीय विभेद विरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथा रहेको बताएका छन् ।
यस फिल्ममा अभिनेत्रीद्वय अञ्जना बराइली र परीक्षा लिम्बुले पनि प्रमुख भूमिकामा अभिनय गरेका छन् । सार्वजनिक दुवै पोस्टरमा अभिनेत्रीहरू भने छैनन् ।
फिल्ममा यी बाहेक मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि यस फिल्ममा अभिनय रहेको छ ।
विकास सुवेदीले लेखेको यो फिल्मलाई सङ्गीतकार सुवास भुसालले निर्माण गरेका हुन्।
राजेश श्रेष्ठको डिओपी रहेको ‘पुजार सार्की’लाई सुप्रिम पराजुलीले सम्पादन तथा कलर ग्रेडिङ गरेका छन् ।
साउण्ड डिजाइन उत्तम न्यौपाने, ब्याकराउण्ड स्कोर शैलेश श्रेष्ठ, कस्ट्युम डिजाइन आशिष पौडेल, प्रोडक्शन डिजाइन कसम नेपाल, प्रोडक्शन कन्ट्रोल मनोज जोशी र प्रोडक्शन व्यवस्थापन विदुर मानन्धरको रहेको छ।
किङ्गडम नेटवर्कको ब्यानरमा बनेको यो फिल्म आरआर फिल्मसले वितरण गर्दै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया