काभ्रेपलान्चोक – काभ्रेपलान्चोकको ऐतिहासिक तथा सांस्कृतिक सहर पनौतीको सम्पदा र परम्परागत सीप संरक्षण गर्न पनौती पर्यटन विकास केन्द्रले अभियान सुरु गरेको छ ।
केन्द्रले नयाँ पुस्तालाई मार्गदर्शन गर्ने उद्देश्यले पनौती–७ त्रिवेणी घाटमा सम्पदा झल्कने कलात्मक भित्तेचित्र लेखन तथा महिलालाई परम्परागत सामग्री बुन्ने तालिम दिएको छ ।
त्रिवेणीघाट मन्दिर परिसरको घरका भित्ताले सम्पदास्थल कुरूप झैँ देखिएको थियो । नगरपालिकाको सुझावलाई आधार मानी विकास केन्द्रले मकर मेला र पनौतीको सम्पदा झल्किने भित्तेभित्र तयार पारेको छ ।
केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्माचार्यका अनुसार विज्ञको सल्लाहमा नमुना तस्बिर तयार पारेर भित्तेभित्र बनाउन लगाइएको हो । बागमती प्रदेश सरकारको सहयोगमा चित्रकार आयुस बज्राचार्य नेतृत्वको टोलीले पनौतीको धार्मिक, ऐतिहासिक र पुरातात्विक इतिहास झल्किने आकर्षक भित्तेभित्र कोरेका छन् ।
पनौतीका साहित्यकार सूर्यप्रसाद लाकाजुले पनौतीको सम्पदा झल्कने र परम्परागत सीप नयाँ पुस्तालाई हस्तान्तरण गर्ने काम भएको बताए ।
भित्ते चित्रको परम्परा निकै प्राचीन रहेको उल्लेख गर्दै उनले ब्रम्हायणी मन्दिर र त्रिवेणी सत्तलको भित्तेचित्रले पनौतीको ऐतिहासिकता झल्किएको बताए । भित्तेचित्रले मोकिल परम्परा, कलासंस्कृति जोगाउने काम गरेको र आधुनिक कालको इतिहास लेख्न बाँकी रहेको लाकाजुले बताए ।
“रोशी खोला र पुण्यमाता खोलाको बीचमा रहेको त्रिवेणीघाट परिसरमा घरभन्दा मन्दिर बढी छ भन्ने भनाइ छ”, उनले भने , “त्यसको संरक्षण गर्न अब सङ्घसंस्था र स्थानीयवासीले यसरी अभियान थालनी गर्नुको विकल्प छैन ।”
भित्तेचित्रमा पनौती नगरपालिका–६, ७ र ९ को सङ्गमस्थल त्रिवेणी घाटमा लाग्ने बाह्र वर्षे मकर मेला र पनौतीको पौराणिक इतिहास झल्किने कलाकृति तयार पारिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया