काठमाडौँ – सन् १८१४ मा भएको नेपाल–अंग्रेज युद्धमा आधारित फिल्म ‘नालापानी’ पुनः प्रदर्शनमा आउने भएको छ । निर्माण कम्पनी रिमेश अधिकारी फिल्म्सले मंगलबार विज्ञप्ति जारी गर्दै २०८१ साउन १८ गते पुनः रिलिज गर्ने जनाएको छ ।
रिमेश अधिकारी निर्देशित यो फिल्म गत वर्ष कात्तिक ४ गते रिलिज भएको थियो । देशव्यापी विशेष प्रदर्शनको क्रममा देशभक्ति र पुर्खाको लडाइँको ऐतिहासिक कथामा आधारित फिल्मलाई पुनः दर्शकमाझ ल्याउन सबैले सुझाव दिएपछि पुनः प्रदर्शन तय गरिएको विज्ञप्तिमा उल्लेख छ ।
यो फिल्मलाई चलचित्र विकास बोर्डले विशेष फिल्म-२०२० ले पुरस्कृत गरेको थियो । फिल्मले देहरादूनस्थित नालापानी गढीमा भएको अंग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाइँको कथा प्रस्तुत गरेकाे छ ।
फिल्म धनराज कुँवर र रामराजा कुँवरद्वारा लिखित ‘नालापानीका नायक वीर बलभद्र कुँवर’ पुस्तकमा आधारित छ । फिल्ममा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, विशाल पहारी, विजय विस्फोट, पूजना प्रधान लगायतको अभिनय छ ।
फिल्म रिमेश अधिकारी फिल्म प्रोडक्सन, वीर गोर्खाली फिल्म्स, गंगानारायण फिल्म प्रोडक्सन र बीजी बी इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । निर्देशक अधिकारी यतिबेला नयाँ फिल्म ‘कोतपर्व’को तयारीमा जुटेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया