ताप्लेजुङ– ताप्लेजुङका किसान चिराइतो खेतीतर्फ आकर्षित भएका छन् । चिराइतोको बजार मूल्य बढेसँगै उनीहरू यसतर्फ आकर्षित भएका हुन् ।
फक्ताङलुङ गाउँपालिका–६ का केरसी लिम्बू पाँच वर्षपछि पुनः चिराइतो खेती गर्न थालेका छन् । उनीसँग चिराइतो खेतीको लामो अनुभव छ । विगतका वर्षमा चिराइतो खेती नै मुख्य पेसा बनाएका लिम्बू कोभिड–१९ को समयमा यसको बजार मूल्यमा ह्रास आएपछि खेती गर्न छोडेर अन्य पेसामा लागेका थिए ।
फक्ताङलुङ गाउँपालिकाभित्र नै धेरै चिराइतो उत्पादन गर्ने लिम्बूले वर्षमा ६५ मन सम्म चिराइतो उत्पादन गर्थे । लामो समय चिराइतोको बजार मूल्यमा ह्रास आएसँगै बिक्री गर्न समस्या भएपछि अलैँची बगान विस्तार गर्न लागेको उनले बताए । लिम्बूले अहिले १२ रोपनी क्षेत्रफलमा चिराइतो खेती गर्नका लागि तयारी गरिरहेका छन् ।
फक्ताङलुङ–६ लुङथुङका तीर्थ राई अहिले चिराइतो बीउ छर्नमा व्यस्त छन् ।
“चिराइतोको बीउ तयार गरेको छु । अब एक हप्तापछि छर्ने योजना बनाउँदै छु ।” राईले भने, “एक साल त चिराइतो बिक्री नै भएन । त्यसपछि सबैले खेती गर्न छोडेको थियो । तर यस वर्ष गाउँमा नै प्रतिमन रु ४२ हजारसम्ममा खरिद गर्ने व्यापारी आएका थिए । तर चिराइतो नै गाउँमा खासै थिएन ।”
उनीजस्तै अरु धेरै किसान अहिले चिराइतो खेती गर्ने तयारीमा छन् । अहिले बजार मूल्य राम्रो आएकाले उत्साहित भएर गाउँका प्रायः किसान चिराइतो खेती गर्न लागेका छन् ।
चिराइतोका लागि वनजङ्गल तथा झाडी फाँडेर १५ देखि २० दिन राख्नुपर्दछ । त्यसपछि सुकेको झाडीमा आगो लगाउनुपर्दछ । आगो लगाएको ठाउँमा दुई चार दिनपछि चिराइतो छर्नुपर्दछ । चिराइतोसँगै अन्य बालीसमेत किसानले लगाउने गर्दछन् । मकै, घैया, कागुनी, लटेजस्ता रैथाने बाली लगाउने गर्छन् ।
ताप्लेजुङको हिमाली क्षेत्रमा बसोबास गर्ने किसानहरूले चिराइतो खेती गर्दै आएका छन् । फक्ताङलुङ गाउँपालिका, सिरिजङ्गा, सिदिङवा र मिक्वाखोला गाउँपालिका विशेष चिराइतो उत्पादन हुने क्षेत्रभित्र पर्दछ ।
केही वर्ष चिराइतो बिक्री हुनै मुस्किल भएपछि खेती गर्न छोडेका किसान अहिले धमाधम चिराइतो खेती गर्न थालेका छन् ।
डिभिजन वन कार्यालय ताप्लेजुङका अनुसार विगत दुई वर्षको तुलनामा यस वर्ष चिराइतो निकासीमा वृद्धि भएको हो ।
जिल्लामा चिराइतो उत्पादनमा कमी आएको भए पनि पछिल्लो तीन वर्षको तथ्याङ्कअनुसार यस वर्ष निकासीमा वृद्धि भएको छ ।
तुलनात्मक रूपमा यो वर्ष केही परिमाणमा चिराइतो निकासी वृद्धि भएको डिभिजन वन कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया