मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

इलामका किसान व्यावसायिक सुपारी खेतीप्रति आकर्षित

इलाम –  इलामको माई नगरपालिका–९ चिसापानीका किसान श्रीमान् राईले करिब ५० रोपनी जग्गामा सुपारी खेती गरेका छन् । उनको सुपारी बगानमा पाँच हजार बोट छन् ।

“केहीमा फल लागेको छ भने केही फल्ने अवस्थामा छन्”, उनले  भने, “व्यापारी बगानमा नै आएर खरिद गर्ने भएकाले बजारको चिन्ता छैन । काँचो सुपारी बगानबाटै प्रतिकिलो रु ५० का दरले बिक्ने गरेको छ ।” 

घर आँगनका डिलदेखि खेतबारी र पाखामा सुपारी रोपेर आयआर्जन गर्ने बताउँदै उनले नयाँ बोट थप गरी   खेती विस्तार गर्ने योजनामा आफू रहेको सुनाए।

“यस वर्ष सुपारी बेचेर रु तीन लाख आम्दानी भयो, सुपारीले तरकारी र अन्य बालीलाई क्षति नपुर्‍याउने र छहारीको काम गर्ने भएकाले दोहोरो फाइदा लिन सकिन्छ”, उनले भने – “बहु वर्षे नगदे बाली सुपारीको एकै बोटबाट ५० केजीसम्म उत्पादन गर्न हुन्छ, यसलाई अझ विस्तार गर्ने योजनामा छु ।” 

अर्का किसान कृष्ण लिम्बूले पनि  अन्न फल्ने जग्गामा पाँच सय बोट सुपारी रोप्नुभएको छ । करिब १० रोपनी जग्गामा उनले पाँच सय बोट सुपारी रोप्नुभएको हो । थोरै लगानी र कम मेहनतमा नै व्यावसायिक खेती गर्न सकिने भएकाले सुपारी खेती सुरु गरेको उनले बताए । 

“अन्य खेतीजस्तो धेरै मेहनत र लगानी नपर्ने भएकाले सुपारी सुरु गरेको हुँ”,उनले भने , “बिक्रीको चिन्ता छैन, व्यापारी घरमा नै आउँछन्, प्रतिकिलो रु ३० देखि रु ५० सम्ममा बगानबाटै बिक्री हुने गर्दछ ।” उनले यस वर्ष सुपारी खेतीबाट रु एक लाख आम्दानी गरेको सुनाए । 

छिमेकीले सुपारी खेतीबाट मनग्ये आम्दानी गरेपछि अर्का किसान चक्र येक्तेनले पनि व्यावसायिक सुपारी खेती शुरु गरेका छन् । 

 ‘माम्मा फिपरानी स्मृति कृषि तथा पशुपालन फार्म’ दर्ता गरी करिब १५ रोपनी जमिनमा सुपारी खेती गरेका उनले एक हजार सुपारीका बोट लगाएका छन् । 

“मैले १५ रोपनी जग्गामा एक हजार बोट सुपारी रोपेको छु, बिरुवा हुर्कँदै छन्”, उनले भने, “नयाँ बगान भएकाले फल भने लागेको छैन ।”

यहाँका करिब ७० घर किसानले व्यावसायिक रूपमा सुपारी खेती गर्दै आएका छन् । कम मेहनत र थोरै लगानीमा नै मनग्ये आम्दानी हुने भएपछि चुरे क्षेत्रका किसान व्यावसायिक सुपारी खेतीमा आकर्षित भएका छन् ।

बाँझो  जग्गा सदुपयोग गर्दै किसानले व्यावसायिक रूपमा सुपारी खेती सुरु गरेका हुन् । उनीहरूले खेतबारी र पाखामा सुपारी रोपेर आयआर्जन गर्न थालेका हुन् ।

सुपारीले अन्य बाली लगाउन असर नगर्ने भएकाले यसप्रति किसानको आकर्षण बढेको हो । प्रायः सबै परिवारले सुपारी खेती गर्न थालेको स्थानीय तीर्थ साउदेनले बताए । 

इलाममा सुपारीको खेती विस्तार आएको छ । यस वर्ष इलाममा छ सय १० मेट्रिक टन सुपारी उत्पादन भएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख रामजुगल यादवले जानकारी दिए ।

इलाममा दुई सय हेक्टर क्षेत्रमा व्यावसायिक सुपारी खेती हुँदै आएको यादवले बताए ।

जिल्लाको माई नगरपालिकाका बोरुङ, चिसापानी, दानाबारी, महमाई, माङसेबुङ गाउँपालिकाका बाँझो, सिङफेरे, मार्चेबुङ, रोङ गाउँपालिका र चुलाचुली गाउँपालिकाका किसानले सुपारीको व्यावसायिक खेती गर्दै आएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?