काठमाडौँ– निर्देशक मिन बहाुदर भामले राज्यले नेपाली फिल्म उद्योगलाई चासोका साथ नदिएको बताएका छन् ।
काठमाडौँमा जारी सातौँ नेपाल इन्टरनेशनल फिल्म फेस्टिभलमा बोल्दै उनले यस्तो बताएका हुन् ।
निर्देशक भामले केही दशक अघिसम्म सरकारले नै नेपाली फिल्म निर्माणका लागि लगानी गरे पनि अहिले भने त्यस्तो नगरेको बरु उपेक्षा गरेको बताए ।
‘पहिले नेपालमा सरकारले नै सिनेमा बनाउन पैसा दिन्थ्यो, कुनै राम्रा सर्जक छन् भने उनीहरुलाई प्रोत्साहन गर्थ्यो तर अहिले व्यक्तिको गोजीको पैसामा निर्भर हुने अवस्था आइसक्यो,’ उनले भने ।
उनले राज्यले कम मात्रामा भए पनि फिल्म क्षेत्रमा लगानी गरे पनि अहिले त्यो अवस्था नरहेको र व्यक्तिको गोजीको पैसामा फिल्म बन्ने देशमा अमेरिका, भारत र चीनपछि नेपाल पर्ने पनि बताए ।
उनले राज्यले कलाकारलाई देशका गहना भने पनि केही नगरेको तर्क गरे । ‘राज्यको अपनत्व नहुने चीजमा कलाकारले देशका गहना हुन् भन्ने मात्र सोचेर भएन,’ उनले भने ।
साथै उनले नेपालमा सेन्सर बोर्डले अनावश्यक रुपमा फिल्ममा सेन्सर थोपरेको र राज्य फिल्म उद्योगमा मात्र नभएर साहित्य, सिनेमा, संगीत र कलाप्रति नै उत्तरदायित्व नभएको बताए ।
साथै उनले अरु देशमा सामर्थ्य हुने व्यक्तिलाई मौका दिइने गरे पनि नेपालमा त्यो अवस्था नरहेको पनि बताए । साथै राज्यले सेन्सरका नाममा समग्र फिल्म उद्योगलाई नै झनै साँघुरो बनाउन खोजेको पनि बताए ।
‘जुन देशमा बस्यो, त्यही देशको कानून मान्दिनँ भन्नुपर्दाको कठोरता निकै कठिन हुन्छ, म त्यस्तो देशको मेकर हुँ, जहाँ सिनेमा सेन्सर हुँदैन भन्न पाउने दिन कहिले आउला भनेर सोँच्छु,’ उनले भने ।
उनले अगाडि भने, ‘सरकारले जनतालाई भन्नुपर्ने कुरा हामीले भन्दिनुपर्ने? उहाँहरुका सारा एजेन्डा हामीले बोकिदिनुपर्ने?’
विश्वभर नै सेन्सर अझै खुकुलो बनाउने विषयमा बहस भए पनि नेपालमा झनै लाद्न खोजिएको जस्तो आफूलाई लागेको उनले बताए ।
साथै उनले आफूले सिनेमाप्रतिको साधनाले गर्दा यही क्षेत्रमा लागेको बताए ।
‘म किन सिनेमा बनाउँछु भने, पहिलो नम्बरमा मेरा लागि सिनेमा साधना हो, त्यसपछि दोस्रोमा कर्म र त्यसपछि मात्र पेशा हो,’ उनले भने ।
निर्देशक भामले निर्देशन गरेको फिल्म ‘साम्बाला’ बर्लिन फिल्म फेस्टिभलको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको विधामा छनोट भएको छ ।
उनले यसअघि निर्देशन गरेका फिल्म ‘कालो पोथी’ र ‘बाँसुल्ली’ ले पनि विभिन्न अन्तर्राष्ट्रिय फेस्टिभलमा सहभागिता जनाएर निकै ख्याती कमाएका छन् ।
यो पनि पढ्नुहोस्: मैले निर्माण गरेका सिनेमालाई धेरैले डकुमेन्ट्री हो भनेर सोध्छन्ः मीन भाम
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया