काठमाडौँ– काठमाडौँको भृकुटीमण्डपस्थित सातौँ नेपाल इन्टरनेशनल फिल्म फेस्टिभलमा पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र अभिनेता राजेश हमालबीच आज (शुक्रवार) ‘सिनेमा संवाद’ भयो ।
झण्डै दुई घण्टा लामो संवाद मा ओली र हमालबीच धार्मिक, साहित्यिक र राजनैतिक, आध्यात्मिक लगायतका विविध विषयमा बहस भयो । कार्यक्रममा सिनेमाका बारेमा बहस केन्द्रित हुने भनिए पनि अन्य विषयले प्रवेश पाउँदा यी दुई शीर्षस्थ व्यक्तिको कुराकानी झनै रोमाञ्चक भएको थियो ।
सिनेमा संवादको शुरुमै अभिनेता हमालले सबै शीर्षस्थ नेताहरुसँग भेट भए पनि ओलीसँग बढी भेट भएको बताए । कार्यक्रमको शुरुमै हमालले केपी ओलीसँग ‘सिनेमा संवाद’ सान्दर्भिक हुने पनि बताए ।
थोरै भूमिका बाँधेपछि राजेश हमालले ओलीलाई सोधे– कला के हो र यसलाई कसरी लिनुभएको छ?
ओलीले कला मानव जीवनसँग सम्बन्धित रहेको बताए । ‘मानिस जङ्गली युगबाट अहिलेको युगमा आउनु पनि कला हो,’ ओलीले भने ।
ओलीले मानव जीवनको शुरुवात हुँदादेखि नै कृषि कसरी गर्ने, पशु पालन गर्ने पनि कला भएको बताए । उनले जङ्गली जनावरलाई तालीम दिएर घरपालुवा बनाउनु पनि एक खाले कला भएको तर्क गरे । त्यसबाट नै पशुपालनको विकास भएको पनि ओलीले बताए ।
‘जीवनको कला भनेको सिकाइ हो,’ ओलीले भने ।
उनले मानव जीवनको पहिलो चेतना नै कला भएको तर्क गरे । मानिसको पहिलो चेत सुरक्षा हो र त्यो हरेक जीवमा हुने पनि उनको धारणा थियो । ‘कलाको अर्थ र महत्त्व जीवनसँग बाँच्ने इच्छाबाट नै शुरु हुन्छ,’ उनले भने ।
ओलीले ‘कला’ मानिसजस्तो सचेत प्राणीका लागि अत्यन्त महत्त्वपूर्ण भएको पनि धारणा राखे ।
उनको कुरामा सहमति जनाउँदै राजेश हमालले भने– तपाईँले ठीक भन्नुभयो । चाहे मान्छे होस्, चाहे अन्य जीव या प्रकृति नै किन नहोस् ती सबैको शैलीमा कुनै न कुनै किसिमको कला त झल्कि नै हाल्छ । तर, त्यो बाहेक सिनेमा, साहित्य, चित्रकला लगायतका कलालाई कसरी हेर्नुहुन्छ?
ओलीले भने– कुनै पनि वस्तुलाई सुन्दर ढंगले प्रस्तुत गर्नु नै एउटा कला हो । काठको झ्याल बनाउन सकिन्छ, कलात्मक कि सोझै?
ओलीले मानव जीवनका विभिन्न पक्षहरुलाई कलासँगै विकास गर्दै आइरहेको पनि बताए । समग्रमा उनले मानव जीवनको हरेक पक्षलाई कलाका रुपमा परिभाषित गरे ।
संवादका क्रममा हमालले कलामा भावनाको कुरा आउने तर राजनीतिमा भावनाले काम गर्छ कि बौद्धिकताले काम गर्छ भनेर प्रश्न गरेका थिए ।
ओलीले यसको उत्तरमा भने– जीवन यथार्थ हो, समाज यथार्थ हो । अवस्था जे छ त्यो यथार्थ हो तर कला परिकल्पना, कथा र अभिनय हो । जीवन अभिनय गरेर चल्दैन । फिल्ममा नखाए पनि खाएको अभिनय, नलडे पनि लडेको अभिनय गरेर, नभए पनि भएको अभिनयले चल्छ भने जीवन त्यसरी चल्दैन ।
ओलीले अगाडि थपे– राजनीतिमा त्यस्तो हुँदैन ।
महान् चित्रकार पाब्लो पिकासोको भनाइ सापटी लिँदै हमालले ओलीलाई सुनाए, ‘कला यस्तो झुट हो, जसलाई अवलोकन गर्ने व्यक्तिले आफ्नो सत्यता पत्ता लगाउँछ, कला झुटको खेती नै हो, त्यसपछि व्यक्तिले आफ्नो सत्यता पत्ता लगाउँछ, सिनेमा हेर्दा दर्शकलाई लाग्छ कि, यो झुट हो भने हेर्ने व्यक्तिले त्यहाँ देखाइएका भावनामा पनि व्यक्ति बग्न थाल्छ, झुटको खेती भन्ने थाहा हुँदाहुँदै पनि दर्शक रुन पनि सक्छ, हाँस्न पनि सक्छ,’ तपाईं यसलाई कसरी लिनुहुन्छ?
ओलीले सिनेमाको कथालाई झुट भन्न नहुने बरु अभिनय र कथा भन्नुपर्ने तर्क गरे ।
‘मलाई के लाग्छ भने सिनेमा र कलालाई झुट भन्दिनँ, कथा र अभिनय भन्न रुचाउँछु, महाभारत कथा हो, मान्छे यस्तो गरेर भक्ति मार्गमा बसिरहेको हुन्छ,’ ओलीले भने, ‘त्यतिबेला भगवत् गीता सुनिरहेको हुन्छ, तपाईँले कथा सुन्दै हुनुहुन्छ भनेर भनिरहेका छन्, पण्डितले कथा भन्दा पनि मैले म प्रत्यक्ष भगवान् ठानिरहेको छु ।’
ओलीले महाभारत एक महाकाव्य भएको पनि बताए ।
संवादका क्रममा उनले भने ‘युद्ध त अलिअलि भए होला, तर महाभारत एउटा महाकाव्य हो, महाभारतलाई यस्तो गरी यसको रचना गरिएको छ कि, हामीले विश्वास गर्छौँ ।’
अभिनेता हमालले यी सबै कथाहरुलाई भावनाका कथा भएको र धर्म पनि भावनासँग जोडिएको बताएका थिए ।
‘कसैले भगवान् शिव कैलाशमा छ भने त्यहाँ कोही गएर जीपीएस लगाएर खोजिए पनि जे गरे पनि भगवान् छैन भने पनि भावनात्मक रुपमा जोडिएको व्यक्तिले त्यो मान्नेवाला छैन,’ हमालले भने ।
उनको कुरा सकिन नपाउँदै ओलीले भने, ‘उसले त भन्छ नि, तिमी पापी थियौ, त्यसकारण भेटेनौ ।’
ओलीले आफैले सबै चीज बनाउने तर्क गरे । उनले मान्छेले नै सबैथोक बनाएको पनि बताए ।
‘मान्छे यस्तो चीज हो, मान्छेले नै सबै चीज बनाउँछ, भूत पनि बनाउँछ भगवान् पनि बनाउँछ,’ उनले भने ।
उनले मानिसले जे विश्वास गर्यो त्यही हुने आशयको तर्क समेत प्रस्तुत गरे । उनले दर्शन अनुसार यथार्थ पनि फरक हुने तर्क गरे ।
ओलीले कथालाई यथार्थ सोचेर मानिसले त्यही अनुसारको व्यवहार गर्ने गरेको बताए । उनले भने, ‘एउटा मुसाको बच्चालाई भूतले जङ्गलमा खान सक्छ?, हरिणको पाठोलाई बाघले खाला, स्यालले खाला तर भूतप्रेतले खाएको छ?’
ओलीले मान्छेले आफैले निर्माण गरेको फिक्सन (कल्पना) मा आफै डराएको दाबीसमेत गरे । उनले भावनालाई मानिसले कथाको रुप दिने गरेको पनि बताए ।
संवादको सिलसिला रोचक हुँदै जाँदा पछि भने ओली र हमालबीच अझ रोमाञ्चक बहस हुँदै गयो, जब उनीहरूको संवाद कलाबाट थोरै दर्शन र राजनीतितर्फ छिर्यो ।
संवादका सिलसिलामा अभिनेता हमालले धर्म, साहित्य, फिल्मदेखि दर्शनसम्म सबैलाई कथाका रुपमा परिभाषित गरे । उनले भने, ‘हामी कुनै न कुनै कथाको छातामुनि छौँ, चाहे हामी राजनीतिक कथाको होस् या त कुनै धार्मिक कथाको होस् ।’
हमालले कुनै न कुनै कथाको बन्धनमा समाज नै बाँधिएकाले कथालाई नकार्न नमिल्ने तर्क गरे । त्यसमा ओलीले थपे, ‘त्यसैले कथाका पछि लाग्नु हुँदैन, जीवनका पछि लाग्नुपर्छ ।’
त्यसमा हमालले सोधे, ‘जीवन सञ्चालन गर्नका लागि पनि त त्यसमाथि एउटा कथा छ ।’
‘कथा मान्छेले बनाएको हो नि, नयाँ कथा सिर्जना किन नगर्ने, मानवतावादी कथा किन नबनाउने?,’ ओलीले हमालमाथि प्रतिप्रश्न गरे ।
‘मैले त्यही त भनेँ नि, एउटै किसिमको कथा भन्नुपर्दैन,’ हमालले भने ।
‘आउँछ, अवश्य आउँछ, त्यसका लागि अनुमानित कथा हुनुहुँदैन,’ ओलीले भने ।
ओलीले नयाँ कथा कोर्नुपर्ने, सामाजिक न्यायका कथाहरु लेखिनुपर्ने भनेपछि हमालले भने, ‘बराबरीका हिसाबका कथा त समाजमा कहिल्यै हुनै सक्दैन ।’
ओलीले अहिले सम्भव नभए पनि कुनै दिन सम्भव हुने बताएका थिए । त्यसपछि हमालले तत्कालै प्रश्न तेर्स्याए, ‘मानव जीवनको अहिलेसम्म सम्भव नभएको कुरा अब कहिले हुन्छ भन्दै हुनुहुन्छ?’
‘धेरै गम्भीर प्रश्न उठाउनुभयो तपाईँले,’ ओलीले अगाडि थपे, ‘पन्ध्र हजार वर्ष अगाडिसम्म सम्भव नभएको पशुपालन कृषि लगायत…’
यत्ति भन्दै गर्दा हमालले प्रतिप्रश्न गरे, ‘त्यो त मानिसको चेतनाको विकासको प्रतिफल होला नि त मानवीय समानता भनेको त अर्कै कुरा होला ।’
‘सुन्नु न । सुन्नु न ।,’ ओलीले अगाडि थपे, ‘पन्ध्र हजार वर्ष अगाडिसम्म त मान्छे जङ्गली अवस्थामा नै थियो, त्यसबाट पशुपालनमा आयो, बिस्तारै उद्योगमा आयो, एक सय बीस वर्षमा त यत्रो परिवर्तन आयो त ।’
फेरि हमालले तत्कालै सोधिहाले, ‘यो त समानता भएन नि ।’
‘हामीले जे कथा भइरहेका छन्, त्यसैलाई स्वीकारेर बस्यौँ भने त नयाँ सिनेमा पनि बन्ने भएन, अहिलेसम्म नभएको कुरा किन बनाउने,’ ओलीले अगाडि थपे, ‘अहिलेसम्म नभएको पनि गर्दै जानुपर्छ, मानव जातिलाई अझै राम्रो बनाउँदै लाने कथा भन्नुपर्छ ।’
ओलीको प्रतिउत्तरमा हमालले सोधे, ‘भनेपछि मानव जाति भोलि भोलि भन्दै आशामै बसिरहन्छ ?’
त्यसको उत्तरमा ओलीले भने, ‘होइन, आजबाट थाल्नुपर्छ नि ।’
हमालले भने, ‘त्यही त । आजबाट थाल्नुपर्यो ।’
‘आजबाट थाल्ने चेतना छ भने त्यसो भए हिजोबाट हामीले किन थालेनौँ त?,’ हमालले पुनः प्रश्न गरे ।
हलमा उपस्थित दर्शक गलल हाँसे ।
त्यसपछि ओलीले उत्तर दिए, ‘हिजोबाट सम्भव थिएन ।’
हमालले फेरि प्रश्न राखे, ‘हिजोबाट थाल्दा सम्भव नभएको कुरा भोलिबाट कसरी सम्भव हुन्छ?’
हमालको यो प्रश्न पनि दर्शकलाई घत परेको थियो । एकछिन हलभरि हाँसो फैलियो ।
त्यसपछि ओलीले भने, ‘उहिले उहिले सम्भव नभएको कुरा पशुपालन, कृषि कसरी सम्भव भयो, त्यसपछि औद्योगिककरण कसरी शुरु भयो?’
‘मानवीय सभ्यतामा विकास, आविष्कारको चरण सम्भव त छ नै, तर ती कुराले मानवीय समाजमा समानता ल्याउने कुराको त कुनै उत्तर दिएको छैन,’ हमालले पुनः प्रश्न गरे ।
उनले अगाडि भने, ‘कृषिमा मानवीय सभ्यताले तर कोही धेरै अन्न पाउने भए, कोही थोरै अन्न पाउने भए, त्यो विभाजित गरिदियो, औद्योगिकरण त आयो, तर कोही मालिक भए, कोही मजदुर भए, राइट ब्रदरले हवाइजहाज बनायो, कोही हवाइजहाज चढ्ने हैसियतमा गए, कोही गएनन् ।’
हमालले विकास हरेक चरणमा हुने र हवाइजहाज चढ्ने युग पुरानो भइसकेको बरु अहिलेको युग एआईको भएको पनि बताए । त्यसपछि उनले ओलीलाई सोधे, ‘अहिले पनि समानताका कुरा गर्छौँ, भोलि गर्नेछौँ, त्यो हुँदैन ।’
‘प्रविधिको क्षेत्रमा विकास हुन्छ, सामाजिक न्याय र समानताको क्षेत्रमा विकास हुँदैन भन्ने होइन कि, सबै क्षेत्रमा विकास हुन्छ, मार्टिन लुथर किङ रंगभेदको विरोध गर्दा गोली खाएर मर्नुपरेको थियो, अहिले अमेरिकामा त मार्टिन लुथर किङको सपना पूरा भयो नि त,’ ओलीले भने ।
तत्काल हमालले प्रतिप्रश्न गरे, ‘भयो र मलाई त लाग्दैन, मलाई त अझ जटिल भएजस्तो लाग्छ ।’
केपी ओलीले कुरा काट्दै फेरि थपे, ‘एउटा स्कूलमा पढ्न पाउँदैनथे, राम्रोसँग खान पाउँदैनथे ।’
‘त्यो बेलामा के थियो भने, त्यतिबेला यो वर्ग यसरी जिउनुपर्छ, यो वर्ग यसरी जिउनुपर्छ भनेर ब्ल्याक एण्ड ह्वाइट थियो, तर आज जटिल किन भएको छ भने सतही तहमा हामी सबै बराबर हौँ भनिरहेका छन् तर व्यवहार र आचरणमा त्यो बेलाको भन्दा पनि भेदभाव देखिरहेको छ,’ हमालले फेरि ओलीको कुरा सकिन नपाउँदै अगाडि थपिहाले ।
ओलीले यसको स्पष्टीकरण दिँदै भने, ‘एउटै रेष्टुरेन्टमा खाना खान, एउटा विद्यालयमा चढ्न नपाउने अवस्था त अन्त्य भएकै हो नि त ।’
ओलीले नेल्सन मण्डेला २७ वर्ष जेल बसेको बताउँदै उनले त्यतिबेला गरिने ‘रङ्गभेद’ को अन्त्य भएको बताए । उनले तत्कालीन समय उल्टिएको नभएर सच्चिएको बताए ।
ओलीको कुराको बीचमा रोक्दै हमालले उल्टिएको नभएर ‘भेदवाभ’ को अर्को स्वरुप भएको बताए । उनले अर्को दृष्टिकोणबाट, जस्तो कि आर्थिक दृष्टिकोणबाट भेदभाव भइरहेको हुनसक्ने तर्क प्रस्तुत गरे ।
हमालले भने, ‘कुनै न कुनै हैसियतमा प्रत्यक्ष रुपमा शासन नगरे पनि कुनै न कुनै हैसियतमा गरेको छैन जस्तो लाग्छ तपाईंलाई?’
‘अवेशषहरु रहनु भनेको बेग्लै कुरा हो,’ ओलीले भने, ‘कोही पनि हवाइजहाज चढ्न पाउँदैनथ्यो, अहिले थुप्रैले त चढ्छन् नि आज, अब सबैलाई चढाउने बनाउनुपर्छ, एक सय वर्षअघि कोही मान्छे गाडी चढ्दैनथ्यो, अहिले धेरै त गाडी चढ्ने भएका छन् नि ।’
हमालले भने, ‘यथार्थ के छ भने तपाईंले प्लेन चढ्न पाउनुपर्छ भनेर भन्नुभयो, गाडी र प्लेनको त कुरा छोड्नुस्, एउटा न्यापकिन पनि विश्वभरका मान्छेले न्यापकिन प्रयोग गरे भने त्यो न्यापकिन बनाउन पृथ्वीजस्ता अरु सातवटा ग्रह चाहिन्छ ।’
उनले अगाडि थपे, ‘अमेरिकामा व्यक्तिले हरेकपटक नुहाउँदा प्रत्येक व्यक्तिले जति खर्च गर्छ, विश्वका प्रत्येक व्यक्तिले त्यत्तिकै खर्च गर्ने हो भने यो ब्रह्माण्डको पानीले पुग्दै पुग्दैन ।’
हमालले संसारभर विकासमा एकरुपता ल्याउन नसकिने तर्क गरेपछि ओलीले त्यसका पनि विभिन्न वैकल्पिक व्यवस्था हुनसक्ने तर्क गरे ।
केही छिनको यसबारेको बहसपछि केपी ओलीले हमाललाई भने, ‘कलासम्बन्धी तपाईंको र मेरो धारणा पनि मिल्छ, राजनीतिमा पनि तपाईंको र मेरो धारणा मिल्छ, अनि फरक के भयो त अनि?’
‘केही फरक त छैन नि, कलासँग पनि तपाईँसँग म सहमत छु, राजनीतिमा पनि तपाईँ मसँग असहमत हुने कुरै छैन,’ ओलीले यसो भन्दा हलमा उपस्थित दर्शकबीच हाँसो फैलिएको थियो ।
ओलीको जवाफमा हमालले भने, ‘राजनीतिमा तपाईँको र मेरो दृष्टिकोण एउटै आयो भनेर त म कहाँ भन्न सक्छु र तपाईँको महानता हो, तपाईँले सोच्नुभयो तर मलाई तपाईँको धारणासँग आउनुपर्छ भन्ने छैन ।’
‘हैन, आइहाल्छ भन्ने छैन, खाली दृष्टिकोण मिल्ने कुरा हो,’ ओलीले भने ।
संवादका सिलसिलामा ओलीले छिमेकी मुलुक चीनमा केही दशकयता गरीबी नै अन्त्य भएको बताए ।
हमालले थपे, ‘हो र? मलाई त विश्वास छैन ।’
ओलीले तत्काल जवाफ फर्काए, ‘म हेर्न पठाइदिऊँ?’
ओलीले विश्वले भनेको कुरालाई विश्वास गर्नुपर्ने तर्क गरे । यी दुईको संवाद शुरुमा अल्छीलाग्दो भए पनि कुराकानी अगाडि बढ्दै जाँदा रोचक हुँदै गएको थियो ।
हमालले भने, ‘चीनले गरीबी हटाएको भन्नेमा मैले विश्वास गरेको छैन, यिनीहरुले विश्वका उनीहरुको रायमा किन जानुहुन्छ? आफ्नो दृष्टिकोण राख्नुस् ।’
ओलीले फेरि थपे, ‘मैले खाना खाएर आएँ भन्नुभयो भने मैले पत्याउने कि नपत्याउने?’
हमालले जवाफ दिए, ‘त्यसरी मिल्दैन, मैले खाएर आएको विश्वास नलागे त त्यसको प्रमाण खोज्नुहुन्छ होला नि ।’
कुराकानी अगाडि बढ्दै जाँदा यी दुईको बहसको ग्राफ पनि अगाडि बढ्दै गइरहेको थियो । हमालले आफूले नदेखेको कुरामा पूर्ण रुपमा विश्वास गर्न नसकिने बताएका थिए भने ओलीले बुझाउने प्रयास गर्दै थिए ।
संवादका क्रममा ओलीले भने, ‘अमेरिका छ भन्थे मैले पत्याएको थिएन गएर हेरेको छ रहेछ ।’
ओलीको यो तर्कले हलमा फेरि हाँसोको माहोल बनाएको थियो ।
कुराको विषयवस्तु मोड्दै हमालले ओलीलाई सोधे, ‘तपाईँमा सेन्स अफ ह्युमर कत्तिको छ?’
ओलीले भने, ‘अलिअलि ।’
‘तपाईं र मेरो दुवैको जोक्स बन्छ, ट्रोल बन्छ, कसरी लिनुहुन्छ?,’ हमालले सोधे ।
‘म के ठान्छु, आलोचना गर्ने मान्छेको, यदि तपाईँले केही नगरेको भए, तिनको निगरानी कसले गर्छ? कसले थाहा पाउँछ?, राजेश हमाल भएकाले राजेश हमाल महानायक हो कि होइन भन्ने रहेछन्, कुनै हालतमा मान्दिनँ भन्दा रहेछन्, कसैले आग्रह राख्दा रहेछन् ।,’ ओलीले भने ।
उनले अगाडि थपे, ‘बाँकी कुरा भनेको जीवन भनेको कुनै दुःखपूर्ण ढंगले बिताउने कुरा होइन । परिवारले दालभात बनाउन पनि जानेको छैन, पिज्जा खोजेर हुन्छ?’
‘जीवनमा रस त चाहिन्छ,’ हमालले ओलीको कुरामा सहमति थपे ।
‘कुनै धार्मिक समुदायतिर लाग्नुभएको छ कि के हो?,’ ओलीले सोधे ।
‘हैन हैन ।,’ हमालले भने ।
त्यसपछि हमालले सिनेमा हेर्ने दर्शकको अपेक्षा फरक फरक हुने कुरा बताए । उनले दर्शकले मानसिक, बौद्धिक, भावनात्मक र शारीरिक हिसाबले निर्माण गरिएका फिल्म दर्शकले मन पराउने गरेको पनि बताए ।
‘यी कुराबाट फिल्म दर्शकले मन परा एभने फिल्म मन पर्ने रहेछ, यो फिल्म चाहिँ क्या बनेछ यार, चारवटै चीजलाई तरंगित पार्ने लगभग असम्भव छ, फिल्मले बौद्धिकतालाई खलबलाउने मान्छेले, भावनामा बग्न चाहनेलाई त्यो फिल्म बोरिङ पनि लाग्न सक्छ, कोही भावनात्मक हुँदा कस्तो खाली शारीरिक पक्ष मात्र तरंगितभ यो भने पनि फिल्म मन पर्ला,’ हमालले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया