मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रुकुम पश्चिममा दुई करोड ५० लाखको मह उत्पादन

रुकुम पश्चिम – रुकुम पश्चिममा यस वर्ष २१ मेट्रिकटन मह उत्पादन भएको छ । विगतका वर्षभन्दा यस वर्ष महको उत्पादन बढेको हो । किसानले मह बेचेर रु दुई करोड ५० लाख कमाइ गरेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख मीनबहादुर केसीले जानकारी दिए ।

जिल्लाको बाँफिकोट गाउँपालिका, आठविसकोट नगरपालिका, सानीभेरी गाउँपालिका, मुसीकोट नगरपालिका र त्रिवेणी गाउँपालिकामा मह उत्पादन हुँदै आएको छ । किसानले प्रतिकिलो रु एक हजार दुई सयमा मह बेचेका छन् ।

मौरीले मह लगाउने याममा वर्षा नभएका कारण मह उत्पादन बढेको प्रमुख केसीले बताए । जिल्लामा उत्पादन भएको मह काठमाडौं, दाङ, नेपालगञ्जसम्म पनि निर्यात भएको छ । “चिउरीको फुलबाट मौरीले लगाएको मह निकै राम्रो र औषधियगुण भएका कारण पनि रुकुम पश्चिममा उत्पादन भएको महको माग निकै छ, जिल्ला बाहिरबाट महको माग निकै आउने गरेको छ, यस वर्ष जिल्लामा राम्रो मह उत्पादन भएका कारण पनि बाहिरी जिल्लामा किसानले धेरै मह पठाउनुभएको छ”, प्रमुख केसीले भने ।

जिल्लाको बाँफिकोट गाउँपालिका र सानीभेरी गाउँपालिकामा मौरी ब्लक विकास कार्यक्रम मार्फत जिल्ला कृषि विकास कार्यालयले किसानलाई सहयोग गरिरहेको छ । पालिकाहरुमा किसानको आवश्यकताअनुसार सहयोग भइरहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जिल्लामा दुई सय किसानले मह उत्पादन गर्ने गरेका छन् ।

जिल्लामा आधुनिक घार र मुढेघारमा मह उत्पादन हुँदै आएको छ । पछिल्लो वर्ष आधुनिक घारको प्रयोग बढ्दै गएको कृषि विकास कार्यालयले जनाएको छ । मह उत्पादनबाट राम्रो आम्दानी हुन थालेपछि किसान मौरीपालन व्यवसायमा आकर्षित हुँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?