मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेपालले जोर्डनसँग उपाधिका लागि आज प्रतिस्पर्धा गर्ने

काठमाडौँ – अन्तर्राष्ट्रिय प्रतियोगितामा उपाधिबिहीन नेपाली महिला राष्ट्रिय फुटबल टोली आज पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रदैछ । नेपाली टोली समूह चरण र सेमिफाइनलमा देखाएको उत्कृष्ट खेल कौशललाई फाइनलमा पनि निरन्तरता दिँदै उपाधिबिहीन यात्रामा पूर्णविराम लगाउने दाउमा छ । 

 तर प्रतियोगिताको बलियो टोली जोर्डनविरुद्धको खेल भने नेपालका लागि पक्कै पनि सहज हुने छैन । साउदी अरबको प्रिन्स अब्दुल्लाह अल फैसल स्पोट्र्स सिटी रङ्गशालामा हुने फाइनलमा दुवै टोली उपाधिका उत्तिकै दाबेदार मानिएका छन् ।  

त्यसैमाथि टोलीको मुख्य खेलाडी सावित्री भण्डारी ‘साम्बा’को अनुपस्थितिको भरपाई सहज नहुनसक्छ । नेपाली टोलीलाई फाइनलसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेकी साम्बाको ठाउँ कस्ले लिने भन्ने चिन्ता पनि थपिएको छ । 

साम्बा एन अभान्ट ग्वेंगाम्पसँगको व्यावसायिक सम्झौताका कारण फ्रान्स जानु परेपछि फाइनल गुमाएकी हुन् । उक्त क्लबसँगको सम्झौताअनुसार उनलाई फिफा विन्डोको खेलमात्रै खेल्ने अनुमति थियो । समूह चरण र सेमिफाइनलका खेल फिफा विन्डोभित्र परे पनि फाइनल खेल फिफा विन्डो बाहिरको खेल भएकाले उनी फाइनल खेल्न नपाएकी हुन् । 

अखिल नेपाल फुटबल सङ्घका प्रतिनिधि तथा खेल विश्लेषक सञ्जीव मिश्र जोर्डन बलियो टोली भए पनि उपाधि नेपालले नै जित्नेमा आफू विश्वस्त रहेको बताउछन् । साम्बाको अनुपस्थितिमा नेपाललाई केही अप्ठ्यारो भए पनि फुटबल ‘टिम गेम’ भएकाले अन्य खेलाडीले साम्बाको अभाव हुन नदिने उनको विश्लेषण छ ।  “यो टिम गेम हो, साम्बा टोलीमा महत्वपूर्ण खेलाडी भए पनि उनको अनुपस्थितिमा अन्य खेलाडीले पनि राम्रो प्रदर्शन गर्दै उपाधि जित्नेमा म विश्वस्त छु”, उनले भने । 

नेपाली पुरुष फूटबल टोलीका पूर्वकप्तान तथा पूर्वप्रशिक्षक हरि खड्का नेपाली टोलीलाई फाइनलसम्म पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी साम्बाको अनुपस्थितिले टोलीलाई मानसिक दबाबमा पु¥याउन सक्ने धारणा राख्छन् । “उपाधि जित्ने दाउमा रहेको नेपालका लागि फाइनलमा साम्बाको भूमिका महत्वपूर्ण हुने नै थियो । तर टोलीका अन्य खेलाडीले उत्कृष्ट खेल खेल्नेमा मलाई विश्वास छ”, उनले भने ।

नेपालले खेलेका यसअघिका खेलमा साम्बाको ठूलो भूमिका थियो । समूह चरण र सेमिफाइनल गरी भएका चार खेलमा नेपालले कूल १५ गोल गर्दा दुई गोल खाएको थियो । नेपालले गरेका १५ मध्ये नौ गोल साम्बा एक्लैले गरेकी थिइन् । प्रतियोगितामा नेपालको यो पहिलो सहभागिता हो ।
    
जोर्डनले पनि प्रतियोगिताका यसअघिका खेलामा उत्कृष्ट खेल प्रदर्शन गरिसकेको छ । सेमिफाइनलमा प्यालेस्टाइनलाई ५–० गोल अन्तरले पराजित गरेको जोर्डनले जारी प्रतियोगितामा विपक्षी चार टोलीको पोस्टमा १३ गोल गरेको छ भने जम्मा एउटा गोल खाएको छ । प्रतियोगिताको आफ्नो पहिलो खेलमा जोर्डनले साउदी अरेबियाविरुद्ध एक गोल खाएको थियो । 

जोर्डन वाफ च्याम्पियनसिपको पछिल्लो तीन संस्करणसहित पाँच पटकको विजेता टोली पनि हो । विश्व वरियतामा नेपाल जोर्डनभन्दा ३१ स्थानमाथि छ । जोर्डन ७४औँ स्थानमा छ भने नेपाल एक सय पाँचौ स्थानमा छ । नेपाल र जोर्डन जारी प्रतियोगिताका अपराजित टोली हुन् । सेमिफाइनलमा नेपालले लेबनानलाई २-१ गोलअन्तरले पराजित गरेको थियो भने जोर्डनले प्यालेस्टाइनलाई ५-० ले हराएको थियो । दुवै समूह चरणमा पनि अपराजित थिए ।

जोर्डनले समूह चरणमा साउदी अरेबियालाई ३-१ ले, ग्वामलाई ३-० र लेबनानलाई २-० ले पराजित गरेको थियो । साथै नेपालले सिरियालाई ४-१, इराकलाई ५-० र प्यालेस्टाइनलाई ४-०ले पराजित गरेको थियो । नेपाली टोलीमा गोलरकिपरमा कप्तान एन्जिला तुम्बापो सुब्बासँगै उषा नाथ र अञ्जना राना मगर छन् भने डिफेन्डरमा गीता राना, हिराकुमारी भुजेल, बिमला विक, अमृता जैशी, निशा ठोकर, समिक्षा घिमिरे, पुजा राना र सबिना चौधरी छन् । 

त्यसैगरी मिडफिल्डरमा अनिता बस्नेत, अमिषा कार्की, अनिता केसी, प्रिती राई, दीपा शाही, बिमला चौधरी र सरस्वती हमाल छन् । फरवार्डमा चन्द्रा भण्डारी, रेखा पौडेल, रश्मि कुमारी घिसिङ्ग र सबिता राना मगर छन् । खेल आज राति पौने १० बजे सुरु हुनेछ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?