काठमाडौँ – अहिले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशमा हाल पश्चिमी वायुको प्रभाव रहेको छ भने तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ ।
महाशाखाले हिउँदे मौसम विशेष बुलेटिन नै निकालेर पश्चिमी न्यून चापीय प्रणालीका कारण सोमबार देखि शुक्रबार सम्म नेपालको धेरै स्थानहरूमा आंशिक देखि साधरणतया बदली हुन सक्ने पूर्वानुमान गरेको छ ।
यही प्रणालीको प्रभावका कारण सोमबार देखि बुधबार सम्म सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेश तथा बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै बिहीबार देखि शुक्रबार सम्म बागमती र कोशी प्रदेश तथा सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
यसैगरि सोमबार सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
मंगलबार देखि बुधबारसम्म सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बागमती र कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
बिहीबार बागमती, मधेस र कोशी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै शुक्रबार गण्डकी, बागमती र कोशी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू–भागका एक दुई स्थानमा छिटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ । शनिबार देखि क्रमशः मौसममा सुधार हुँदै जाने महाशाखाको पूर्वानुमान छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया