काठमाडौँ – म्याग्दीको सिमानामा रहेको घाँसा काटेपछि पुगिने लेते अधिकांश पर्यटकको रोजाइमा पर्न थालेको छ । सम्भव हुनेहरू लेतेमा एकरात बास बसेर वरपरका गन्तव्य घुम्छन् ।
बास बस्न सम्भव नहुनेहरूले खाना–खाजा–चिया पिउन एक–डेढ घण्टा भुलेर गन्तव्यतर्फ लाग्ने गरेका लेते कालोपानीको सियु लजका सञ्चालक अमित तुलाचन बताउँछन् ।
“धवलागिरि र अन्नपूर्ण हिमशृङ्खलाको काखमा रहेको लेते–कालोपानीको बस्तीको बीचमा बेनी–जोमसोम–कोरला सडक कालोपत्र भएपछि सुन्दर देखिएको छ”, उनी भन्छन्– “लेतेबाहेक मुस्ताङको अन्य ठाउँबाट अन्नपूर्ण प्रथम हिमाल नदेखिने भएकाले पनि यहाँ विदेशी पर्यटक आउँछन् ।”
यो बस्ती समुद्री सतहबाट दुई हजार पाँच सय ३० मिटरको उचाइमा कालीगण्डकी नदीको किनारमा अवस्थित छ। बस्तीको वरपर सल्ला, धुपी र गुराँसको जङ्गल छ ।
बर्खामा हरियाली छाउने वनपाखा वसन्त ऋतुमा गुराँस फुलेर रङ्गिन्छ । पृष्ठभूमिको पहाड हिजोआज हिउँले छोपिएको छ । कालोपत्र सडकको पृष्ठभूमिमा हिमाल, जङ्गल र पहाडी भूगोलको दृश्यावलोकन, तस्बिर, भिडियो खिच्नेहरूको चहलपहल बढ्न थालेको संरक्षण क्षेत्र व्यवस्थापन समिति लेतेका सचिव प्रमिश गौचनले बताए ।
वसन्त र शरदयाममा भरिभराउ हुने लेतेका होटल बेसिजनमा पनि खाली हुँदैनन् । लेतेबाट करिब छ घण्टा यात्रा गरेपछि धवलागिरि आइसफल र कालीबराह पुगिन्छ । पन्ध्र मिनेट उकालो हिँडेर पुुगिने ‘भ्यू प्वाइन्ट’बाट लेतेगाउँको सबै दृश्य हेर्न सकिन्छ ।
चौँरी, भेडागोठ पनि यहाँको आकर्षण हो । चिसो हावापानीमा रासायनिक विषादी र मलको प्रयोगबिनै उत्पादन हुने आलुको स्वादिष्ट परिकार चाख्न पाइन्छ । पर्यटकलाई लक्षित गरेर लेतेको जनजागरण आमा समूहले थकाली सङ्ग्रहालय पनि सञ्चालन गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया