काठमाडौँ – अभिनेता दयाहाङ राई र विजय बरालको मुख्य अभिनय रहेको नेपाली फिल्म ‘वरिष्ठ बलराम’ को पोस्टर र टिजर सार्वजनिक गरिएको छ। सुरेन्द्र पौडेलको निर्देशनमा बनेको फिल्मको एकसाथ दुइटा पोस्टर र पहिलो झलक (टिजर) सार्वजनिक गरिएको हो।
फिल्मको एक पोस्टरमा केवल दयाहाङ र विजय देखिन्छन् भने अर्को पोस्टरमा अन्य सह–कलाकारहरू पनि फिचर गरिएका छन्। पोस्टरले कथावस्तुबारे कौतुहलता सिर्जना गरे पनि कथाको विवरण खुलाइएको छैन।
सार्वजनिक गरिएको टिजरमा दयाहाङ र विजय बरालबीचको नोकझोकपूर्ण संवाद देख्न सकिन्छ। संवादप्रधान दृश्यले फिल्ममा सामाजिक तानाबाना र द्वन्द्व झल्किने संकेत दिएको छ।

फिल्म कात्तिक ६ गते, भाइटीकाको अवसरमा देशभर प्रदर्शनमा आउने तयारीमा छ। ‘वरिष्ठ बलराम’ मा दयाहाङ र विजयसँगै समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरूङ, प्रदीप चौधरीलगायत कलाकारको अभिनय रहेको छ।
यो फिल्म निर्देशक सुरेन्द्र पौडेलको चौथो निर्देशकीय प्रोजेक्ट हो। पौडेल यसअघि ‘आभाष’, ‘क्रृ’ र ‘बाबरी’ निर्देशन गरिसकेका छन्। दृश्य सम्पादकका रूपमा पनि परिचित पौडेलले ‘वरिष्ठ बलराम’को कथा लेखन र सम्पादन आफैंले गरेका छन्। फिल्मको पटकथा महेश दवाडीले तयार पारेका हुन्।
फिल्म वृषभ सिद्धि इन्टरटेनमेन्टको प्रस्तुति र आन्भी फिल्म्सको सहकार्यमा निर्माण गरिएको हो। निर्माता आशिष एच तामाङ र श्रीराज कार्की रहेका छन् भने कार्यकारी निर्मातामा प्रदीप जि धामी र पुस्कर बि घिमिरे छन्।
फिल्मको छायांकन चितवनका विभिन्न स्थानमा गरिएको हो। छायांकन मानकृष्ण महर्जनले गरेका हुन्। तारानाथ न्यौपाने मुख्य सहायक निर्देशकको भूमिकामा छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया