काठमाडौँ – बलिउडमा नयाँ प्रवेश गरेका अभिनेता इब्राहिम अली खान पछिल्ला दिनहरूमा आफ्नो अभिनयको कारण मात्र होइन, प्रेमजीवनको कारणले पनि चर्चामा छन्। सैफ अली खान र अमृता सिंहका छोरा इब्राहिमले हालै दोस्रो फिल्म ‘सरजमीन’ जियो सिनेमा मार्फत सार्वजनिक गरेसँगै दर्शकहरूको ध्यान उनको व्यक्तिगत जीवनतर्फ मोडिएको छ।
इब्राहिमको नाम चर्चित टेलिभिजन अभिनेत्री श्वेता तिवारीकी छोरी पलक तिवारीसँग जोडिएको छ। उनीहरूलाई सार्वजनिक स्थान र विभिन्न इभेन्टहरूमा सँगै देखिएको छ, जसले गर्दा यी दुईको प्रेम सम्बन्धको चर्चा व्यापक बनेको हो। तर, इब्राहिम र पलक दुबैले अहिलेसम्म आफ्नो सम्बन्धबारे कुनै औपचारिक पुष्टि गरेका छैनन्।
फिल्मफेयरलाई दिएको अन्तर्वार्तामा इब्राहिमले पलकसँगको सम्बन्धबारे सोधिएको प्रश्नमा भने, “हामी निकै असल साथी हौं। उनी निकै राम्रो र सहृदय छिन्।” साथै, उनले आफू प्रेमीको रूपमा कस्तो हुन्छन् भन्नेमा पनि स्पष्ट जवाफ दिए, “म धेरै हेरचाह गर्छु। म अधिकार जमाउने खालको होइन, म ठाउँ दिन्छु र धेरै प्रश्न गर्दिन।”
यही विषयमा पलक तिवारीका पिता राजा चौधरीले पनि हालै प्रतिक्रिया दिएका छन्। उनले एक अन्तर्वार्तामा भने, “पलकले अहिले करियरमा ध्यान दिनुपर्छ। सम्बन्धभन्दा बढी महत्त्वपूर्ण उसले बनाउने भविष्य हो। म चाहन्छु कि ऊ ३०–३५ वर्षको नहुँदासम्म यस्ता कुराबाट टाढा रहोस्।”
५ मार्च २००१ मा जन्मिएका इब्राहिमले धीरुभाई अम्बानी इन्टरनेशनल स्कूलबाट स्कूले शिक्षा लिएका थिए भने, उनले अमेरिका स्थित न्यूयोर्क फिल्म एकेडेमीबाट फिल्म निर्माणमा स्नातक पूरा गरेका छन्। अभिनय करियरमा जम्न थालेका इब्राहिम अब दर्शक र फ्यानहरूको नजरमा छन्—सिर्फ पर्दामा होइन, पर्दापछाडिको जीवनमा पनि।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया