काठमाडौँ – बलिउडमा बहुप्रतिक्षित फिल्मका रूपमा रिलिज भएको ‘सैयारा’ ले बक्स अफिसमा धमाका मच्चाउँदै पहिलो सातामै १७५ करोड रुपैयाँभन्दा बढी कमाई गर्दै नयाँ कीर्तिमान बनाएको छ।
मोहित सूरी निर्देशित र अहान पाण्डे तथा अनीत पड्डा अभिनीत यस प्रेमकथात्मक फिल्मले ‘छावा’ पछि एक सातामै यति ठूलो कमाइ गर्ने वर्ष २०२५ को दोस्रो फिल्मको उपाधि पाएको हो।
प्रारम्भिक रिपोर्ट अनुसार, ‘सैयारा’ ले सातौँ दिनसम्ममा भारतमै १७२.५० करोड रुपैयाँ नेट कमाई गरेको छ, जसमा सातौँ दिनको कमाइ करिब १५.२५ करोड रुपैयाँ रहेको बताइएको छ।
‘सैयारा’ ले पहिलो हप्ताको प्रत्येक दिन बलियो उपस्थिति देखाएको थियो। पहिलो दिनको कमाइ २१.५ करोड रुपैयाँ रहेको थियो भने दोस्रो दिन २६ करोड, तेस्रो दिन ३५.७५ करोड, चौथो दिन २४ करोड, पाँचौँ दिन २५ करोड, र छैटौँ दिन २१ करोड रुपैयाँ रहेको थियो।
‘सैयारा’ बाट बलिउडमा पाइला टेकेका अहान पाण्डे र अनीत पड्डा को रसायनले दर्शकलाई लोभ्याएको छ। समीक्षकहरू र दर्शक दुवैले उनीहरूको प्रदर्शनको प्रशंसा गरेका छन्। यसले उनीहरूलाई बलिउडमा सम्भावनाशील भविष्यका कलाकारको रूपमा उभ्याएको छ।
‘आशिकी २’, ‘एक भिलन’, र ‘मलंग’ जस्ता फिल्म निर्देशन गरिसकेका मोहित सूरी को यो फिल्म कोरोनापछि ठूला सफलतामध्ये एक बनेको छ। सूरीको निर्देशन, संगीत संयोजन र कथा सम्प्रेषणको शैली पुनः एकपटक दर्शकलाई मन परेको देखिन्छ।
‘सैयारा’ ले दर्शक, समीक्षक र व्यापार विश्लेषक सबैको ध्यान खिच्न सफल भएको छ। बक्स अफिसमा पहिलो सातामा १७५ करोडको आँकडा पार गर्दै, यो फिल्मले हालसम्मकै सबैभन्दा सफल डेब्यू प्रोजेक्टहरूमा आफ्नो नाम दर्ता गराएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया