काठमाडौँ – बलिउडका अभिनेता अनुपम खेर अभिनित चलचित्र तन्वी द ग्रेट ले प्रदर्शनमा कमै कमाइ गरेको छ। जुलाई १८ मा रिलिज भएको यो फिल्मले आलोचनाबाट राम्रो प्रतिक्रिया पाएको भए पनि, अहिलेसम्म करिब २ करोड मात्र कमाएको छ। यो फिल्मको कुल बजेट ५० करोड रहेको छ।
रिपब्लिकसँगको अन्तर्वार्तामा अनुपम खेरले फिल्म निर्माणका चुनौतीहरूका बारेमा खुलासा गरेका छन्। उनले फिल्म निर्माणको सुरुमै आर्थिक सहायताका लागि सहमत एक व्यक्तिले फिल्म शुरू हुनुभन्दा केही दिन अघि सहयोग फिर्ता लिँदा काममा ढिलाइ भएको बताएका छन् । त्यसपछि उनले डाक्टर, व्यापारी र विभिन्न साथीहरूसँग लगानी जुटाउने प्रयास गरेका थिए।
फिल्ममा कुल १० जना निर्माता छन्, जसमा धेरैलाई फिल्म व्यवसायको अनुभव छैन। अनुपम खेरले मुख्य कलाकारहरूसँग पारिश्रमिकको विषयमा पनि भने कि अहिलेसम्म तलब दिन सकेका छैनन्। कलाकारहरू स्वयं पनि तलब नलिन तयार भएका थिए र उनले उनीहरूलाई पछि रकम फिर्ता गर्ने वाचा पनि गरेका छन्।
उनले थपे, “सिनेमा व्यवसाय अहिले निकै चुनौतिपूर्ण छ। विगत १० वर्षमा यस क्षेत्रमा ठूलो परिवर्तन आएको छ, जसका कारण फिल्मले राम्रो व्यापार गर्न सकेको छैन। बजेट ठूलो भएपछि र सहयोगीले पछि हटेपछि हामीलाई कष्ट परेको छ।”
उनले फिल्मसँगै रिलिज भएको अर्को चलचित्र सैयारा को सफलताले पनि तन्वी द ग्रेट को व्यापारमा असर पुर्याएको बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया