काठमाडौँ – आगामी हरितालिका तीजलाई लक्षित गरी पशुपति क्षेत्र विकास कोषले दर्शनार्थी व्रतालु महिलाका लागि विशेष व्यवस्था मिलाएको छ। कोषका अनुसार पशुपतिनाथ मन्दिरको बाहिरी क्षेत्रमा चार लाइन र भित्री क्षेत्रमा आठ लाइनमा बस्ने गरी व्यवस्थापन गरिएको छ।
आज आयोजित पत्रकार सम्मेलनमा कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले चर्को घाममा लामो समय लाइनमा बस्न असहज हुने भएकाले भक्तजनले एकदेखि डेढ घण्टाभित्र दर्शन गर्न सक्ने गरी तयारी मिलाइएको जानकारी दिए। उनका अनुसार तीजमा बाहिरी भागमा मात्र स्वयंसेवक परिचालित हुनेछन्।
कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले भक्तजनलाई सहज बनाउन बिहान ३ बजेदेखि नै मन्दिरका चारै ढोका खोलिने बताउनुभयो। त्यस्तै, संस्कृति संरक्षण महाशाखाका निमित्त प्रमुख अरुणकुमार श्रेष्ठले तीजका अवसरमा समाचार संकलन गर्न आउने पत्रकारलाई सूचना विभाग वा आफ्नै सञ्चारगृहको परिचयपत्रका आधारमा मुख्य क्षेत्रमा प्रवेश दिनिने जानकारी दिए।
कोषकी सूचना अधिकारी अनिता भट्टका अनुसार सुरक्षा, स्वयंसेवक परिचालन, ट्राफिक व्यवस्थापन, पार्किङ, स्वास्थ्य सेवा, सरसफाइ तथा जुत्ता–चप्पल कक्षको व्यवस्थापन गरिनेछ।
यस वर्ष तीज सोमबारदेखि सुरु हुँदैछ। पहिलो दिन सोमबार दर खाने चलन छ भने दोस्रो दिन मंगलबार व्रतालु महिलाले निराहार व्रत बसेर भगवान् शिवको पूजाआराधना गर्ने गर्छन्। बुधबार गणेश चौथी पर्व मनाइनेछ भने बिहीबार अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी चार दिने तीज पर्व सम्पन्न हुनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया