काठमाडौँ – नेपाली चलचित्र क्षेत्रमा दुर्लभ मानिने वैज्ञानिक कथामा आधारित फिल्म ‘एक्लो’ को सम्पूर्ण छायांकन सम्पन्न भएको छ।
निर्देशक प्रदीप शाहीका अनुसार राजधानीमा भव्य सेट बनाएर गरिएको अन्तिम गीतको छायांकनसँगै सुटिङ पूरा भएको हो। उक्त गीतमा मुख्य कलाकार कविता नेपाली फिचर्ड छिन् भने गीतलाई स्वप्निल शर्माले स्वर दिएका छन् र रोहित शाक्यले संगीत भरेका छन्।
भिडियोको कोरियोग्राफी समेत कविता नेपालीले नै गरेकी छन्। कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ का अनुसार यो गीतलाई दशैंमा सार्वजनिक गर्ने तयारी छ।
अभिनेता प्रदीप खड्का मुख्य भूमिकामा रहेका यस फिल्मको पोस्ट–प्रोडक्सन हाल लन्डनमा भइरहेको छ। निर्माण टिमले आउँदो पुस महिनामा क्रिसमसको अवसर पारेर फिल्म रिलिज गर्ने योजना बनाएको छ।
यसअघि सार्वजनिक टिजरमा प्रदीप खड्कासँगै विजय लामा, दिया पुन, कविता नेपाली, जेमी बेकन र बेनिशा हमाल देखिएका थिए। ‘एक्लो’ ले यसअघि नै कान्स फिल्म फेस्टिभलको बजार क्षेत्रमा सहभागिता जनाइसकेको छ, जसले अन्तर्राष्ट्रिय स्तरमा चासो बटुलेको छ।
निर्देशक प्रदीप शाही यसअघि दुई चलचित्र निर्देशन गरिसकेका छन्। बेलायतमा बसोबास गर्दै आएका उनले ‘एक्लो’लाई हलिउडस्तरको प्रविधि र प्रस्तुति दिने लक्ष्यसहित निर्माण गरिरहेका छन्।
फिल्ममा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, बेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरजसिंह ठकुरी, एवन राज उप्रेती, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, आरुषजंग सारु मगर, श्रीशेष श्रेष्ठ, जेमिन श्रेष्ठ र स्योन सविक सिंहलगायत कलाकारको अभिनय देख्न पाइनेछ। साथै बेलायती अभिनेता जेमी बेकन पनि फिल्ममा फिचर्ड हुनेछन्।
निर्मातामा राजकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन, भुवन अधिकारी, संगीता वादी श्रेष्ठ, रितेश राना, सुशील प्रजापति र शशिकला गुरुङ रहेका छन् भने कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन्।
फिल्मको प्राविधिक टोलीमा छायांकन बाबु श्रेष्ठ, द्वन्द्व निर्देशन राजु तामाङ, सेट डिजाइन राजु पेन्टर, कला निर्देशन सन्तोष लामा र प्रोडक्सन डिजाइन द्रोणप्रसाद पौडेल ‘ठेउके’ जिम्मेवार रहेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया