मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जनै हराएको मान्छे’ टिजर ट्रेन्डिङमा चौथो स्थानमा

काठमाडौं-आगामी भदौ ६ गते प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’ को टिजर युट्युबमा सार्वजनिक भएसँगै चर्चा चुलिएको छ। मंगलबार सार्वजनिक भएको टिजरले छोटो समयमा नै १३ लाख ६ हजारभन्दा बढी भ्युज र ६ हजार ५ सयभन्दा बढी लाइक्स बटुल्दै युट्युबको ट्रेन्डिङ सूचीको चौथो स्थान ओगट्न सफल भएको छ।

सार्वजनिक भएको पहिलो दिनमै १० लाख भ्युज पार गर्दै टिजरले दर्शकको अत्याधिक उत्साह र चलचित्रप्रतिको सकारात्मक अपेक्षा प्रस्ट पारेको छ।

टिजर हेर्ने अधिकांश दर्शकले अभिनेता विजय बरालको अभिनय प्रशंसायोग्य रहेको भन्दै कमेन्टमार्फत तारिफ गरेका छन्। साथसाथै, चलचित्रले उठान गरेको कोरियाको श्रमिक कथा लाई समसामयिक, गहिरो र मन छुने विषयको रूपमा लिइएको देखिन्छ।

निर्देशक हिमाल न्यौपाने द्वारा निर्देशित टिजरले एक साधारण गाउँले युवकको सहर पस्ने संघर्ष र परिवार, प्रेम, र सपना बीचको द्वन्द्वलाई छर्लंग बनाएको छ। विजय बराल टिजरमा पुरोहित बुबाको इच्छाविपरीत कोरिया जाने सपना बोकेको युवकको भूमिकामा प्रस्तुत भएका छन्। चलचित्रले भावनात्मक कथा, आधुनिक प्रेम, र सामाजिक द्वन्द्वलाई एकसाथ पस्कने सङ्केत दिएको छ।

त्रिकोणात्मक प्रेम कथा?

टिजरमा विजयसँगै केकी अधिकारी र मिरुना मगर पनि मुख्य भूमिकामा छन्, जसले कथामा त्रिकोणात्मक प्रेमको सम्भावना दर्शाउँछ। साथै गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई र भावना खपांगी मगर जस्ता कलाकारहरूको पनि उल्लेखनीय उपस्थिति रहेको छ।

सशक्त टोलीको निर्माण

चलचित्रको कथा, पटकथा र संवाद लेखक भानुभक्त ढकाल हुन्। कमल न्यौपाने र विमल न्यौपाने द्वारा निर्मित यो चलचित्र पेपरक्लिप ब्यानर अन्तर्गत बनेको हो। कार्यकारी निर्माताहरूमा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर लगायत रहेका छन्।

प्राविधिक पक्षमा शाहिल खान (टिजर–ट्रेलर), सुप्रिम पराजुली (कलर), सुनील क्षेत्री (कोरियोग्राफी), चुल्ठे काजी (एक्सन निर्देशन) र लक्ष्मणराज पौडेल (निर्माण नियन्त्रक) रहेका छन्।

गोविन्द शाहीको काफिया फिल्मसले वितरण गर्ने

चलचित्रको वितरण अधिकार गोविन्द शाहीको काफिया फिल्मसले लिएको छ। ‘पूर्णबहादुरको सारङ्गी’ पछि विजय बरालको मुख्य भूमिकामा रहेको यो चलचित्र यस वर्षको बहुप्रतिक्षित नेपाली फिल्म मानिएको छ।

भदौ ६ गते रिलिज हुने ‘जनै हराएको मान्छे’ तपाईं हेर्न तयार हुनुहुन्छ? टिजरले तपाईंलाई कति छोयो?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?