मुम्बई– बलिउड प्रेमीहरूका लागि एक खुशीको खबर आएको छ। बलिउडका दिग्गज अभिनेता धमेन्द्र र लोकप्रिय कलाकार अरबाज खान २७ वर्षपछि फेरि एकसाथ पर्दामा फर्किन लागेका छन्।
सन् १९९८ को सुपरहिट फिल्म ‘प्यार किया तो डरना क्या’ मा सँगै देखिएका यी दुई कलाकार अब ‘मैने प्यार किया फिर से’ नामक नयाँ रोमान्टिक फिल्ममा सहकार्य गर्दैछन्।
यो फिल्म पर्ल ग्रुप अफ कम्पनीज र सिनबस्टर म्यागजिन प्रा.लि. का अध्यक्ष रोनी रोड्रिग्ज द्वारा निर्माण हुँदैछ। मुम्बईमा एक भव्य मूहुरत कार्यक्रमको आयोजना गर्दै फिल्मको औपचारिक सुरुआत गरिएको थियो।
उक्त कार्यक्रममा चर्चित हास्य कलाकार राजपाल यादव, अभिनेत्री विद्या मालवडे, र प्रख्यात गायक उदित नारायण जस्ता विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। उदित नारायणले फिल्मको एउटा गीत स्टेजमै प्रत्यक्ष गाएर माहोललाई रोमान्टिक र पुरानो प्रेम भावनाले भरिपूर्ण बनाए।
धमेन्द्रले कार्यक्रममा बोल्दै फिल्ममा सहभागी हुन पाएकोमा खुशी व्यक्त गरेका छन्। उनले ‘मैने प्यार किया फिर से’ लाई “मिक्स भेग अफ इन्टरटेनमेन्ट” भनेर वर्णन गरे, जसमा भावना, हास्य, प्रेम र नाटक सबै मिश्रित छन्। उनले अरबाज खानसँगको आफ्नो पुरानो मित्रताको सम्झना गर्दै फिल्मको स्क्रिप्टलाई ताजा र रोमाञ्चक रहने बताए।
अरबाज खानले पनि धमेन्द्रसँग पुनः काम गर्न पाउँदा अभिनय यात्रा पूर्ण भएको महसुस भएको बताए। यो फिल्म केवल पुनर्मिलन होइन। सिनेमामा समयसँगै बन्दै गएको सम्बन्धको पनि उत्सव भएको उनको भनाइ थियो। उनले फिल्मको युवा टोली र सकारात्मक उर्जाको प्रशंसा गरे।
फिल्म निर्देशक सबीर शेखको निर्देशनमा बन्नेछ। जसले परम्परागत बलिउड प्रेमकथालाई आधुनिक कथा प्रविधिसँग मिसाएर दर्शकहरूलाई भावनात्मक रूपमा जोड्ने वाचा गरेका छन्। निर्देशकका अनुसार, फिल्मले पुराना सम्बन्धको पुनर्जागरण र बिर्सिएका प्रेमकथालाई नयाँ रूपमा प्रस्तुत गर्नेछ।
यो फिल्म नोभेम्बर २०२५ मा प्रदर्शनमा आउने तयारीमा छ र युवा पुस्ता तथा पुराना दर्शकहरूलाई एकैसाथ आकर्षित गर्ने लक्ष्य लिएको छ। धमेन्द्र र अरबाज खानको पुनर्मिलन सन् २०२५ को बलिउडको सबैभन्दा ठूला आकर्षणमध्ये एक हुनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया