मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

२५६९औँ बुद्ध जयन्ती आज देशभर विविध कार्यक्रमसहित मनाइँदै

काठमाडौं– आज २५६९औँ बुद्ध जयन्ती देशभर श्रद्धा, भक्तिभाव र विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइँदैछ। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्वले विशेष महत्व बोकेको छ।

किनभने यही दिन भगवान् गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति तथा महापरिनिर्वाण (मृत्यु) भएको विश्वास गरिन्छ। नेपालसहित विश्वभरका बौद्ध धर्मावलम्बीहरू आजको दिनलाई अत्यन्त पवित्र दिनका रूपमा मनाउँछन्। नेपालमा विशेष गरी लुम्बिनी, काठमाडौं उपत्यका, पोखरा, भैरहवा, कपिलवस्तु, पाल्पा लगायतका स्थानहरूमा बुद्ध जयन्ती विशेष कार्यक्रमसहित मनाइँदैछ।

बुद्धको जीवन र शिक्षाको संक्षिप्त इतिहास
इ.पू. ५६३ मा लुम्बिनीमा राजा शुद्धोधन र रानी मायादेवीको कोखबाट सिद्धार्थ गौतमको जन्म भएको थियो। लुम्बिनी, जो अहिलेको रूपन्देही जिल्लामा पर्छ। त्यहीँ उनी जन्मिएका थिए। राजकुमार भएर पनि मानव जीवनको दुःख, रोग, बुढ्यौली र मृत्यु देखेर चिन्तित बनेका सिद्धार्थले २९ वर्षको उमेरमा राजपाट, परिवार, भोग–विलास त्यागेर ज्ञानको खोजीमा निस्किए।

विवेक, तपस्या र साधनापछि इ.पू. ५२८ को वैशाख शुक्ल पूर्णिमाका दिन भारतको बोधगयामा पीपलको रूखमुनि ध्यान गर्दै गर्दा उनले बुद्धत्व प्राप्त गरे। त्यसपछि उनी ‘बुद्ध’ अर्थात् ‘बोध प्राप्त व्यक्ति’ का रूपमा चिनिए।

बुद्धले मानव जीवनमा दुःखको कारण र त्यसको अन्त्यको उपायको रूपमा ‘चत्वारि आर्यसत्य’ (चार आर्य सत्य) र ‘अष्टाङ्गिक मार्ग’ (आठ तहको मार्ग) को शिक्षाको प्रचार गरे।

बुद्धका अनुसार दुःखको अन्त्य तृष्णा नष्ट गरेर मात्र सम्भव छ, र त्यसका लागि अष्टाङ्गिक मार्गको अभ्यास आवश्यक हुन्छ। यी आठ मार्ग हुन् – सम्यक दृष्टि, सम्यक सङ्कल्प, सम्यक वाणी, सम्यक कर्म, सम्यक आजीविका, सम्यक प्रयास, सम्यक स्मृति र सम्यक समाधि।

धर्म प्रचार र महापरिनिर्वाण
बुद्धले आफ्नो ज्ञान पहिलोपटक सारनाथको मृगदावनमा पाँच जना साधुहरूलाई प्रवचन दिएर बाँडेका थिए। त्यसपछि उनले ४५ वर्षसम्म भारतका विभिन्न भागमा हिंडेर आफ्नो धर्म (धम्म) प्रचार गरे।

८० वर्षको उमेरमा, इ.पू. ४८३ मा, कुशीनगरमा वैशाख शुक्ल पूर्णिमाकै दिन उनले महापरिनिर्वाण प्राप्त गरे। बुद्धको मृत्यु पनि जन्म र बुद्धत्व प्राप्तिको दिनमै परेको भएकाले यही तिथि विशेष महत्व बोकेको हो।

त्रिपिटक र बौद्ध दर्शन
बुद्धका उपदेशहरूको संग्रहलाई ‘त्रिपिटक’ भनिन्छ, जसमा विनय पिटक (अनुशासन), सुत्त पिटक (प्रवचन) र अभिधम्म पिटक (दर्शन) गरी तीन भाग छन्। त्रिपिटकमा बुद्धका ८२ हजार र उनका अनुयायीहरूको २ हजार गरी ८४ हजार ज्ञानसूत्र रहेको उल्लेख गरिएको छ।

बुद्धको दर्शनको मूल आधार हो ‘प्रतित्यसमुत्पाद’ – जसको अर्थ हो ‘कारण र परिणामको अन्तर्सम्बन्ध’। कुनै पनि कुरा स्वतन्त्र रूपमा अस्तित्वमा रहँदैन, सबै कुरा परस्पर आश्रित हुन्छन् भन्ने सिद्धान्त बुद्धले प्रतिपादन गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?