‘घरमै घुसेर मार्ने’ धम्कीपछि सलमान खानप्रति सुरक्षा कडा, युवक पक्राउ

एजेन्सी । सोमबार भारतीय प्रहरीले बलिउड सुपरस्टार सलमान खानलाई ज्यान मार्ने धम्की दिने एक व्यक्तिलाई पक्राउ गरेको छ।

उक्त धम्की वडोदरा नजिकैको एउटा गाउँबाट पठाइएको थियो। धम्की दिने व्यक्ति २६ वर्षका पुरुष हुन्। अप्रिल १४ मा उनले मुम्बईको वरली क्षेत्रस्थित यातायात विभागको अधिकृत व्हाट्सएप नम्बरमा सन्देश पठाएका थिए, जसमा उनले लेखेका थिए कि सलमान खानलाई उनी बसेकै घरभित्र पसेर मार्नेछन् र उनको कारमा बम विस्फोट गरिनेछ।

भारतीय समाचार एजेन्सी एएनआई का अनुसार, ती व्यक्ति वडोदरा नजिकैको गाउँमा बस्ने २६ वर्षीय युवक हुन्।

प्रहरीले सुरुमा उनलाई समन पठाएर २–३ दिनभित्र उपस्थित हुन आदेश दिएको थियो, तर मामला गम्भीर भएको कारण देखाउँदै उनलाई सोमबार नै पक्राउ गरिएको हो।

हालसम्म उनको नाम सार्वजनिक गरिएको छैन। प्राप्त रिपोर्ट अनुसार, अनुसन्धानको क्रममा ती युवकको मानसिक अवस्था सन्तुलित नभएको पत्ता लागेको छ। उनको परिवारले उपचार भइरहेको दाबी पनि गरेको छ। यसबारे थप जानकारी लिन प्रहरीको अनुसन्धान जारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?