काठमाडौँ। गृहमन्त्री रमेश लेखकले आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सुरक्षा प्रवन्ध मजबुत बनाउन प्रहरी अधिकारीहरूलाई निर्देशन दिएका छन्।
बुधबार बिहान गृह मन्त्रालयमा आयोजित बैठकमा गृहमन्त्री लेखकले प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरसहित उच्च प्रहरी अधिकारीहरूलाई निर्वाचनलाई भयरहित बनाउन आवश्यक सुरक्षा उपायहरू सुनिश्चित गर्न निर्देशन दिए।
उनले प्रत्येक जिल्लामा प्रहरी कार्यालयमार्फत सम्पर्क व्यक्ति तोकी निर्वाचन हुने क्याम्पसहरूसँग समन्वय गर्न आग्रह गरेका छन्। साथै, प्रहरी प्रधान कार्यालयमा निर्वाचन समन्वयका लागि विशेष टिम गठन गर्न पनि निर्देशन दिएका छन्।
गृहमन्त्रीले प्रमुख जिल्ला अधिकारीहरू, क्याम्पस प्रशासन, सुरक्षा समितिहरूसँग समन्वय गरी निर्वाचनलाई व्यवस्थित बनाउने व्यवस्था गर्नुपर्ने बताए।
यसैक्रममा, नेपाल प्रहरीले सशस्त्र प्रहरी बलसँग पनि सहकार्य गर्दै सुरक्षा योजना लागू गर्ने जनाएको छ। गृहमन्त्री लेखकले स्ववियु निर्वाचनलाई आम निर्वाचनसरह गम्भीर रूपमा लिएर सुरक्षा व्यवस्था बलियो बनाउनुपर्ने बताएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया