मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चिसोको जोखिममा रहेका ज्येष्ठ तथा अशक्त नागरिकलाई कम्बल वितरण

नेपालगञ्ज – बाँकेका आठ स्थानीय तहमा चिसोको जोखिममा रहेका ज्येष्ठ तथा अशक्त नागरिकलाई कम्बल वितरण गरिएको छ । जिल्लाको नेपालगञ्ज र आसपासका क्षेत्रमा शीतलहरसहित चिसो बढेपछि स्थानीय तहले उनीहरुलाई शीतलहर र चिसोबाट बचाउन भन्दै एक हजार तीन सय ५९ कम्बल वितरण गरेको जिल्ला विपद् व्यवस्थापन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।

“अझै पनि कम्बल वितरण जारी रहेको छ, तर सबै विस्तृत विवरण आएको छैन”, उनले भने । वितरण गरिएका कम्बलमध्ये सबैभन्दा बढी बैजनाथ गाउँपालिकामा पाँच सय ८४, कोहलपुर नगरपालिकामा चार सय ७५ र खजुरा गाउँपालिकामा तीन सय थान वितरण गरिएका छन् । यसबाहेक अधिकांश स्थानीय तहका विभिन्न चोकमा आगो ताप्ने प्रबन्धसमेत गरिएको छ । केही ज्येष्ठ नागरिकलाई फाइबर सिरकसमेत वितरण गरिएको थियो । माघको दोस्रो साताबाट चिसो बढेपछि उनीहरुलाई कम्बल वितरण गरिएको हो ।

केही दिनअघि बसेको बाँकेको विपद् व्यवस्थापन समितिले वन डिभिजन कार्यालयसँग सहुलियत दरमा दाउरा खरिद गरेर चिसोमा आगो ताप्ने प्रबन्ध गर्ने निर्णय गरेको थियो । अहिलेसम्म चिसो बढेपछि करिब ६१ क्विन्टल दाउरा खरिद गरेर जिल्लाका विभिन्न स्थानीय तहमा वितरण गरिएको छ ।

सूचना अधिकृत ज्ञवालीले जिल्लाको नेपालगञ्ज उपमहानगरपालिकामा २०, खजुरा गाउँपालिकामा दुई सय, जानकी गाउँपालिकामा तीन सय ५०, राप्तीसोनारीमा एक सय, जिल्ला विपद् व्यवस्थापन समितिमा दुई सय र नेपाल रेडक्रस सोसाइटी बाँकेमा एक सय कम्बल मौज्दात रहेका छन् ।

चिसो बढेपछि यहाँका निजी तथा सरकारी विद्यालयले यही माघ ९ देखि १३ गतेसम्म जाडो बिदा दिएका थिए । दिनहुँजसो बिहानको समयमा नेपालगञ्ज आसपासमा बाक्लो हुस्सु लाग्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?