रौतहट – नेपाल सरकारले विधार्थीलाई नियमित गराउन गरेको व्यवस्था अन्तर्गत दिवा खाजाको रकममा भ्रष्टाचार भइरहेको पटक पटक समाचार आइरहने रौतहट जिल्लामा एउटा सामुदायिक विद्यालय भने आफ्नो छुट्टै पहिचान कायम गर्न सफल भएको छ।
कटहरिया नगरपालिका– ७ स्थित माबी बगही विद्यार्थीलाई दिवा खाजा ख्वाउनमा संभवतः जिल्लामै अब्बल देखिएको हो। वडा ७ का अध्यक्ष महमद सहिद मियाँ धोबी र प्रधानाध्यापक सरोज कुमार साहको सक्रियतामा मावि बगहिमा कक्षा १० को विद्यार्थीहरूको लागि निःशुल्क एसईई तयारी कक्षा सञ्चालन गरिरहेको छ।
विद्यालयको निजी आम्दानी हुने कुनै स्रोत नभएपनि वडा अध्यक्ष धोबीले बिकास बजेटबाट दिने गरेको रकमबाट विद्यालय सञ्चालनमा टेवा पुगेको छ। माबी बगहिमा तल्लो कक्षामा अध्ययनरत विद्यार्थीहरूलाई प्रत्येक दिन परिकार परिवर्तन गरी दिवा खाजा दिने गरिन्छ। शिशु कक्षा देखी कक्षा ५ सम्मका ४५५ जना विद्यार्थीहरूलाई साताको आइतवार खिर, सोमवार कुखुराको मासु चिउरा वा उसिनेको अण्डा, मंगलवार मौसम अनुसारको फलफूल, बुधवार पकाइएको चना भुजा, बिहीवार हलुवा र शुक्रवार खिचडी दिवा खाजाको रुपमा दिने गरिएको प्रधानाध्यापक सरोज कुमार साहले बताएका छन्।
जबकी कटहरिया नगरपालिकाको अन्य विद्यालयहरूले दिवा खाजामा पैकेटको चलानी नास्ता दिने गरेका छन्। कक्षा १० मा अध्ययनरत ४५ जना विद्यार्थीलाई गत भदौ देखिनै निःशुल्क रुपमा एसईई परीक्षाको तयारी कक्षा सञ्चालन गरिएको प्रधानाध्यापक साहले बताएका छन्। तीन विषयको तयारीका लागि सञ्चालन गरिएको कक्षामा अध्यापन गराउने ३ जना शिक्षक मध्ये २ जनाको पारिश्रमिक प्रधानाध्यापक साह व्यक्तिगत रुपमा दिँदै आएको उक्त विद्यालयका पूर्व प्रअ नवलाकिशोर ठाकुरले बताए ।
विद्यालयमा कार्यरत निजी स्रोतका ७ जना शिक्षकको तलबको लागि वडा अध्यक्ष धोबीले वडाको सिलिङबाट मासिक करिब १ लाख रुपैयाँ दिँदै आएको एकजना शिक्षक नागेन्द्र राउतले जानकारी दिएका छन्। माबि बगहिमा संभवतः जिल्लामै सबै विद्यालय भन्दा कम शुल्क लिने गरिएको छ। प्लस २ कक्षामा पाठ्यपुस्तकसहित बार्षिक ३५ सय मात्र शुल्क लिने गरिन्छ, जुन अन्य विद्यालयको तुलनामा निकै कम भएको प्रधानाध्यापक सरोज कुमार साहले दाबी गरेका छन्।
त्यतिमात्र नभई विद्यालयमा आर्थिक कारोबार पूर्ण डिजिटल अर्थात बैङ्किङ प्रक्रियामा हुने गरेको बताइएको छ। विद्यालयमा शिशु कक्षा देखी कक्षा १२ सम्म कुल ८८१ विद्यार्थीलाई अध्ययनरत रहेका छन् भने ३ जना निजी स्रोतसहित १५ जना शिक्षक कार्यरत रहेको बताईएको छ। यती राम्रो तरिकाले विद्यालय सञ्चालन गर्दा पनि अन्य विद्यालयहरूमा निजी स्रोतको शिक्षक दिने कटहरिया नगरपालिकाले माबि बगहीलाई सँधै अपेक्षा गर्दै आएको त्यहाँ कार्यरत शिक्षकहरूले दुःखेसो पोखेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया