ट्रम्पले मङ्गल ग्रहमा मानिस पुर्‍याउने अभिव्यक्ति दिँदा इलन मस्क मख्ख, नाजी अभिवादनले विवादमा

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सपथ समारोहमा सहभागी भएका ट्रम्पका सल्लाहकार एवम् अर्बपति इलन मस्क चर्चामा रहे । सपथ ग्रहण कार्यक्रममा सम्बोधनका क्रममा निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गल ग्रहमा मानिस पुर्‍याउने बताए ।

ट्रम्पको यो योजनामा कार्यक्रम स्थलमा रहेका इलन मस्क मख्ख भए । मस्कले मङ्गल ग्रहमा मानव पुर्‍याउने भन्दै यसका लागि कैयन् प्रयास थालेका छन् । तर, हालसम्म उनी सफल भएका छैनन् ।

पृथ्वीबाट चन्द्रमामा मानव पाइला पुगेको भनिए पनि आजसम्म मङ्गल ग्रहमा कुनै पनि मानिसले पाइला टेकेका छैनन् । मङ्गल मिसनका लागि विश्वका कैयन् देश लागिपरेका छन् भने इलन मस्कले पनि आफूले मङ्गल ग्रहमा मानिस पुर्‍याइछाड्ने वाचा गरेका छन् ।

सपथपछि सम्बोधन गर्दै ट्रम्पले अमेरिकामा महिला र पुरुष लिङ्ग मात्रै पहिचान हुने घोषणा पनि गरेका छन् ।

ट्रम्पले भने, ‘आजदेखि अमेरिकी सरकारका लागि दुई लिंग मात्र हुनेछ, पुरुष र महिला। म सबै सरकारी सेन्सरशिप तुरुन्तै अन्त्य गर्न र अमेरिकामा अभिव्यक्ति स्वतन्त्रता पुनर्स्थापित गर्न कार्यकारी आदेशमा पनि हस्ताक्षर गर्नेछु।’

यसैबीच ट्रम्पको सपथ कार्यक्रममा बोलेका मस्कले गरेको नाजी सलामलाई लिएर उनको व्यापक विरोध भएको छ ।

सोमवार आयोजित सपथ ग्रहणमा उनले मन्तव्य दिने क्रममा दुई पटक नाजी सलाम दिएका थिए । नाजी शैलीको सलाम दिएको भन्दै सामाजिक सञ्जालमा उनको विरोध भएको हो ।

नाजी सलामलाई तत्कालीन जर्मन तानाशाह हिटलर र उनको कुख्यात नाजी पार्टीसँग जोडेर हेरिन्छ । दोस्रो विश्वयुद्धताका हिटलरको नेतृत्वमा युरोपभरका ६० लाखभन्दा धेरै यहुदीहरुको आम नरसंहार भएको थियो । सोही कारण जर्मनीलगायतका कतिपय मुलुकमा नाजी सलाम गर्नु अपराध मानिन्छ ।

मस्कले आफ्नो दाहिने हात देब्रे छातीमा लगेर आशीर्वाद दिएको शैलीमा हात अगाडि बढाएका थिए । यो शैली नाजी अभिभादनसँग मिलेको भन्दै उनको विरोध भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?