मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मझौरा गाउँको ‘मुसहर’ बस्ती शौचालयविहीन !

जलेश्वर – महोत्तरीको मटिहानी नगरपालिकाको वडा नम्बर ४ स्थित मझौरा गाउँको ‘मुसहर’ बस्ती शौचालयविहीन रहेको पाइएको छ । यस बस्तीका दलित मुसहर परिवारहरू शौचका लागि खुला स्थान प्रयोग गर्दै आएका छन् । स्थानीय बयोवृद्ध ५५ वर्षीय सेवक सदाका अनुसार ७५ घर परिवार रहेको मुसहर बस्तीको कुनै पनि घरमा शौचालय रहेको छैन ।

यहाँका सबैजना खुला स्थानमै शौच गर्दै आएका छन् । यही बस्तीका २२ वर्षीय शोभेन्द्र सदाका अनुसार वृद्धवृद्धा, वयस्क महिला, पुरूष तथा बालबालिका सबै गरेर तीन सय ७० जनाको जनसङ्ख्या रहेको छ । यहाँ बसोबास गर्ने सबै जना सधैँदेखि गाउँको खेतबारी र बाटोको छेउछाउमै दिशा पिसाब गर्दै आएका छन् र अहिले पनि त्यही स्थानमा गएर शौच गर्दै आएका छन् ।

बस्तीकै ५० वर्षीय शङ्कर सदाले आफूहरूसँग शौचालय बनाउने कुनै उपाय (आर्थिक अवस्था) नरहेको कारण बाबु, बाजे पालादेखि नै सपपरिवार खुलामै शौच गर्दै आएको बताए । स्थानीय ६० वर्षीया महिला बासो सदाले आफूहरू सधैँ गाँस, बाँस र कपासकै अभाव रहने गरेकाले शौचालय निर्माण गर्नु धेरै ठूलो कुरा भएको बताए । यस बस्तीका बासिन्दाले दुई छाक राम्ररी खान नपाएको अवस्थामा कहाँबाट शौचालय निर्माण गर्नु उनले प्रतिप्रश्न गरे ।

सोही ठाउँकी अर्की महिला ४५ वर्षीया रानी सदाले बस्ने घरकै लागि पर्याप्त ठाउँ नरहेको अवस्थामा शौचालय कहाँ निर्माण गर्नु र गर्न चाहे पनि आफूहरूसँग आर्थिक सामथ्र्य नरहेको भन्दै शौचालय निर्माण गर्न नसकेको बताइन् । शौचालयको अभाव भोगिरहेको त्यस बस्तीकी स्थानीय ६० वर्षीया महिला सुनैना देवी सदाले अरूको खेतबारीमा गएर शौच गर्दा गाली गर्ने, कुटपिट गर्ने, सर्प, बिच्छु र अन्य जनावरको डर हुने गरेको दुखेसो गरिन् ।

उनका अनुसार ठूला पुरूष र महिलाले त ठाउँ र समय हेरेर लुकेर कुनै स्थानमा शौच गरिहाल्छन् तर ससाना बालबालिका दिनभरि अरूकै खेतबारी र बाटोघाटौमै शौच गरिदिँदा अरूहरूले गाली गर्ने, लखेट्ने र कुनैकुनै बेला पिटाई खानुपर्ने हुन्छ ।खर, पात, बाँस र बेतबाट बनाइएको घरबारभित्र जाडोले कठ्याङ्ग्रिँदै बसिरहेका मुसहर बस्तीमा अन्न, लुगाफाटो र रोजगारीको चरम अभाव देखिएको छ भने शिक्षा र स्वास्थ्यजस्ता कुराले त उनीहरूलाई टाढाटाढासम्म छोएको देखिँदैन ।

चारैतिरै सबैकुराको अभावै अभाव र जोखिमपूर्ण जीवन बाँचिरहेका मुसहरहरूको आफू बस्ने घरबाहेक अरू जग्गा जमिन नरहेको, खेतबारी नरहेको र सो स्थानमा सार्वजनिक जग्गासमेत नरहेको कारण उनीहरूका लागि सार्वजनिक शौचालय समेत निर्माण गर्न नसकिएको वडा अध्यक्ष अब्दुल गफार राईनले बताए ।

वडाध्यक्ष राईनका अनुसार त्यस बस्तीका ७५ घर परिवारमध्ये सबै जनाको एक नासको बस्ने जग्गा समेत छैन । कसैको दुई धुर, कसैको चार धुर र कसैको एक धुर नै जग्गा रहेको कारण त्यस बस्तीमा कुनै विकासको कार्यक्रम सञ्चालन गर्न सकिएको छैन ।वडाध्यक्ष राईनले शिक्षा, स्वास्थ्य र रोजगारीको सूचकाङ्कमा मटिहानी नगरपालिकामै सबैभन्दा पछाडि रहेको वडा नम्बर ४ मझौरास्थित यस बस्तीमा व्यक्तिगत जग्गाको समस्या रहनुको साथै शौचालयको निर्माण गर्न सार्वजनिक स्थानको पनि अभाव मुख्य समस्या रहेको बताए ।

यता देश नै खुला दिसामुक्त घोषणा भइसकेको अवस्थामा धार्मिक एवं सांस्कृतिक नगरी मटिहानीको मझौरा गाउँको मुसहर बस्ती शौचालयविहीन हुनु र त्यहाँका नागरिक अझै पनि खुला आकासमुनि नै शौच गरिरहेको कुरा आफैँमा लज्जास्पद एवं दुःखद् भएको सरसफाइविज्ञ उमाशङ्कर यादवले बताए ।

मटिहानी नगरपालिका देशकै सबैभन्दा पुरानो गुठी लक्ष्मीनारायण मठ भएको र ३५० वर्षभन्दा पनि पुरानो, बालागुरू षडानन्द पढेको याज्ञवल्क्य लक्ष्मी नारायण विद्यापीठ अझै सञ्चालनमा रहेको स्थान हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?