काठमाडौँ– २०५८ साल फागुन १३ गते विद्यालय हिँडेकी कञ्चनपुरकी १५ वर्षकी परलोटी चौधरी अझै घर फर्केकी छैनन् ।
आमा लक्ष्मीदेवी अझै छोरी आउने बाटो हेरिरहेकी छिन् । अर्काेतिर एक नीजि विद्यालयमा पढाउने बाग्लुङ गलकोट नरेठाँटीका ढकबहादुर बस्नेतलाई सेनाले लगेको २२ वर्ष बित्यो । श्रीमती छमकुमारी २२ वर्षदेखि श्रीमान्को खोजीमै छिन् । सशस्त्र विद्रोहको रुप शान्ति प्रक्रियामा रुपान्तरण भएको डेढ दशकभन्दा बढी भयो ।
हिजो जङ्गलमा विद्रोहको आगो सल्काएर ताप्न बोलाउनेहरु आज सत्ताका दरवारहरुमा विराजमान छन् । अनि खोइ त परलोटी अनि ढकबहादुरहरु ? सशस्त्र विद्रोहमा बेपत्ता पारिएका परिवारहरुको सवालमा जवाफ दिन सत्ताले अझै जरुरी ठानेकै छैन । फलस्वरुप सशस्त्र विद्रोहले छोडेका युद्धका डोब र घाउहरुलाई मलमपट्टी दिनलाई उही सवालहरु नै उठान गरेर कला सिर्जनाका स्वरुपहरुमा आइरहेका छन् ।
तिनै सिर्जनाका स्वरुपहरुमध्ये अहिले ‘हरि हजुरबा’ नाटकको रुपमा आएको छ ।
थापागाउँस्थित मण्डला थिएटरमा जारी नाटकले सशस्त्र विद्रोहले पारिदिएको पारिवारिक विछोड, विखण्डनसँगै युद्धको घाउलाई मुटुमा बोकी बस्ने तमाम नागरिकका हृदयविदारक अवस्थालाई जीवन्त रुपमा प्रस्तुत गरेको छ । सशस्त्र विद्रोहको नेतृत्वकर्ताहरु सत्ताको सिंहासनमा बसिसक्दा पनि तिनैले छोपी लगेकाहरु अझै घर फर्केका छैनन् । गएकाहरुलाई कुरेर बस्नेहरुले आफ्नाहरु घर फिर्ती आउने आश मारेका छैनन् ।
कुर्दाकुर्दै गाउँ रित्तो भो, घर रित्तो भो, त्यसपछि मनै रित्तो भएर कुर्नेहरुले सास छोडेर गए । ‘अझै राज्य सत्ता कति मौन बस्छौ ?’ नाटकले सशस्त्र विद्रोहका नेतृत्वकर्ताहरुलाई प्रश्न चिन्ह खडा गरेको छ ।
नाटकमा परलोटी जस्तै: कोपिला बेपत्ता छिन् । सशस्त्र जनयुद्धकै ताका प्रवेशिका परीक्षा दिने तयारीमा रहेकी कोपिलालाई विद्रोहको विगुल फुक्ने नाममा जङ्गल लगियो । वृद्ध हजुरबाको हारगुहार, विलौना केही चलेन । हजुरबा एक्लै परे । उनको भागमा केवल नातिनीको सम्झना, रातो स्विटर, रित्तो गाउँ र उही झुप्रो घर मात्र रहे ।
सशस्त्र विद्रोहकै टोलीले हरिलाई जङ्गल पुर्याए । यद्यपि उनी घरसम्म आउन सफल भए । तर घर रित्तो थियो । घरको पिँढीमा उही बा बासुको कोट र आमाको धागो झुण्डिएको थियो । हुलाकी बासुलाई जङ्गलमा चिठी पुर्याएकै निहुमा खाँदाखाँदैको भात छुट्टाएर ढकबहादुरलाई जसरी नै सल्लाह गर्न चोकतिर लगियो । उनलाई खोज्दै आमा उतै लागिन् । त्यसपछि दुवै चोकतिरै बेपत्ता भए । त्यसपछि हरि पनि एक्लो भए । यता हजुरबा, उता हरि दुवै आफ्नैहरुको पर्खाइमै भए ।
हजुरबाले नातिनी कोपिला र हरिले बाआमा गुमाएको वियोगलाई खेपेको उस्ताउस्तै पीडाहरु बोकेका यी दुई पात्रहरुको भोगाइहरुकै क्रममा भेट हुन्छ । चिठी पुर्याउन विकासपुर हिँडेका हरि र नातिनी पर्खिबसेका हजुरबाबिचको भेटपछिको आत्मियता, प्रेम र फेरि बिछोडकै कथासम्म पुगेर नाटकले बिट मारेको छ । आफ्नो बाको अधुरै हुलाकी जागीरलाई पूरा गर्न हुलाकी बनेका हरिको पुकार छ,
‘ए जङ्गल फिर्दा दे हजुरबाको नातिनी
ए चोक फिर्दा दे मेरा बाआमा !’
हजुरबाकी नातिनी, हरिका बाआमा जस्तैः थुप्रै जङ्गल र चोकहरुमा हराए । हराएकाहरु तिनै थिए, जो आम नागरिकका रुपमा थिए । नाटकले भनेजस्तै, ‘मान्छे जङ्गलले लगे नि चोकले लगेनि चेप्टिनीहरु त हामी नै रहेछौं ।’ जो बेपत्ता भए, जो हराएकाहरुको सूचीमा छन्, ति सबै आम जनता छन्, भने आएकाहरु सत्तामा उदाएका छन् । तिनै सत्तामा उदाएकाहरुप्रति नाटकले बुलन्द स्वरमा बोलेको छ,
‘मेरो हराएको बोली फिर्दा दे
मेरो हराएको छोरी फिर्दा दे !’
हुन त सशस्त्र जनयुद्ध यो समयका लागि इतिहास बनिसकेको छ र यो बनिरहनेछ । यसले लामो समयक्रम फड्को मारेर अगाडि बढिसकेको छ । र पनि यसको त्रासदी र यसका बाछिटाहरुले अझै छोडिसकेको छैन । युद्धका घाउ बोकेर बस्नेहरुको पीडालाई नियाल्ने हो भने नाटकले उठान गरेको विषय ताजा झै लाग्छ ।
कविता हुँदै कथा र नाटकको स्वरुपमा ल्याउन नाटकका लेखक तथा निर्देशक नाजिरले भरपुर प्रयास गरेका छन् । रङ्गमञ्चबाटै उदाएका उनी लामो समयपछि घर फर्कदा घरकाहरुलाई मात्र होइन, घरमा आउने पाहुनाहरुलाई ‘हरि हजुरबा’जस्तो स्वादिलो कोसेली बोकेर फर्केका छन् ।
कविताको स्वरुपबाट जन्मेको नाटकले कविताकै मीठो लय र शब्दहरु पछ्याएको छ । घरि युद्धको घाउ घरि हरि हजुरबाको हाँसीमजाकले दर्शकलाई बाँधिराख्छ । एक्लो हजुरबा, हजुरबाको झुप्रो घर, सेता मुकुण्डोहरु, रित्ता रुखमा एउटा पात, रातो स्विटर, कंकाल जस्ता नाटकमा प्रयुक्त सम्पूर्ण चिजबिजहरुको बिम्वले नाटकलाई ओझिलो बनाएको छ ।
नाटकका प्रयुक्त कोरस, सङ्गीतका लय र नृत्यका दृश्यहरुले सशस्त्र युद्ध, त्रासदी, त्यसका बाछिटा र भोगाइहरुलाई समेट्ने जमर्को गरिएको छ । हरि पात्रका रुपमा देखिएका नाजिर र हजुरबा पात्र विजय बराललाई नाटकका दृश्यहरुमा नियाल्दै गर्दा सायद नाट्यप्रेमीहरुको मन फुरुङ्ग हुन्छ । सिनेमा संसारको क्यानभासमा रङ्गिएका यी दुवै जना आफ्नै घर फिर्ती भएर घर नफर्केकाहरुलाई खोजेका छन् । अनि कुरिबसेकाहरु लयमा लय मिलाउँदै भनिरहेका छन्,
‘बिन्ती फिर्ता पठाइदेऊ तिमीहरुले लुकाइराखेको एक मुठी सास एक चोटी फेर्नुछ मलाई !
ए खोला ! ए पहाड ! ए ढुङ्गा ! ए माटो !
बिन्ती देखाइदेऊ घर फर्किनेलाई बाटो ।’
मञ्चमा
विजय बराल, नाजिर हुसेन, रि ह्युल साङ्, सबिना थापा, रोहित शाह, सुजना पाण्डे, मनिषराज पाण्डे, रिसु राउत ।
मञ्च परिकल्पना/शब्द/सङ्गीत/कोरियोग्राफी : नाजिर हुसेन
प्रकाश परिकल्पना/परिचालक : उमेश तामाङ
मञ्च कला निर्माण : उमेश चौधरी, प्रतीक चौधरी, सञ्जय चौधरी, रोहित चौधरी, कृष्ण राना
निर्माता : दयाहाङ राई/बुद्धि तामाङ
भेषभुषा : कुशुम बुटिक
ग्राफिक्स डिजाइनर : इँगिहोपो कोँइच सुनुवार(ममा आर्ट्स)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया