काठमाडौँ– ‘पर्या निबन्ध प्रतियोगिता’ हुने भएको छ ।
नेपाली पर्या साहित्य प्रतिष्ठानले हालै एक विज्ञप्ति जारी गर्दै एक लाख ५४ हजार रुपैयाँ बराबरको पर्या निबन्ध प्रतियोगिता बारे जानकारी दिएको हो । प्रतियोगिताका संयोजक तथा लेखक विजय हितानका अनुसार पर्या साहित्यमा निबन्ध विधालाई समेत अगाडि ल्याउन प्रतियोगिताको योजना अगाडि सारिएको हो ।
प्रतिष्ठानका अनुसार प्रतियोगितामा प्राप्त निबन्धहरूमध्ये प्रथम, द्वितीय र तृतीय निबन्धलाई क्रमशः ५०हजार, ४० हजार र ३० हजार रूपैंयाका साथमा सम्मान प्रदान गरिनेछ ।
त्यस्तै, प्रतियोगितामा उत्कृष्ट २० निबन्धहरू सङ्ग्रहका रूपमा प्रकाशन गरिनेछ भने सङ्ग्रहमा प्रकाशित बाँकी १७ निबन्धकारलाई जनही २ हजार रूपैयाँ सम्मानस्वरूप प्रदान गरिनेछ ।
प्रतियोगिताका लागि यही फागुन २६ गतेभित्र रातको १२ बजेसम्म निबन्ध पठाउन सकिनेछ । प्रतियोगिताका लागि पर्यावरण विषयमा नेपाली भाषामा पाँच सयदेखि ३५ सय शब्दको निबन्ध हुनुपर्नेछ ।
साहित्यिक भाषालाई समेत ध्यान दिइएको निबन्धलाई प्राथमिकतामा राखिनेछ । निबन्ध कतैपनि अप्रकाशित, अप्रसारित हुनुपर्नेछ भने प्रतियोगिताका लागि पठाएपछि प्रकाशित वा प्रसारित भएको पाइएमा पुरस्कार निलम्बन गरिनेछ ।
निबन्ध प्रतियोगिताको नतिजा २०८२ जेठ १७ गते काठमाडौंमा आयोजना गरिने ‘१०औं वातावरण साहित्य गोष्ठी’मा सार्वजनिक गरिनेछ । उक्त दिन नै निबन्धसङ्ग्रहको पुस्तकको समेत लोकार्पण हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया