काठमाडौँ- पर्यटकीय राजधानी पोखरा प्राकृतिक सुन्दरताले मात्र होइन साहसिक खेलहरूका लागि पनि उत्तिकै प्रसिद्ध छ । प्याराग्लाइडिङ, जिपलाइन र बञ्जीजम्प, स्काइडाइभ, क्यानोइङ, र्यफ्टिङ, हट एयर बेलुनलगायत साहसिक गतिविधि पोखरामा सञ्चालित छन् । प्राकृतिक सौन्दर्य र साहसिक अनुभवमा एकसाथ रमाउन सकिने भएकाले पछिल्लो समय ‘हट एयर बेलुन’ प्रति भने सार्क मुलुकका पर्यटकको आकर्षण बढ्न थालेको छ ।
बेलुन नेपाल प्रालिका अध्यक्ष विक्रम बाडेले सार्क मुलुकका पर्यटकले साहसिक यात्रा मन पराउन थालेको र त्यसमध्ये पनि उडानमा सहभागी यात्रुमध्ये ६० प्रतिशत यात्रु छिमेकी मुलुक भारतका हुने गरेको बताए। ‘पोखरा प्राकृतिक मात्र होइन साहसिक गतिविधिको सहर पनि हो र पछिल्लो समय हट एयर बेलुनप्रति सार्क राष्ट्रका पर्यटकको आकर्षण बढ्दै गएको छ’, बाडेले भने, ‘सूर्यको किरण हिमालमा पर्दा देखिने मनमोहक दृश्यदेखि हरियाली डाँडाकाँडा र तालतलैयाको दृश्यावलोकनमा रमाउन चाहने पर्यटकलाई बेलुनको साहसिक यात्राले लोभ्याउँदै लगेको छ ।’
उनले बेलुनको उडानले पाँच वर्ष उमेर माथि साहसिक गतिविधिमा रुचि राख्ने शारीरिक मानसिक तन्दुरुस्त भएका सबैका लागि साहसिकता र मनोरञ्जनको नयाँ ढोका खोलिदिएको बताए। बाडेले पर्यटकका लागि एउटा फरक र रोमाञ्चक अनुभव प्रदान गर्नुका साथै स्थानीय अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पार्ने विश्वाससहित यही डिसेम्बर २४ देखि जनवरी १ सम्म पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव आयोजना गर्न लागेको पनि जानकारी दिए।
‘पर्यटक आएर मात्र भएन आएपछि भुल्ने र रमाउने गतिविधि पनि हुनुपर्छ, हामीले यसप्रति पनि ध्यान दिएर पोखरालाई साहसिक गतिविधिको केन्द्रका रुपमा विकास गर्न महोत्सवको तयारी गरेका छौँ’, उनले भने। उनका अनुसार महोत्सवमा हट एयर बेलुनको नाइट ग्लो, टेथर्डलगायत प्रसिद्ध ब्याण्डका साङ्गीतिक कार्यक्रम, बेलुन प्रतियोगिता, डिजे म्युजिकलगायत कार्यक्रम हुनेछन् भने २० देशका व्यावसायिक बेलुन पाइलटले प्रतियोगितामा भाग लिनेछन् ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले हट एयर बेलुनले साहसिक गतिविधि रुचाउने पर्यटक मात्र नभई, प्राकृतिक सौन्दर्यमा रमाउन चाहने पर्यटकलाई पनि आकर्षित गर्न सफल भएको बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया