मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

लामखुट्टेको लार्भा नष्ट गर्न जैविक विषादी छर्किन सुरु

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले डेङ्गी सार्ने लामखुट्टेको लार्भा नष्ट गर्न जैविक विषादी छर्किन सुरु गरेको छ । उपमहानगरपालिकाका २३ वडामा लामखुट्टेनाशक जैविक विषादी छर्किन सुरु गरिएको उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ ।

नगर प्रहरीलाई सबै वडाका पानी जम्ने स्थानमा जैविक विषादी छर्किने गरी परिचालन गरिएको नगर प्रमुख प्रशान्त विष्टले जानकारी दिए । त्यसका लागि नगर प्रहरीलाई अभिमुखीकरण गरिएको छ । उनले प्रभावकारी ढंगले काम गर्न नगर प्रहरीलाई निर्देशन दिए ।

नगर प्रहरी युनिटमा नगर प्रहरी निरीक्षक सूर्यबहादुर बोगटीको ‘कमान्ड’मा ४२ जना छन् । उपमहानगरपालिकाले निरन्तर रुपमा डेङ्गी सार्ने लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गरिरहेको छ ।

सचेतना प्रवद्र्धनका लागि विभिन्न सचेतनामूलक कार्यक्रम पनि सञ्चालन भइरहेको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए । डेङ्गी नियन्त्रणका लागि लार्भा नष्ट गर्ने कार्यलाई उपमहानगरपालिकाले अभियानका रुपमा अगाडि बढाएको बताइएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले परीक्षण गरी प्रयोग अनुमति दिएको तथा नेपाल सरकारबाट समेत अनुमति प्राप्त ब्याक्टो पावर बिटिआई वातावरणमैत्री र जैविकका साथै हानिकारक विषादीमुक्त जैविक कीटनाशक औषधि हो । यसले लामखुट्टेको प्रजनन तथा विस्तारलाई रोक्दछ । ब्याक्टो पावर बिटिआईले मानव स्वास्थ्य र जीवजन्तुमा नकारात्मक असर नगर्ने जनस्वास्थ्य निरीक्षक सरोज रिमालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?