मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

विश्व

कसरी सम्भव भयो डोनाल्ड ट्रम्प र इलोन मस्कको मित्रता?

जोयनेपाल
819
Shares
एआईबाट बनाइएको तस्वीर ।

काठमाडौँ– अमेरिकी उद्यमी इलोन मस्क संसारकै सबैभन्दा धनी व्यक्ति हुन् । उनको कुल सम्पत्ति ३ खर्ब अमेरिकी डलरभन्दा धेरै छ । सामाजिक सञ्जाल एक्स, अन्तरिक्ष कम्पनी स्पेसएक्स र विद्युतीय सवारी साधन निर्माता टेस्लाजस्ता कम्पनीमा उनको स्वामित्व छ ।

हालै अमेरिकामा सम्पन्न निर्वाचनमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै उनको सम्पत्ति र राजनीतिक प्रभाव पनि ह्वात्तै बढेर गएको छ । ट्रम्पको विजय लगत्तै मस्कको सम्पत्तिमा एकाएक २६ अर्ब डलरको वृद्धि भएको थियो ।

चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पलाई समर्थन गरेका मस्क अब राजनीतिमा पनि सक्रिय हुने देखिएको छ । मस्कले ‘अमेरिका’ नामक राजनीतिक कार्यसमिति (पोलिटिकल एक्सन कमिटि–प्याक) स्थापना गरेरै ट्रम्पलाई समर्थन गरेका थिए ।

त्यसैगरी, उनले आफ्नो सामाजिक सञ्जाल एक्समार्फत् पनि ट्रम्पलाई जिताउन बारम्बार अपिल गर्दै आएका थिए । उनले यस चुनावी अभियानमा ट्रम्प र अन्य पदमा उम्मेदवारी दिएका रिपब्लिकन पार्टीका सदस्यलाई १३ करोड २० लाख डलरभन्दा धेरै सहयोग गरेका छन् ।

डेमोक्र्याटिक पार्टीलाई भने उनले कुनै सहयोग गरेनन् । यति मात्रै होइन, उनले हरेक दिन ट्रम्पलाई समर्थन गर्ने एक जना मतदातालाई १० लाख डलर प्रदान गर्ने योजना नै अगाडि सारे । यस कारण उनले विभिन्न कानुनी झमेलाको पनि सामना गर्नुपरेको थियो । ट्रम्पका चुनावी कार्यक्रममा सहभागी हुन उनी केही दिनका लागि आफ्नो गृहराज्य टेक्सास छाडेर पेन्सलभेनिया पनि पुगेका थिए । पेन्सलभेनियाको बटलरमा आयोजित ट्रम्पको चुनावी सभामा उनी नाचेको भिडियो भाइरलसमेत भयो ।

तर, ट्रम्प र मस्कबीच सधैँ राम्रो सम्बन्ध भने थिएन । सन् २०१८ मा मस्कले एक्स (तत्कालीन ट्वीटर) मा गरेको एउटा टिप्पणीमा आफू राजनीतिक रुपमा स्वतन्त्र र नरम रहेको जनाएका थिए । सन् २०२२ मा मात्रै ट्रम्पले मस्कलाई ‘गलत कुरा गर्ने कलाकार’ को संज्ञा दिएका थिए । सन् २०१६ को निर्वाचनमा आफूलाई सहयोग गरेको भन्दै मस्कले झूठो बोलेको ट्रम्पको भनाइ छ । ट्रम्पको प्रतिक्रियास्वरुप मस्कले अब ‘ट्रम्पले टोपी झुण्ड्याएर सूर्यास्तमा जलयात्रा गर्ने बेला आएको’ टिप्पणी गरेका थिए ।

यद्यपि ट्रम्प र मस्कबीचको मनमुटाव धेरै समय टिक्न भने सकेन । सम्बन्ध सुधार गर्नका लागि मस्कले दुई वर्षअघि पूर्ण रूपमा सस्पेण्ड गरिएको ट्रम्पको एक्स अकाउन्ट पनि खुला गरेका थिए । त्यसअघि सन् २०२१ को जनवरीमा ट्रम्पका समर्थकले अमेरिकी कंग्रेस भवनमा आक्रमण गरेपछि ट्वीटरले उनको अकाउन्ट बन्द गरिदिएको थियो । मस्क लामो समयदेखि राष्ट्रपति जो बाइडेनका धेरै नीतिसँग सन्तुष्ट पनि थिएनन् ।

मस्कले बाइडेन प्रशासनका आप्रवासन नीति, आर्थिक नीतिप्रति बारम्बार असन्तुष्टि जनाउने गरेका थिए । त्यसैगरी, डेमोक्र्याटिक पार्टी वाक स्वतन्त्रताको पक्षमा नरहेको पनि मस्कले दाबी गर्दै आएका थिए ।

मस्क र ट्रम्पबीच धेरै कुरामा समानता पनि देखिन्छ । दुवै जना व्यावसायिक पृष्ठभूमिका हुन् । मस्क पनि ट्रम्पजस्तै दक्षिणपन्थी राजनीतिमा आस्था राख्छन् । मस्क पनि ट्रम्पजस्तै, निजी व्यवसायमा सरकारी हस्तक्षेप सकेसम्म थोरै हुनुपर्छ भन्ने धारणा राख्छन् ।

दुवै जना अमेरिकी राजनीति र अमेरिकी समाजमा अतिउदारवादी ‘वोक’ सँस्कृतिको विपक्षमा छन् । बाहिर हेर्दा जे–जस्तो भएपनि भित्री रुपमा दुई जनाको राजनीतिक विचारधारा समान नै रहेको देखिन्छ । यही भएर होला, गत जुलाईमा ट्रम्पलाई लक्षित गरी भएको हत्या प्रयास लगत्तै मस्कले सार्वजनिक रुपमा ट्रम्पको समर्थन गर्ने घोषणा गरेका थिए ।

मस्कले चुनावमा गरेको सहयोगलाई ट्रम्पले राम्रैसँग कदर गरेका छन् । चुनावी नतिजा सार्वजनिक भएसँगै आयोजित विजयी सभामा ट्रम्पले मस्कको नामै लिएर ‘नयाँ नक्षत्रको जन्म भएको’ टिप्पणी गरेका थिए ।

हालै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनमा विजयी भएकोमा बधाई दिन ट्रम्पलाई फोन गरेका थिए । युक्रेन त्यही मुलुक हो, जसले रुसी आक्रमणको सामना गरिरहेको छ । उक्त टेलिफोन वार्तामा जेलेन्स्कीसँग ट्रम्पसँगै मस्कले पनि कुराकानी गरेको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् । यसबाट ट्रम्पले मस्कलाई कतिसम्म महत्त्व दिएका छन् भन्ने प्रष्ट हुन्छ ।

ट्रम्प विजयी भएलगत्तै ट्रम्प र मस्कका परिवारले सँगै बसेर खिचाएको फोटो पनि इन्टरनेटमा भाइरल भइरहेको छ । ट्रम्प विजयी भएयता मस्क फ्लोरिडा राज्यको वेस्ट पाम बिच (समुद्री तट)स्थित ट्रम्पको निवास मार–आ–लागोमै बसिरहेका अमेरिकी सञ्चार माध्यमले जनाएका छन् ।

उनले नयाँ प्रशासनको संक्रमणमा ट्रम्पलाई सहयोग गरिरहेको बताइएको छ । कतिपय विश्लेषकले त अहिले इलोन मस्क अमेरिकी राजनीतिक वृत्तमा ट्रम्पपछिका दोस्रो सबैभन्दा शक्तिशाली व्यक्ति बन्न पुगेको समेत टिप्पणी गरिरहेका छन् ।

ट्रम्पले मस्कलाई नयाँ सरकारमा प्रभावशाली जिम्मेवारी दिने अपेक्षा गरिएको छ । यसअघि ट्रम्प विजयी भए मस्कलाई ‘सरकारी प्रभावकारिता विभाग’ अर्थात् डिपार्टमेन्ट अफ गभन्र्मेन्ट इफिसिएन्सी (डोज) को जिम्मेवारी दिएर मन्त्रिपरिषदमा ल्याउने हल्ला चलेको थियो ।

इन्टरनेट मिमबाट लोकप्रिय भएको शिबा इनु कुकुरको नामबाट विकास गरिएको ‘डोज’ नामक क्रिप्टोकरेन्सी इलोन मस्कले खुबै रुचाउने गरेका छन् । यो विभागले अमेरिकी सरकारले गर्दै आएको भनिएको ठूलो परिमाणको अनावश्यक खर्च कटौती गर्ने अपेक्षा गरिएको छ ।

यद्यपि अमेरिकी टेलिभिजन सीएनएनले भने मस्क ट्रम्पको मन्त्रिपरिषदमा आउने सम्भावना भने कम रहेको जनाएको छ । आफ्नै कम्पनीका काममा समय दिनुपर्ने भएकाले मस्कले मन्त्रिपरिषदमा सहभागिता जनाउन अनिच्छा जाहेर गरेको सीएनएनले उल्लेख गरेको छ । त्यसबाहेक मन्त्रिपरिषदमा आउँदा मस्कको व्यवसाय र सरकारी जिम्मेवारीबीच स्वार्थको द्वन्द्व हुने सम्भावना रहेकाले पनि मस्कले मन्त्रिपरिषदमा आउने इच्छा नदेखाएको जनाइएको छ । यद्यपि ट्रम्पले उनलाई सरकारको मातहतमा रहने विशेष समितिमा मनोनित गर्ने सम्भावना पनि छ ।

यो पनि पढ्नुहोस्:

केमा पैसा खर्च गर्छन् संसारकै धनाड्य व्यक्ति इलोन मस्क? कस्तो छ जीवनशैली?


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?