मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सेलिब्रेटीको जीवनशैली

केमा पैसा खर्च गर्छन् संसारकै धनाड्य व्यक्ति इलोन मस्क? कस्तो छ जीवनशैली?

लगाउँछन् २ लाख डलर पर्ने रिचर्ड माइल घडी

काठमाडौं– तपाईँ हाम्रो लागि आफूले मिहिनेत गरेर कमाएको पैसा कसरी जोहो गरेर गुजारा गरौँ भन्ने हुन्छ । उस्तै दिन परेको बेला एक मानो चामल किने दाल नहुने र दालमात्रै किने भोकै हुने अवस्था पनि भोग्नुपर्छ ।

अझ पछिल्लो समय महङ्गीले आकाश छोएको बेला धेरैका लागि अलिकति पैसा जोगाएर चलौँ न त भन्नसमेत मुस्किल पर्ने गरेको प्रशस्त उदाहरण भेटिन्छन् ।

तल्लो वर्गका लागि दैनिक गुजाराकै लागि संघर्ष गर्नुपर्ने अवस्था छ । मध्यम वर्गका लागि दैनिकी चलाउन हम्मे नपरे पनि विलासी सामान किन्ने सोच कल्पनाभन्दा बाहिरै हुन्छ । तर, मनग्य रकम भएका धनाढ्यहरुका लागि विलासी जीवन, चाहेको गर्न सक्ने आर्थिक क्षमता भएर पनि आफ्नो पैसा केमा खर्च गर्छन् भन्ने कौतुहल रहन्छ । अझ संसारकै धनाढ्य इलोन मस्क आफ्नो अथाह पैसाले के किन्छन् होला ? यो हामी सबैका लागि चासोको विषय हुनसक्छ ।

अमेरिकी व्यापारिक पत्रिका फोर्ब्सका अनुसार मस्कको कुल सम्पत्ति २ सय ३० अर्ब अमेरिकी डलर रहेको छ । यसअनुसार उनले हरेक दिन १० लाख डलर खर्च गर्ने निर्णय गरे भने पनि उनलाई सबै सम्पत्ति सक्नका लागि ८ सय वर्ष लाग्छ । यतिका धेरै सम्पत्ति भएका मस्कले साँच्चै आफ्नो पैसा कसरी खर्च गर्छन् त ?

अनावश्यक कुरामा खासै खर्च नगर्ने मस्क आफूलाई मन परेको वा आफूले चाहेको वस्तु किन्न भने कत्ति पनि हिच्किचाउँदैनन् । उदाहरणका लागि सन् २०२२ मा उनले ४४ अर्ब अमेरिकी डलर खर्चेर सामाजिक सञ्जाल ट्वीटर (हालको एक्स) किनेका थिए । जबकि ट्वीटरले बजारमा अपेक्षाकृत वित्तीय प्रदर्शन गर्न सकेको थिएन । चाहेको भए मस्कले ४४ अर्ब डलर खर्चेर नयाँ सामाजिक सञ्जाल पनि सुरु गर्न सक्थे । तर, ट्वीटरमा दैनिक सक्रिय रहन चाहने मस्कले ट्वीटर किनेरै छाडे जुन उनको सनक पनि थियो ।

उनकी पूर्वप्रेमिका ग्रमइम्सले सुनाएअनुसार कुनै बेला उनीहरु सँगै बस्दा भुईँमा ओछ्याएको म्याट्रेसमा प्वाल पर्दा त्यसलाई फेर्नसमेत मस्क हिच्किचाउँथे । तर, उनको सवारी भने गल्फस्ट्रिमको निजी जहाजमा हुन्थ्यो ।

निजी जहाजकै कुरा गर्दा मस्कको एउटा मात्रै जहाज छैन । अर्बपति बन्नुअघि नै २ करोड ६० लाख डलर खर्च गरेर उनले निजी जहाज किनेका थिए । त्यसमा अघिपछि सार्न मिल्ने सिट, बेडरुम, डाइनिङ रुमजस्ता सुविधा थिए । अर्बपति भइसकेपछि उनले १२ करोड ४० लाख डलर खर्चेर दुई वटा गल्फस्ट्रिम जी ५५० जहाज किने ।

तर, त्यसलगत्तै जब जी ६५० मोडेलको नयाँ गल्फस्ट्रिम जहाज बजारमा आयो, ७ करोड ५० लाख डलर खर्चेर उनले त्यो पनि किने । एकपछि अर्को निजी जहाज किन्ने उनको सोख त्यति मै थामिएन, गल्फस्ट्रिमले नयाँ मोडेलको जी ७०० जहाज बजारमा ल्याउनेबित्तिकै त्यो पनि किनिहाले ।

सन् २०२३ मा मात्रै उनका निजी जहाजहरुले ४४१ वटा उडान भरेको बिजनेश इन्साइडरले जनाएको छ ।

मस्कको सवारीको सोख जहाजमा मात्रै सीमित छैन । उनी सुपरकारका पनि सोखिन हुन् । सुरुमा उनले सन् १९९४ मा १४ हजार डलर खर्चेर १९७८ बीएमडब्लू ३२० आई कार किनेका थिए । त्यो कार उनले दुई वर्षसम्म चलाएका थिए । आफैँ टेस्लाको मालिक भएकाले स्वभाविक रुपमा दैनिक आवत जावतका लागि उनी टेस्ला मोडल एस कार प्रयोग गर्छन् । सन् २०१९ मा एक्समा गरिएको एक पोस्टमा उनले दैनिक प्रयोजनका लागि आफूले टेस्ला मोडेल एस ‘पर्फरमेन्स’ को प्रयोग गर्ने गरेको खुलाएका थिए । त्यसपछि उनलाई मन पर्ने अर्को कार हो, मोडेल ३ ।

आफ्ना छोराछोरीलाई लिएर कतै जानुपर्‍यो भने मस्क यही मोडेल ३ कार प्रयोग गर्छन् । त्यसै गरी, उनले मकलरेन एफ १ कार पनि चढेका छन् । सन् १९९७ मा उनले यो कार किनेका थिए । त्यो वर्ष मकलरेन एफ १ को ७ वटा मात्रै कार बिकेका थिए । त्यसबेला लस एन्जल्सबाट सान फ्रान्सिस्को ओहोर दोहार गर्न उनले यो कार चढ्थे । उनले यो कार २००७ मा बेचिदिएका थिए ।

मस्कसँग भएको चर्चित कारमध्ये अर्को हो– २००८ टेस्ला रोडस्टर । टेस्ला कम्पनीले उत्पादन गरेको यो पहिलो विद्युतीय कार हो । लोटस एलिसको च्यासिसमा आधारित यो कारमा लिथियम आयन ब्याट्रीको प्रयोग गरिएको थियो । यो कारलाई मस्कले सन् २०१८ मा अन्तरिक्षमा समेत पुर्‍याएपछि थप चर्चा चुलिएको थियो ।

जेम्स बोन्ड फ्ल्मिमा प्रयोग भएको वेट नेली भनेर चिनिने १९७६ लोटस एस्प्रिट कार पनि मस्कले किनेका छन् । यसका साथै मस्कको ग्यारेजमा १९२० फोर्ड मोडेल टी, १९६७ ई टाइप जागुवार रोडस्टर, २००६ बीएमडबलू एम ५, २०१० अउडी क्यू ७, पोश्र्चा ९११ टर्बोजस्ता कार छन् ।

एक समय मस्कले अमेरिकाका धेरै ठाउँमा घरजग्गा जोडेका थिए । क्यालिफोर्नियाको बेल एरमा मस्कले १ करोड ७० लाख डलर खर्चेर किनेको २० हजार २४८ वर्गफिटको आलिशान घर थियो । यो घरमा ७ वटा बेडरुम, ९ वटा बाथरुम, जिम, स्पा, टेनिस कोर्ट र सिनेमा घरसमेत समावेश थिए । तर सन् २०२० मा ट्विट गर्दै उनले आफूले प्रायः सबै भौतिक सम्पत्ति बेच्ने घोषणा गरे । उनले एक्सको एक पोस्टमा लेखेका थिए, ‘म सबै भौतिक सम्पत्ति बेच्दैछु । कुनै घर मेरो स्वामित्वमा हुने छैन ।’

उनी सन् २०२० मा क्यालिफोर्नियाबाट टेक्सस सरेको चर्चा थियो । तर पछि सन् २०२१ मा उनी क्यालिफोर्निया नै फर्के । उनले त्यसबेला क्यालिफोर्नियाको बोका चिका क्षेत्रमा ५० हजार डलरमा घर भाडामा लिएका थिए ।

उनी विलासी सामानको उपभोग गर्न पनि सोखिन छन् । उनीसँग वान–अफ–वान एअर जोर्डन टेस्ला जुत्ता छन् । यो जुत्ता विशेषगरी मस्ककै लागि बनाइएको हो । यसको यकिन मूल्य कति हो भन्ने स्पष्ट नभए पनि यस्तै जुत्ता बेच्ने अनलाइन साइटमा एकजोर जुत्ताको मूल्य ९५० डलरसम्म रहेको देखिन्छ । सन् २०१९ मा टेस्लाको मोडल वाई कार सार्वजनिक गर्दा मस्कले यही जुत्ता लगाएका थिए ।

त्यसबाहेक बेलाबेला मस्क ५० हजार डलर पर्ने औडेमार्स पिजेट र २ लाख डलर पर्ने रिचर्ड माइल घडी लगाएको पनि देखिन्छ । उनी १० लाख डलर पर्ने हिराको औँठी पनि लगाउँछन् भने आइफोन १५ प्रो म्याक्स प्रयोग गर्छन् ।

मस्कको जीवनशैली

सन् २०२३ को सुरुतिर मस्कले एक्समा पोस्ट गरेका थिए, ‘म दैनिक दुनोट खान्छु, अझै जिउँदै छु ।’

त्यसबेला मस्कको खानपान र खानेकुरामा चिनीको मात्रालाई लिएर बहस पनि छेडिएको थियो । त्यसअघि सन् २०२० मा जो रोगनलाई दिएको अन्तरवार्तामा उनले भनेका थिए, ‘म बरु छोटो जीवन बाँच्छु, तर मीठो खान्छु ।’

दैनिक दुनोटबाहेक उनी सुसी, स्टेक, चकलेट, कफी र डाइट कोकका पनि पारखी हुन् । यसका साथै उनी मार्स बार पनि खान मन पराउँछन् । उनी खासै धेरै हरियो सागसब्जी खान रुचाउँदैनन् । बरु आलु र माछामासुका परिकार उनलाई मन पर्छ । धेरैले उनको खानपानलाई अस्वस्थकर मानेका छन् ।

उनले अमेरिकी कमेन्टर तथा पोडकास्टर जो रोगनसँगको कुराकानीमा भनेका थिए, ‘म जति बुढो हुँदैछु, उति स्वस्थ हुन गाह्रो हुने रहेछ ।’

त्यसक्रममा उनले आफूले धेरै व्यायाम नगर्ने पनि खुलाएका थिए । ‘स्पष्टसँग भन्दा म व्यायाम नै गर्दिनँ, यो कुरा सत्य हो,’ उनले भनेका थिए ।

गत अप्रिलमा मस्कले अघिल्लो वर्ष आफ्नो तौल २० पाउण्ड घटेको बताएका थिए । तौल घटाउन आफू बेला बेला निराहार बस्ने र वेगोभी नामक औषधि पनि सेवन गर्ने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?